arrow

हुरहुरेमा सुख्खा पहिरोले नभइ विष्फोटक पदार्थ विष्फोट गराउँदा एकको मृत्यु दुई गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
dolakha-hurhure-lapchi-accident.jpg

दोलखा । दोलखामा सोमबार दिउँसो सुख्खा पहिरोले एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भन्ने सूचना गलत भएको स्थानीयले बताएका छन् ।

उनीहरुले लप्चि जलविद्युत आयोजनामा भएको घटना सुख्खा पहिरोले पुरेर नभई विष्फोटक पदार्थ विष्फोट गराउने क्रममा भएको बताएका हुन् ।

आयोजनाको प्रवेश मार्ग निर्माणको क्रममा लामाबगरको हुरहुरेमा सुख्खा पहिरो खसेको र सोही पहिरोमा पुरिएर एक जनाको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएको प्रवर्द्धक कम्पनी नासा हाइड्रोले जनाएको थियो । 

सोही आधारमा दोलखा प्रहरीले पनि पहिरोमा पुरिएर कामदारको मृत्यु र घाइते भएको बताएको थियो । तर लप्चि जलविद्युत आयोजनाको सडक निर्माणमा काम गर्ने अन्य मजदूरहरुले भीर फुटाउन प्रयोग गरिने विष्फोटक पदार्थ विष्फोट गराउने क्रममा घटना भएको बताएका हुन् । 

लामाबगरवाट लप्चि जाने सडकको देउराली भन्ने स्थानमा मात्रै सुख्खा पहिरो खसेको उनीहरुको दाबी छ । सडकमा काम गर्ने मजदूरहरुलाई पर्याप्त सुरक्षा सामग्री नदिएको र जोखिमपूर्ण काम गर्नु पर्दा घटना भएको उनीहरुको गुनासो छ । 

टेलिफोन नेटवर्कसमेत नलाग्ने र अति दुर्गम स्थान भएका कारण आयोजनाका कर्मचारीले दिएको रिपोर्टलाई नै स्थानीय प्रहरी र प्रशासनले पनि आधिकारिक मानेका थिए । 

देउरालीमा खसेको सुख्खा पहिरोले सुरक्षाकर्मी घटनास्थल पुग्न नसकेका कारण अहिलेसम्म पनि प्रहरीले घटना मुचुल्का बनाउन सकेको छैन । 

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले घटनास्थलमा सुरक्षाकर्मी पुग्न नसकेका कारण विस्तृत विवरण आउन बाँकी रहेको बताए । 

लप्चिमा नासा हाइड्रोले १६० मेगावाट क्षमताको लप्चि जलविद्युत आयोजना निर्माण गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ