arrow

बन्धक वार्ता खतरामा पर्ने इजरेललाई हमासको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
israel-hamas-AFP.jpg

काठमाडौँ । हमासले आइतबार इजरेललाई गाजाको सुदूर दक्षिणी सहर रफाहमा विस्थापित प्यालेस्टिनीहरूको भिडमा आक्रमणले अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका बन्धकहरूको रिहाइ गर्ने वार्तालाई खतरामा पार्ने चेतावनी दिएको छ । 

प्यालेस्टिनी लडाकू समहका एक नेताले भने, “रफाह सहरमा कब्जा गर्ने सेनाको कुनै पनि आक्रमणले आदानप्रदान वार्तालाई कमजोर बनाउने छ ।” इजरेली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कारबाही बढाउने वाचा गरेका थिए । 

यसै साता प्रधानमन्त्री नेतान्याहुले इजरेलमाथि घातक आक्रमण गर्ने हमासलाई समाप्त गर्ने आफ्नो उद्देश्यअन्तर्गत सेनालाई सहरमा जानका लागि तयार रहन बताएका थिए । 

यद्यपि उनले इजिप्टको सीमामा रफाहमाथि आक्रमण नगर्न बढ्दो आह्वानको सामना गर्नुपरेको छ । रफाह तटीय क्षेत्र इजरेलको लगातारको बमबारीबाट भागिरहेका गाजावासीहरूको अन्तिम शरणस्थल हो । 

इजरेलको प्रमुख सहयोगी अमेरिकासहित विदेशी सरकार र मानवीय सहायता समूहहरूले विस्थापित नागरिकमा पर्ने असरका बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् । 

गाजाको कूल जनसङ्ख्याको करिब आधा १४ लाख मानिस रफाहमा जम्मा भएका छन् । त्यहाँ धेरै मानिस बाहिर वा पालमा बसिरहेका छन् । त्यहाँ खाद्यान्न, पानी र चिकित्सा आपूर्ति तीव्ररूपमा कम भइरहेको छ । 

आइतबार प्रसारित हुने अमेरिकी प्रसारक एबिसी न्युजसँगको एक अन्तरवार्तामा नेतान्याहुले इजरेललाई रफाह नजान आग्रह गर्नेहरूले प्रभावकारीरूपमा हमासलाई रहन अनुमति दिइरहेको बताए । 

प्रकाशित उद्धरणअनुसार नेतान्याहुले रफाह अपरेसनलाई ‘नागरिकहरू निस्कन सकुन् भनेर उनीहरूका लागि सुरक्षित बाटो प्रदान गर्दै अगाडि बढ्ने’ बताए । 

युद्ध रोक्नका लागि कायरोमा नयाँ सिराबाट वार्ता भएको छ । वार्तामा हमास युद्धविरामका लागि तयार छ । वार्तामा इजरेली कारागारहरूमा राखिएका महिला तथा बालबालिकाका लागि बन्धकहरूको सम्भावित आदानप्रदान पनि समावेश छ । 

इजरेली आक्रमणले रफाहमा लामो समयदेखि लक्षहरू प्रहार गरेको छ । आइतबार उत्तरमा खान युनिस सहरमा धेरै किलोमिटरको दूरीमा लडाइँ तीव्र देखिन्थ्यो । त्यहाँ एएफपीका संवाददाताहरूले नियमित विस्फोट सुनेका छन् र कालो धुवाँको मुस्लो देखेका छन् । 

इजरेली सेनाका अनुसार सैनिकहरू खान युनिसको पश्चिममा ‘लक्षित छापा’ मारिरहेका थिए । उक्त क्षेत्रमा हमासको सशस्त्र शाखाले हिंसात्मक झडपहरू भएको सूचना दिएका थिए । 

संयुक्त अरब इमिरेट्स, कतार, ओमान र इस्लामिक सहयोग सङ्गठन (ओआइसी) गाजाको अन्तिम प्रमुख जनसङ्ख्या केन्द्र रफाहको योजनाप्रति चिन्ता व्यक्त गर्ने पछिल्ला छवि बनेका छन् । रफाहमा अहिलेसम्म इजरेली सैनिक प्रवेश गरेको छैन । 

“ओआइसीले कडा चेतावनी दिँदै भनेको छ– इजरेली सैन्य आक्रामकताको निरन्तरता र विस्तार प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट जबरजस्र्ती बाहिर निकाल्न अस्वीकार गरिएको प्रयासहरूको हिस्सा हो”, जेद्दास्थित ५७ मुलुकको ब्लकले सामाजिक सञ्जाल एक्समा भनेको छ, “यस्तो प्रकारको कार्य नरसंहारअन्तर्गत पर्दछन् र यसले मानवीय विनाश तथा सामूहिक नरसंहार निम्त्याउँछ ।” 

साउदी अरब र संयुक्त अरब इमिरेट्सले पनि रफाहबाट मानिसहरूलाई ‘जबरजस्ती’ विस्थापनलाई अस्वीकार गरेका छन् । यस्तो धारणले अरब जगत्मा सन् १९४८ मा इजरेलको निर्माणको समयमा प्यालेस्टिनीहरूको ठूलो मात्रामा पलायन वा जबरजस्ती विस्थापनको सम्झना गराउँछ । 

यसअघि गाजा युद्धमा इजरेली सेनाले एउटा नक्सा प्रकाशित गरेको थियो जसमा बासिन्दाहरूलाई ‘आफ्नो सुरक्षका लागि’ क्षेत्र खाली गर्न सक्षम बनाइएको बताइएको थियो । यद्यपि सुदूर दक्षिणतर्फ खेदाइएका गाजाबासीहरूले युद्ध र बमबारीबाट कुनै सुरक्षित आश्रय पाउन नसक्ने बारम्बार बताएका छन् । 

साउदी अरबले तत्काल राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बोलाउन आह्वान गरेको छ । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले ‘प्राथमिकतामा सहायता प्राप्त गर्न र बन्धकहरूलाई बाहिर निकाल्नका लागि तत्काल युद्धविराम हुनुपर्ने’ बताए । 

इजरेलको प्रमुख सहयोगी तथा सैन्य समर्थक वासिङ्टनले पनि योजना सही तरिकाले बनाइएन भने रफाहमा सेना पठाउँदा ‘विपत्ति’ को जोखिम हुने चेतावनी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ