सीके राउतले समानुपातिक उम्मेद्वार छान्दा पैसा लिएको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २९ मंगलबार
822
Shares
काठमाडौँ । जनमत पार्टीकी केन्द्रीय सदस्य लक्ष्मी खड्काले पार्टी अध्यक्ष सीके राउतले समानुपातिक उम्मेद्वार छान्दा पैसाको लिएको आरोप लगाएकी छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले जनमतका अध्यक्ष राउतले समानुपातिक सिट करोडभन्दा माथिमा बेचेको आरोप लगाएकी हुन् । उनले जनमतले समानुपातिक सिटलाई खसी बोका खरिद बिक्री गरेजसरी बिक्री गरेको टिप्पणी गरिन् ।
‘करोडभन्दा माथिको बार्गेनिङ, जातीय सौदाबाजीमा पद बाँडियो । यही आज जनमत पार्टीको राजनीतिक सिद्धान्त बनेको छ । समानुपातिक सदस्यहरूलाई सत्ताको मोह देखाएर पशुजस्तै पैसामा खरिद गरी सत्तामा पुर्याइन्छ’, उनले भनिन् ।
उनले जनमतको समानुपातिकको पहिलो नम्बरमा आफ्नो नाम सिफारिस भएर गएको भएपनि डा.राउतले पैसाको बार्गेनिङ गरेर पहिलो र दोस्रो नम्बरको सिट बेचेको उनको आरोप छ ।
पैसा माग्न डा.राउतले अरुलाई नै जिम्मेवारी दिने गरेको उनको भनाइ छ ।
उनले भनिन्, ‘मेरो नाम पहिलो नम्बरमा सिफारिस भएर गएको थियो । भोलिपल्टको बैठकमा मसँगै पैसाको बार्गेनिङ भयो । मेरो नाम तेस्रो स्थानमा राखेर पहिलो र दोस्रो किनबेच भयो ।’
नेतृ खड्कालगायत एक सय दुई जना नेता तथा कार्यकर्ताले पार्टीं साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको पनि बताइएको छ । पार्टी परित्याग गर्नेमध्ये २० जना समानुपातिकको बन्दसूचीमा रहेकाहरू छन् ।