arrow

नेतन्याहूका निर्देशनको ईयू कूटनीतिज्ञहरूद्वारा आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
Benjamin-netanyahu.jpg

युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरेलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा "थुप्रै मानिसहरू" मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गरेका छन् ।

अल जजीराले उल्लेख गरे अनुसार इजरेलको सैन्य कारबाही बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै बोरेलले सोमबार भने- "ठीक छ, यदि तपाईं धेरै मानिसहरू मारिएको विश्वास गर्नुहुन्छ भने, हुनसक्छ तपाईंले यसलाई रोक्नको लागि कम हतियार उपलब्ध गराउन सक्नुहुन्छ। किनकि यहाँ धेरै मानिस मारिए।"

"के [यो] तार्किक छैन?" उनले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकाय का प्रमुख फिलिप लाजारिनीसँग ब्रसेल्सको पत्रकार सम्मेलनमा प्रश्न गर्दे टिप्पणी गरेका छन् । 

अल जजीराका अनुसार बोरेलले भने- "यदि अन्तरराष्ट्रिय समुदायले यो हत्या हो भन्ने विश्वास गर्छ भने, हामीले हतियारको प्रावधानको बारेमा सोच्नुपर्छ।"

 यसै बीच इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निर्देशनहरूको इयु कूटनीतिज्ञहरूले आलोचना गरिरहेका छन् । गाजा शहर रफाहमा शरण खोज्ने १० लाख प्यालेस्टाइनीहरूलाई त्यहाँ योजनाबद्ध इजरेली सैन्य कारबाही अघि बढाइएको छ । इयु विदेश नीति प्रमुखले दक्षिणी गाजा शहर रफाहमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। फेब्रुअरी ११ को त्यहाँको आक्रमणले "एक अकल्पनीय मानवीय प्रकोप निम्त्याउने" र छिमेकी इजिप्टसँग गम्भीर तनाव निम्त्याउने उनको धारणा छ ।

 यसै बीच ग्रीसका पूर्व अर्थमन्त्री यानिस भारोफाकिसले गाजामा भइरहेको अत्याचारको जिम्मेवारी युरोपेली देशहरू रहेको बताएका छन् ।

"हामी युरोपेलीहरूले समस्या सृजना गरेका छौं ... हामी यसको स्थायित्वका नाममा खराब भूमिका खेलिरहेका छौं," भारोफिकोसले अल जेजलाई भने ।

बोरेललाई पूर्व अर्थमन्त्रीले यस घटनामा इजरेललाई पर्याप्त दबाब नदिएको र इयुले इजरेललाई सामूहिक रूपमा सशस्त्र सहयोग गरिरहेको आरोप लगाएका छन् । 

"जर्मनी, फ्रान्स र इटालीले मानिसहरूलाई मार्न रफाहमा प्रयोग भइरहेका हतियारहरू पठाइरहेका छन्," भारोफाकिसले थप टिप्पणी गरेका छन् । 

यसबाहेक, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले पनि रफाहमा इजरेली भूमि हमलाको लागि दुःख व्यक्त गरेका छन् । यदि नियोजित घुसपैठ रोकिएन भने भविष्यमा के हुन्छ भन्ने पूर्ण कल्पना गर्न सकिने टर्कले उल्लेख गरे ।

उनले भने- "रफाहमा सम्भावित पूर्ण सैन्य घुसपैठ, जहाँ करिब १५ लाख प्यालेस्टिनीहरू इजिप्टको सिमानामा भाग्नको लागि तयार रहेको डरलाग्दो अवस्था छ । यस सम्भावनालाई ध्यानमा राख्दै, धेरै ठूलो सङ्ख्यामा नागरिकहरू त्यसमा पनि प्रायः बालबालिका र महिलाहरू, सम्भवतः मारिने र घाइते हुने तीव्र सम्भावना छ ।" 

गाजा पट्टीको ठूलो भागलाई ध्वस्त पारेको इजरेली हवाई आक्रमणबाट बच्न गाजाका अधिकांश जनसङ्ख्याले रफाहमा शरण लिएका छन्।

गाजाको शासक निकाय हमासले इजरेललाई चेतावनी दिएको छ- रफाहमा कुनै पनि भूमिगत आक्रमणले युद्धविराम र कैदीहरूको आदानप्रदानका लागि चलिरहेको वार्तामा बाधा पुर्याआउन सक्छ ।

प्यालेस्टिनी अधिकारीहरूले बताए अनुसार अक्टोबरदेखि इजरेली आक्रमणमा २८ हजार ३४० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा पनि खासगरी महिला र बालबालिकाहरू बढी छन् ।

सहायता एजेन्सीहरूको भनाइ अनुसार गाजाको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ । 

इजरेलले गत अक्टोबर ७ मा दक्षिणी इजरेलमा हमासले गरेको आक्रमणको प्रतिक्रियामा कठोर सैन्य अभियान शुरु गरेको छ जसले भयानक द्वन्द्व र मानवीय क्षति निम्त्याएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ