arrow

यू–१९ एसिया कपमा नेपालको कमजोर शुरुआत, पाकिस्तानसँग ७ विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
u19-nepal-pakistan-2023-12-.jpg

काठमाडौँ । यूएईमा शुरु भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले कमजोर शुरुआत गरेको छ । 

नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटको हार बेहोर्यो । नेपालले१५३ रनको सामान्य चुनौती दिएकामा पाकिस्तानले २६.२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । 

दुबईमा भएको खेलमा पाकिस्तानका लागि अजान अवाइसले ६२ बलमा अविजित रहँदै ५६ तथा कप्तान साद बेइगले ५६ बलमा ५० रन बनाए । नेपालका लागि गुल्सन झाले २ तथा आकाश त्रिपाठीले १ विकेट लिए । 

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनायो । 

४६ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालका लागि उत्तम मगर र दिपेश कडेलले सम्हाले । छैटौँ विकेटका लागि दुवैले संयमित भएर ६८ रनको साझेदारी गर्ने क्रममा उत्तमले ७६ बलमा ५१ रन बनाए । 

त्यस्तै दिपेशले ५९ बलमा ३१ रन बनाए । ओपनर अर्जुन कुमालले ३७ बलमा २१ रन बनाए बाहेक अन्य खेलाडीले दोहोरो स्कोरसमेत खडा गर्न सकेनन् । 

यू–१९ टिमका लागि पाका मानिएका सिनियर टिमका अलराउन्डर गुल्सन झाले ४ बलमा मात्र १ रन बनाए । कप्तान देव खनालले १३ बल खेले पनि रनको खाता खोल्न सकेनन् । 

सुवाश भण्डारीले अविजित रहँदै ८, तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ तथा आकाश चन्दले ५ रनमात्र बनाए । 

मोहम्मद जीशनले ६ विकेट लिए । 

समूह ए मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान रहेका छन् । 

भारतले पनि अफगानिस्तानलाई सहजे ७ विकेटले हराएको छ । १७४ रनको चुनौती पछ्याएको भारतले ३७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । अर्शिन कुलकर्णीले १०५ बलमा अविजित रहँदै ७० तथा मुशीर खानले ५३ बलमा ४८ रन जोडे । 

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाएर ५० ओभरमा १७३ रन बनायो । जम्शैद जद्रानले ७३ रन बनाएको इनिङ्समा राज लिम्बानी र अर्शिन कुलकर्णीले ३–३ विकेट लिए । 
नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग र २६ गते भारतसँग खेल्नेछ । नेपाल ग्रुप अफ डेथमा रहेको हो । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ