arrow

छात्रवृत्तिमा विद्यार्थीलाई बाख्राको पाठी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
goat-farming.jpg

तनहुँ । आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन । उनले छात्रवृत्तिका रुपमा नगद वा शैक्षिक सामग्री पाउने अनुमान गरेका थिए । 

कक्षा ८ मा अध्ययनरत भट्टलाई छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो लागेकोे उल्लेख गरिन् । उनले भनिन्, “हामीले त छात्रवृत्तिमा नगद वा शैक्षिक सामग्री दिएको पढेका, देखेका थियौ । तर विद्यालयले हामीलाई बाख्राको पाठी छात्रवृत्तिको रुपमा दिएको छ ।”

कक्षा ७ मा अध्ययनरत रोजना रोकालाई पनि छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो अनुभूति भएको छ । उनले भनिन्, “छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाएपछि नयाँपन लाग्यो ।”

छात्रवृत्तिको रुपमा नगद वा शैक्षिक सामग्री दिने परम्परालाई परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो । विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए । नगद वितरण गर्दा छिटो खर्च हुने र पुन: उहीँ समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरणको अभियान सुरु गरिएको उनले बताए । 

उनले भने, “विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरु गरिएको हो । पैसा दिँदा खर्च हुने र अर्को वर्षपनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ । पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौँ ।”

प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८ मा अध्ययनरत सपना भट्ट, कक्षा ७ मा अध्ययनरत रोजना रोका र कक्षा ६ मा अध्ययनरत सृष्टि गुरुङलाई छात्रवृत्तिका रुपमा एक-एक वटा पाठी वितरण गरिएको छ । 

विद्यालयमा स्थापना गरिएको दुई वटा छात्रवृत्ति कोषबाट प्राप्त रु २१ हजारमा तीन वटा उन्नत बाख्राको पाठी खरिद गरिएको उनको भनाइ छ । बोगटीले भने, “बोर र जमुनापारी जातका बाख्राको पाठी छात्रवृत्तिको रुपमा उपलब्ध गराएपछि विद्यार्थी र अभिभावक प्रत्यक्षक रुपमा लाभान्वित हुनेछन् ।” 

उक्त छात्रवृत्ति काराखेती अस्मी स्मृति र गाउँवेशी कृषि अनुसन्धान केन्द्रबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि उपलब्ध भएको थियो । 

छात्रवृत्ति वितरणलाई प्रभावकारी र दिगो बनाउन, दीर्घकालिन रुपमा आयआर्जनसँग जोड्न सुरु गरिएको अभियान प्रभावकारी हुने विश्वास लिइएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, “यसले विद्यार्थीलाई आयआर्जन जोड्न सहयोग पुग्छ ।”

‘भात होइन थाल दिऔँ : माछा होइन जाल दिऔँ’ भन्ने यथार्थलाई व्यवहारमा कार्यान्वयनका लागि यो प्रयास फलदायी हुने चुमानको भनाइ छ । उनले भने, “बालबालिकाको शिक्षा प्राप्त गर्ने संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयास स्वरुप यो कार्य शुभारम्भ भएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ