जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बन्न मानव अधिकार आयोगलाई राष्ट्रपतिको सुझाव
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
778
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन भएमा मात्र मुलुकमा कानूनी राज्य र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताएका छन् ।
उनले बिहीबार राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन बुझ्दै मानव अधिकारको सम्मान, संरक्षण र सम्वर्धन भएमात्र मानव अधिकारको प्रत्याभूतिबाट कोही पनि नागरिक बञ्चित हुनु नपर्ने बताए ।
राष्ट्रपति पौडेलले मानव अधिकारको प्रत्याभूति दिलाएर आयोग सदैव सर्वसाधारण जनताका लागि आस्था, विश्वास र भरोसाको केन्द्र बन्नुपर्ने सुझाव दिए ।
उनले आयोगले आफ्नो संवैधानिक र कानूनी दायित्व पूरा गर्ने क्रममा यथार्थ र प्रभावकारी अनुगमनमा जोड दिँदा अझ मानव अधिकार मैत्री हुन सघाउ पुग्ने पनि धारणा राखे ।
राष्ट्रपति पौडेलले नेपालमा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिकलगायतका कुनै पनि प्रकारका विभेद हुन नदिई समानता, समावेशीता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने राष्ट्रिय संकल्पलाई साकार पार्न आवश्यक रहेको बताए ।
उनले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, वालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रतालगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतारी मानव अधिकारको परिपालना गर्ने संस्कृतिको निर्माण गर्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक रहेको बताए ।
उनले मुलुकमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्धन तथा प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने कर्तव्य संवैधानिक रूपमा राष्ट्रिय मानव अधिकार आयोगको रहेको पनि स्मरण गराए ।
मानव अधिकार हननका घटनाको उजुरीमा छानबिन तथा अनुसन्धान गरी कारबाहीको लागि सिफारिस गर्ने काम तथा नेपाल पक्ष भएका मानव अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौताको कार्यान्वयनको अनुगमन गर्ने दायित्वसमेत रहेकोले आयोगको जिम्मेवारी बढ्दै गएको पनि उनले बताए ।
उनले आयोगले मानव अधिकारको संरक्षणको क्षेत्रमा देखेका चुनौती र समस्या समयमा नै सरकारलाई जानकारी गराउने र सरकारले पनि समयमै आयोगको समस्याको व्यवहारिक रुपमा सम्बोधन गर्ने तथा आगामी दिनमा आयोगले आफ्नो संवैधानिक दायित्व र कर्तव्य थप प्रभावकारी रूपमा सम्पादन गर्नेछ भन्ने आफूले विश्वास लिएको बताए ।
सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदनका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।