arrow

इलाम-२ मा उपनिर्वाचन : चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
iIllam-district.png

काठमाडौँ। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ । 

सोमबार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य रिक्त इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभामा इलाम-२ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले उक्त पद रिक्त छ । 

यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । 

सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि यही फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिनेछ । 

यस्तै आगामी २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । 

निर्वाचन कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिनेछ । 

यस्तै चैत २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । आयोगले सरकारसँगको परामर्शमा आगामी २०८१ वैशाख १५ गते सोमबारका दिन निर्वाचनको मिति तोकेको थियो ।

बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचनका पनि माथिकै समय तालिका अनुसार हुने आयोगले जनाएको छ । बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले उक्त पद रिक्त थियो ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ