arrow

गठबन्धनलाई धक्काः जसपा नेतृत्वको मधेस सरकारबाट बाहिरियो जनमत

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ९ मंगलबार
upendra-yadav-ck-raut.jpg

जनकपुर । मधेस प्रदेश सरकारमा शुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ । यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। 

प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र बुझाउने जनमतले जनाएको छ । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको पत्र बुझाउने तयारी भइरहेको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले जानकारी दिए।

सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो।

सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो। 

विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो।

योसँगै केन्द्रको गठबन्धनलाई पनि अप्ठेरो पर्ने बुझिन्छ । २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा जनमतका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सप्तरी २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर भन्दा बढी मतले हराएका थिए । 

उपेन्द्र उपनिर्वाचनबाट फेरि विजयी भएर आएका हुन् । तर शुरुआतदेखि नै जनमत र जसपाबीच मधेसमा आपसी टक्कर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ