नबिल बैङ्कको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित
हाम्रा कुरा
प्रकाशित २०८० पुष १३ शुक्रबार
1.3k
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। बैङ्क सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो।
सभाले बैङ्कको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैङ्कको स्वीकृति अनुसार आव २०७९-०८० को मुनाफाबाट शेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैङ्क आव २०७९-८० मा रु.६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको थियो।
नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ। पछिल्लो समय यस बैङ्कले दिगो बैङ्किङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैङ्किङको लागि एन बैङ्क सञ्चालनमा ल्याएको छ।
‘क’ वर्गको बैङ्कहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैङ्कको पहिचान पाएको यस बैङ्कले दिगो बैङ्किङ प्रणालीमा जोड दिएको छ। बैङ्कका अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैङ्कले आफ्ना गतिविधि सञ्चालन गरेको बताए। “देशको अर्थतन्त्रको पछिल्लो परिकृष्यहरूलाई मध्यनजर गर्दै नबिल बैङ्कले नेपालको बैङ्किङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ” उनले भने। बैङ्कले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको उनले बताए।
नबिल बैङ्कले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम 'नबिल स्कूल अफ सोशल इन्टरप्रेन्योरशिप (नबिल एसएसई)' सञ्चालन गरेको छ। समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढवा दिने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो।
हालसम्म तीन सय ३५ जना विद्यार्थीहरूको सहभागिता भएको यस कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको उनले जानकारी दिए।
साधारण सभालाई सम्बोधन गर्दै बैङ्कका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पुँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैङ्कमा सेयर धनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पुँजी हाल सम्म आउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताए।
संयुक्त राष्ट्रसङ्घको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैङ्कले आफ्नो व्यवसाय विस्तार गरिरहेको र सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत अगाडि बढाइरहेको जानकारी गराए। त्यस्तै बैङ्कले स्थापनाकालदेखि हालसम्म देशको राजश्वमा समेत महत्त्वपूर्ण योगदान दिँदै आएको जानकारी गराए।
नबिलले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। बैङ्कले १८ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने विश्वास राखेको छ। बैङ्कले साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयर धनी, नियामक निकाय, ग्राहक वर्ग, बैङ्कका कर्मचारी तथा सम्बद्ध सबै निकायहरू प्रति आभार व्यक्त गरेको छ।