arrow

यू–१९ एसिया कपमा कमजोर प्रदर्शन

नेपाल लगातार दोस्रो हारसँगै बाहिरियो, अफगानिस्तानसँग ७३ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
u19-nepal-final-2023-12-10.jpg

काठमाडौँ । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई हारसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलको होडबाट बाहिरिएको छ । 

पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा आइतबार अफगानिस्तानसँग पराजित भएको हो । खेलमा नेपाल ७३ रनले पराजित भयो । 

दुबईमा भएको खेलमा नेपालले २६२ रनको चुनौती पछ्याउने क्रममा ४०.१ ओभरमा अलआउट हुँदै १८८ रनमा समेटियो । 

नेपालका लागि ओपनर अर्जुन कुमालको मात्र ब्याटिङ चलेको थियो । उनले १०८ बलमा ९१ रन बनाए पनि अन्य कोही ब्याटरले साझेदारी नगरेपछि नेपाल सहजै पराजित भयो । कप्तान देव खनालले २४ रन बनाएका थिए । चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । अफगानिस्ताका फरिदून दाउदजाई र नसिर खान मारुफखिलले ३–३ विकेट लिए । 

यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै अफगानिस्तानलाई ४९.३ ओभरमा २६१ रनमा रनमा रोकेको थियो । 

अफगानिस्तानका जम्शेद जर्दानले रिटायर्ड आउट हुनुपूर्व १५३ बलमा १०६ रन जोडे । त्यस्तै मुनमान शाहले ४१ बलमा ६० रन बनाए । 

नेपालका लागि गुल्सन झा, सुवाश भण्डारी र हेमन्त धामीले २–२ तथा आकाश चन्द र दिपेश कडेलले १–१ विकेट लिए । 

यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटको हार बेहोर्यो । 
नेपालले १५३ रनको सामान्य चुनौती दिएकामा पाकिस्तानले २६.२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

लगातार दुई हारसँगै नेपालको सेमिफाइनल होड सकिएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ । 

ग्रुप अफ डेथमा रहेको समूह ए मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान रहेका छन् । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ