arrow

नेपालले पाकिस्तानलाई दियो १५३ रनको चुनौती, उत्तमको अर्धशतक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २२ शुक्रबार
u19-nepal-uttam-dipesh.jpg

काठमाडौँ । यूएईमा शुरु भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेल जितका लागि नेपालले पाकिस्तानलाई १५३ रनको सामान्य चुनौती दिएको छ । 

दुबईमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनायो । 

४६ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालका लागि उत्तम मगर र दिपेश कडेलले सम्हाले । छैटौँ विकेटका लागि दुवैले संयमित भएर ६८ रनको साझेदारी गर्ने क्रममा उत्तमले ७६ बलमा ५१ रन बनाए । 

त्यस्तै दिपेशले ५९ बलमा ३१ रन बनाए । ओपनर अर्जुन कुमालले ३७ बलमा २१ रन बनाए बाहेक अन्य खेलाडीले दोहोरो स्कोरसमेत खडा गर्न सकेनन् । 

यू–१९ टिमका लागि पाका मानिएका सिनियर टिमका अलराउन्डर गुल्सन झाले ४ बलमा मात्र १ रन बनाए । कप्तान देव खनालले १३ बल खेले पनि रनको खाता खोल्न सकेनन् । 

सुवाश भण्डारीले अविजित रहँदै ८, तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ तथा आकाश चन्दले ५ रनमात्र बनाए । 

मोहम्मद जीशनले ६ विकेट लिए । 

समूह ए अन्तर्गतको खेलमा नेपाल र पाकिस्तान खेलिरहेका हुन् । यो समूहको अर्को खेलमा भारत र अफगानिस्तान खेलिरहेका छन् । 

जितका लागि भारतले १७४ रनको चुनौती पछ्याइरहेको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाएर ५० ओभरमा १७३ रन बनायो । जम्शैद जद्रानले ७३ रन बनाएको इनिङ्समा राज लिम्बानी र अर्शिन कुलकर्णीले ३–३ विकेट लिए । 

खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गरेको छ । यू–१९ एसिया कपमा नेपाल रहेको समूह ए मा भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । 

गुल्सन एकै वर्ष यू–१९ र सिनियर टिममा खेल्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसैसाल सिनियर टिमको एसिया कपमा पाकिस्तानविरुद्ध गुल्सनले खेलेका थिए । 

नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग र २६ गते भारतसँग खेल्नेछ । नेपाल ग्रुप अफ डेथमा रहेको हो । 

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । 

यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ