arrow

राजनीतिक दलहरूलाई राष्ट्रपतिको आग्रह - संविधान कार्यान्वयनका लागि प्रण गरौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
rpatai-ramchandra.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुने गरी राजनीतिक दलहरूले छिटोभन्दा छिटो आवश्यक कानुनहरूको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका हुन् । 

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई माघी पर्वको अवसर पारेर सोमवार राष्ट्रपति भवन शीतल निवासमा बोलाएर उनले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरूले गर्नुपर्ने बताए । राष्ट्रपति पौडेलले आफूले राष्ट्रपति भएपछि भेट गरेका सबै विदेशी मित्र राष्ट्रका प्रतिनिधिहरूले पनि नेपालको संविधानको प्रशंसा गरेको उल्लेख गर्दै यसले जनतालाई दिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माणमा गर्ने काममा ढिलाइ गर्न नहुने बताए ।

उनले भने, ‘मैले यहाँ आएपछि जति पनि विदेशी प्रतिनिधिहरू, पाहुनाहरू, राजदूतहरू अथवा विभिन्न विदेशी निकायका प्रतिनिधिहरूसँग मेले भेटेको छु । उनीहरूले नेपालको अहिलेको संविधानको मुक्तकण्ठले स्वागत गर्ने र तल्लो भन्दा तल्लो वर्गलाई दिएको अधिकार महिला, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका दुर्गमका जनतालाई अधिकार प्रदान गरेको छ । यो बेजोड छ । अथवा यत्तिको संविधान दक्षिण एसियामा, सार्क मुलुकहरूमा कमै होला भनेर सबैले सम्मान गरेका छन् । प्रशंसा गरेका छन् । अव यसलाई कार्यान्वयनमा ल्याउने कुराको आवश्यकता छ । यो संविधानले जो जनतालाई पिछडिएका वर्गलाई, उपेक्षित वर्गलाई जो अधिकार दिएको छ । त्यो सार्थक हुनुपर्‍यो । त्यसलाई हामीले व्यवहारमा उतार्नका लागि कानुनहरू बनाउनुपर्नेछ । त्यसैले विशेष गरी ध्यान दिनुपर्ने विषय संविधानले दिएको अधिकारलाई कानुनद्वारा व्यवस्थित गर्नुपर्नेछ । ती कानुनहरूको निर्माण छिटो भन्दा छिटो हुन जरुरी छ भन्ने मलाई लागिरहेको छ । मेरो तपाईँहरू सबैलाई अनुरोध र शुभकामना आग्रह के छ भने संविधान कार्यान्वयनमा जाऔँ । जनताले अब जे पाइन्छ भन्ने आशा गरेका छन् । त्यो आशालाई निराशामा परिणत नगरौँ । देशमा निराशा लगायतका कुराहरू आएका छन् । यो संविधान कार्यान्वयनको कमीले हो । अव पछाडि फर्कन कोही नेपाली जनता चाहँदैनन् । नेपाली जनताको चाहना र भावना मैले पनि बुझेको छु । विदेशबाट आएकाहरूको मात्र होइन कि देश भित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ । अगाडि बढ्ने हो, संविधान कार्यान्वयन गरेर देशलाई गर्ने हो । र देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो । आज हामीले यही अठोट गर्नुपर्छ । हामीले समावेशी लोकतन्त्र साकार पारेर छोड्छौँ । म आज यो माघीको दिनमा यो अब सबै नेपालीको पर्व भइसक्यो । म नेपालीहरूको यो मौलिक पर्वमा तपाईँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

त्यस अवसरमा राष्ट्रपति पौडेलले माघीलाई नेपालको मौलिक पर्वको रूपमा चित्रण गर्दै सबैमा शुभकामना समेत व्यक्त गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष, गणेशप्रसाद तिमिल्सिना, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शमशेर जबरालगायतका नेताहरूको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ