arrow

रात्रिकालीन टेबल टेनिसको पहिलो स्वर्ण धाख्वालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
ananda-dhakhwa-night-table-tennis.jpg

काठमाडौँ । ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा रात्रिकालीन टेबल टेनिस प्रतियोगिताको भेट्रान्स ६० वर्ष माथिको इभेन्टसमा आनन्द धाख्वाले स्वर्ण पदक जितेका छन् ।

मंगलबार सम्पन्न फाइनलमा वडा १० का धाख्वाले वडा १९ का जगदिश्वरप्रसाद जोशीलाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् । धाख्वाले जोशीलाई ११-४, ११-४, ११-७ ले हराए । 

यसअघि सेमिफाइनलमा जोशीले वडा १६ का धर्मेन्द्र शाक्यलाई तथा धाख्वाले वडा नम्वर ५ का पूर्ण शंकर श्रेष्ठलाई पराजित गरेका थिए। 

त्यसैगरी ५० वर्षमाथिको इभेन्ट्समा  वडा १६ का प्रकाश धाख्वा, वडा २० का संघ बज्राचार्य, वडा १९ का निशान प्रधान, वडा ९ का किरण ब्यञ्जनकार, वडा ११ का नदिमरत्न शाक्य र वडा २० का सुरेश बज्राचार्य क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गत मंसिर १२ गतेबाट शुरु भएको रात्रिकालीन टेबल टेनिस प्रतिस्पर्धामा विभिन्न १५ इभेन्ट्समा ५ सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाइरहेका छन् । 

प्रतियोगिताको तेस्रो दिन खेलकै क्रममा मूल आयोजक समितिका सचिव तथा खेलाडी पुष्पराज शाक्यको निधन भएपछि खेल एक हप्ता स्थगित गरिएको थियो। 

ललितपुर जिल्ला टेबल टेनिस संघ, खोल्चा पुखु खेलकुद उपसमिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजनामा भएको प्रतियोगिताका खेलहरु वडा तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन भइरहेको छ।

कुल ३ लाख ५० हजार  रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालनका लागि २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ