arrow

सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी [अन्तर्वार्तासँगै फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
sitaram-hachethu-metro-p[ol.jpg

ललितपुर । बिहानै चिसोमा ललितपुरको लगनखेलस्थित एउटा फल्चामा नगर प्रहरी हावा फाल्ने मेसिनसहित फल्चा सफा गरिरहेका हुन्छन् । दिउँसोको समयमा भीडभाड हुने भएकाले बिहान–बिहान चिसो पनि नभनी ललितपुर महानगरका नगर प्रहरीहरू महानगर भित्रका सम्पदा संरक्षणमा यसरी नै लागि पर्दै आएका छन् । 

पूर्व ट्राफिक प्रहरीसमेत रहेका सीताराम हाछेथू ललितपुर महानगरको नगर प्रहरी प्रमुख भएर काम गरेको झण्डै चार वर्ष भइसकेको छ । नगर प्रहरीको महानगरभित्र रहेका सम्पदा संरक्षणमा भूमिका कस्तो छ त ? महानगरबासी नगर प्रहरीको कार्यप्रति कत्तिको सन्तुष्ट छन् त ? ललितपुर महानगर प्रहरी प्रमुख हाछेथू यसो भन्छन् –

नगर प्रहरी को दिनचर्या कसरी शुरु हुन्छ ?
बिहान ७ बजेदेखि नगर प्रहरीको ड्युटी शुरू हुन्छ । बिहान, दिउँसो र राति गरेर शिफ्टमा नगर प्रहरीहरू खटिन्छन् । सँगसँगै सम्पदा क्षेत्रमा १५ जना छुट्टै ड्युटी बस्छन् । पहिला १० देखि ५ बजेसम्म मात्र हुने ड्युटी अहिले हामी नगरबासी माझ २४ ऐ घण्टा उपलब्ध भएका छौँ । नगरभित्र हुने बिहान फोहरमैलाको निगरानीदेखि अनअधिकृत पार्किङ र सम्पदा संरक्षणमा २४ ऐ घण्टा काम गरिराखेका छौँ ।

सम्पदा संरक्षणमा नगर प्रहरीको भूमिका कस्तो छ ?
ललितपुर महानगरमा सम्पदाको कुरा गर्ने हो भने यहाँ पाटी, पौवा, स्तुपा,  हिटी, मन्दिरहरूले भरिएको छ । नगर प्रहरीको महत्त्वपूर्ण जिम्मेवारीको रूपमा नगरबासीसँग जोडिएको सम्पदालाई सुरक्षित राख्नु हो । सम्पदा संरक्षणको कुरामा नगरबासीसँग मिलेर काम गरिराखेका छौँ । ललितपुर महानगरमा भएका सम्पदाहरूमा पहिलो प्राथमिकतामा विश्व सम्पदामा सूचीकृत पाटन दरबार क्षेत्रलगायत अन्य सम्पदाहरूमा १५ जना नगर प्रहरी खटाइएको छ । पाटन दरबारलगायत अन्य सार्वजनिक स्थानहरूमा अनैतिक क्रियाकलाप निषेधका कुरादेखि धुमपान निषेध क्षेत्र गराइएको छ । पहिला पहिला नगर प्रहरीको काम फुटपाथ व्यापार रोक्ने र अनधिकृत पार्किङ व्यवस्थापनमात्र थियो । तर समयसँगै नगर प्रहरीको दायरामा भेट्ने कार्यहरूलाई नयाँ स्वरूपमा बढाइराखेका छौँ र सम्पदा संरक्षणमा जोड दिँदै आएका छौँ ।
 

नगर प्रहरी र नगरबासीबीच सम्पदा संरक्षणमा कस्तो साथ रहेको छ ?
नगरबासीको साथ बिना नगर प्रहरीले मात्र सम्पदा संरक्षण गर्न सक्दैनौँ । नगरबासीको साथसँगै हामीले काम गरिराखेका छौँ । पहिला र अहिलेमा नगरबासीको साथ धेरै राम्रो छ । हामीले नगरबासीको लागि ११३१ निःशुल्क टोल फ्री नम्बर उपलब्ध गराएका छौँ । सम्पदा संरक्षणको कुरामात्र नभइ अन्य सेवा सुविधाको लागि नगर प्रहरी २४ घण्टा तयारी अवस्थामा हुन्छौँ । महानगरभित्र रहेका सम्पदाहरूमा नगरबासीहरूका कथाहरू जोडिएको हुँदा आफ्नो सम्पदा जोगाउनमा ठूलो भूमिका खेलेको देख्छु । उदाहरण नै दिन पर्दा पाटन दरबारमा रहेको कृष्ण मन्दिरमा एकदमै अनैतिक क्रियाकलाप बढेपछि त्यहाँका स्थानीयले खबर गर्नुभयो । हामीले महानगरसँग समन्वय गरेर निषेध त गराइयो तर स्थानीय आफैँले मन्दिर छिर्ने ढोकामा भक्तजनमात्र लेखिएको पोस्टर राख्नु भएको छ । यो देख्दा सम्पदा संरक्षणमा नगर प्रहरीको कार्य बढेसँगै स्थानीय पनि जागरुक भएको पाइन्छ ।

सम्पदा संरक्षणलगायत अन्य कार्यका लागि नेपालको स्थानीय तहहरूमा कस्तो छाप दिइरहनु भएको छ ?
सम्पदा संरक्षणमा भर्खरै मात्र बागमती प्रदेश सरकारबाट उत्कृष्ट भइ पुरस्कार पनि पाएका छाैँ । हाम्रो काम अरुलाई देखाउने भन्दा पनि नगरबासीको समस्यालाई समाधान गर्नु हो । हाम्रो कार्यमा नगरबासीहरू सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ मलाई । राम्रो कुरालाई नक्कल गर्नुपर्छ । मलाई काठमाडौँ उपत्यका बाहिरका महानगर, उपमहानगर र नगरपालिकाहरूबाट एकदमै फोन आउने गर्छ । उहाँहरूको नगर प्रहरीलाइ के कसरी लग्ने भनेर । गत हप्ता मात्र धनगढी उपमहानगरका नगर प्रमुख गोपाल हमालले फोन गर्नु भएको थियो । उहाँको नगर प्रहरी प्रमुखलाई नगरभित्र गर्नुपर्ने कार्य योजनाहरूलाई के कसरी लगिनु पर्छ भनेर । हाम्रो नगर प्रहरी बलको कार्यले सिकाउन पनि पाइएको छ र सिक्न पनि पाइएको छ ।

नगर प्रहरीले पाउनु पर्ने आवश्यक कुराहरू महानगरबाट उपलब्ध गराइएको छ त ?

ललितपुर महानगरको क्षेत्रफल एकदमै फैलिएको छ । हामीलाई पहिलो कुरा जनशक्तिको निकै खाँचो हुने गर्दछ । हाम्रो कार्यप्रति सन्तुष्ट भएर भर्खरैमात्र नगर प्रमुखज्यूले जनशक्ति थप्ने कार्य योजना अगाडि बढाउनु भएको छ । नगर प्रहरी बलको ७० जनाको संख्या बढाएर १५० गराउने तयारी गरिराखेका छौँ । नगरभित्रका सम्पदा संरक्षणमा थप नगर प्रहरी खटाउने तयारीमा छौँ । नगरभित्र रहेका पाटी, हिटीहरूको सरसफाइदेखि हरेक संरक्षणका कुराहरूलाई अझै थप बढाइने छ । नगरभित्र आवश्यक हुने कुराहरू जस्तै ढल सफा गर्ने, दमकल सेवा, एम्बुलेन्स, शव वाहनको लागि चाहिने साधनहरू उपलब्ध गराइएको छ । यी सबै सेवाहरू महानगरबाट निःशुल्क रूपमा संचालन गराइराखेका छौँ ।

नगर प्रहरी बलको भावी योजना के छ ?
हामीले चाँडै नै ललितपुर महानगरबासीलाई सहज हुने गरी मोबाइल एप सुचारु गर्दैछौँ । अहिले तत्काललाई एपमा हामीले नगर प्रहरीको कार्यका २१ ओटा सुविधाहरू जोडेका छौँ । जसमा दमकल सेवा, एम्बुलेन्स सेवा, ढल सफाइ, बाटो बिग्रेकोलगायत अन्य कामहरूलाई समेटेका छौँ । नगर प्रहरी बलको कार्यालय पुल्चोकमा कन्ट्रोल रुमबाट निगरानी गरी हामी नगरबासीको समस्या समाधान गर्न तयारी अवस्थामा रहने छौँ ।

lalitpur-heritage-2080 (1).jpg
lalitpur-heritage-2080 (2).jpg
lalitpur-heritage-2080 (3).jpg
lalitpur-heritage-2080 (4).jpg
lalitpur-heritage-2080 (5).jpg
lalitpur-heritage-2080 (6).jpg
lalitpur-heritage-2080 (7).jpg
lalitpur-heritage-2080 (8).jpg
lalitpur-heritage-2080 (9).jpg
lalitpur-heritage-2080 (10).jpg
lalitpur-heritage-2080 (11).jpg
lalitpur-heritage-2080 (12).jpg
lalitpur-heritage-2080 (13).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ