arrow

स्वास्थ्य किन्न पाइँदैन विषादीरहित खाऔँः हाम्रो कौसी तथा करेसाबारी क्रान्तिका सदस्यद्वारा बीउ साटासाट

logo
सोनी शर्मा, 
प्रकाशित २०८० फागुन २७ आइतबार
karesabari-seed.jpg

काठमाडौँ । हाम्रो कौसी तथा करेसाबारी क्रान्ति अभियानमा जोडिएका तीन सय सदस्यले तरकारी तथा फलफूलका बीउ साटासाट गरेका छन् । अभियानद्वारा काठमाडौँको स्वयम्भूस्थित भगवान पाउमा आयोजना गरिएको निःशुल्क बीउ विजन आदानप्रदान कार्यक्रममा कौसी तथा करेसाखेतीका सदस्यहरूले बीउ बिजन आदान प्रदान गरेका हुन् । 

अभियानले काठमाडौँ महानगरपालिकाको साथमा एक सय जनालाई निःशुल्क बीउ तथा कौसी खेतीको क्यालेण्डर वितरण गरेको थियो भने सहभागी करिब तीन सयजनाले आफूलाई चाहिने बीउ बिजन लिने तथा दिने गरेका थिए ।

यस अभियानका परिकल्पनाकार अर्जुन पौडेल (दूर्जेय चेतना) यही कार्यक्रमका लागि अमेरिकाबाट बीउ विजन बोकेर नेपाल आएका थिए । पौडेलले रैथाने बीउ बिजन जोगाउन तथा विषादीले पार्ने असर कम होस् भन्नका विषादीरहित जैविक प्रणालीलाई जोड दिँदै शुरू गरिएको बताए । आफूसँग भएको बीउ अरुलाई र अरुसँग भएको आफूले लिँदा खेतीको ज्ञानसमेत आदान प्रदान र एक आपसमा मित्रता भाइचारा कायम हुने भन्दै पौडेलले अभियानमा करिब असी हजार सदस्य जोडिएको बताए ।

भान्साबाट निस्किने कुहिने फोहरलाई मल बनाएर खेर गएका भाँडाकुँडा प्रयोग गरी कौसी तथा करेसालाई सदुपयोग गर्दा स्वस्थ्य खाना पाइने भएकाले अभियानमा जोडिने सदस्यको संख्या दिनानुदिन बढ्दै गएको छ।

बीउ बिजन आदान प्रदान कार्यक्रममा सहभागी काठमाडौँ महानगरपालिका वनस्थली १६ ढुङ्गेधाराकी निरु श्रेष्ठले ४ जनाको परिवारलाई पुग्ने ७५ प्रतिशत तरकारी कौसी करेसाबारीबाटै पुर्याएको बताइन्। 

त्यस्तै गरी पहिला कौसीमा फूल फुलाउने ललितपुर ताल्चिखेलकी धनुलक्ष्मी सिंह पनि अहिले फूलसँगै हरिया तरकारीमा पनि आफू आत्मनिर्भर बनेको बताइन् । सामाखुशीकी संगिता घिमिरेले पाँच जनाको परिवारलाई पुग्ने तरकारी कौसी करेसाले नै धानेको बताइन् । 

बूढानीलकण्ठ २ कि शोभा शाक्य शाह प्राङ्गारिक मल प्रयोग गरेर उत्पादित तरकारी तीन जनाको परिवार र साथीभाइलाई समेत बाँड्न पुगेको बताइन् । रोग प्रतिरोधात्मक क्षमता कम हुनेलाई बजारको तरकारीमा विषादी धेरै प्रयोग हुने हुँदा आफैँले विषादीरहित उत्पादनमा जोड दिँदै आफ्नो सन्तानको स्वास्थ्यलाई ध्यान दिन कौसी करेसाखेतीमा आकर्षित भएको शाहको भनाइ थियो । 

भर्खर कौसी खेती शुरु गरेका बूढानीलकण्ठकी विद्या सुवेदीले आफूलाई चाहिएको बीउ बिजन तथा बिरुवा पाएकोमा खुशी व्यक्त गर्दै फुर्सदको समयमा कौसी हराभरा बनाउने र भान्सामा स्वस्थ्य तरकारी उत्पादनतर्फ लाग्न यो भेटघाटले थप प्रेरणा मिलेको बताए ।

पाँच वर्षदेखि लोभलाग्दो गरी कौसीमा तरकारी फलाउँदै आएकी बूढानीलकण्ठकी रञ्जना क्षेत्रीले कौसीकै तरकारीले चार जनालाई खान पुगेको भन्दै विषादीरहित तरकारी स्वस्थ्य जीवनको आधार रहेको बताइन् । 

बानेश्वर शान्तिनगरकी कौसी खेतीकी अभियन्ता शिमा उपाध्यक्षले आलु, प्याज लगायतका सुख्खा तरकारी बाहेक हरिया तरकारी किन्न छोडेको बताइन् । उपाध्यायले २०६३ सालबाटै कौसीमा तरकारी फलाएर खाँदै आएको र अरूलाईसमेत प्रेरणा दिँदै आएको बताइन् ।

‘स्वास्थ्य किन्न पाइँदैन विषादीरहित खाऔ’ भन्दै काठमाडौँ महानगरपालिकाका कृषि तथा बीउ बिजन महाशाखाका कृषि सहायक पुष्कर खड्काले महानगरले आधुनिक कौसीखेती प्रणालीका लागि नमूना कौशी खेती बनाउने तयारी गरेको बताए । घरलाई भार कम हुने गरी र छत नचुहिने गरी कौसी खेतीको मोडल देशैभरिका कौसी खेतीप्रेमीहरुका लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा हाम्रो कौसी र करेसाबारी क्रान्तिका एडमिन टिमले यस अभियानलाई आगामी दिनमा अझै व्यवस्थित गर्दै हरेक घरसँग जोडेर स्वस्थ्य जिन्दगीको शुरुआतका लागि कौसी करेसाको विषादीरहित तरकारी उपभोग गर्न प्रेरित गर्नुपर्ने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ