arrow

स्वीट्जरल्याण्डसँग हवाई सम्झौता, इण्डोनेसियासँग तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
nepal-airlines1.jpeg

काठमाडौँ। नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो ।
 
मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरी हवाई सेवा सम्झौता भएको बताए । 

उनका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नुपर्नेछ ।
 
द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ । “अहिलेलाई दुई–दुई वटा एयरलाइन्स तोकिएका छन्, आवश्यकताअनुसार थप्न सकिने प्रावधान छ । तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ”, सहसचिव लामिछानेले राससालाई भने ।
 
 नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो । अन्य केही मुलुकसँग यस्ता द्विपक्षीय हवाई सेवा सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

 सरकारले मध्यपूर्वी एसियाली मुलुक इन्डोनेसियासँग पनि द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । उक्त मुलुकसँग पनि हवाई सम्झौताका लागि समन्वय भइरहेको मन्त्रालयका सहसचिव लामिछानेले जानकारी दिए । त्यसैगरी रुसलगायत मुलुकसँग पनि हवाई सेवा सम्झौताका लागि छलफल भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ