सवारी जोखिम न्यूनीकरण गरे वार्षिक साढे दुई खर्ब सुरक्षित
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० मंसिर १६ शनिबार
2.1k
Shares
सडक यातायात जोखिम घटाउनका लागि हालसम्म प्रयोगमा आएका विधिहरुमध्ये सुरक्षित विधि अथवा ‘सेफ सिस्टम अप्रोच’ सबैभन्दा प्रभावकारी देखिएको छ । सन् १९९० को दशकमा स्वीडेन र नेदरल्याण्ड्सबाट शुरू गरिएको यस विधिको प्रयोग गरिएका मुलुकमा सडक यातायात जोखिम ६७ प्रतिशतले कमी आएको छ ।
सन् १९९० देखि २०१७ को बीचमा भएका सडक सवारी जोखिममा परी मृत्यु तथा घाइते भएका वा सवारी साधन ठक्कर खाएका तथ्यांकको मूल्यांकन गर्दा यस्तो जानकारी प्राप्त भएको हो । जसअनुसार ‘सेफ सिस्टम अप्रोच’ लागू गरिएका मुलुकमध्ये उक्त अवधिमा अस्ट्रेलियामा ४७ प्रतिशत, न्यूजिल्यान्डमा ४८ प्रतिशत, स्वीडेनमा ६७ प्रतिशत र स्पेनमा त अझ बढी ८० प्रतिशत सडक सवारी जोखिम कमी आएको थियो ।
विश्वमा सडक सवारी जोखिममा पर्नेमध्ये दुई पाङ्ग्रे सवारी साधनका प्रयोगकर्ता बढी छन् । दक्षिण एसियामा सबैभन्दा बढी भारतमा दुई पाङ्ग्रे चलाइन्छ । करिब २१ करोड दुई पाङ्ग्रे चल्ने भारतको तथ्यांक छ ।
स्वभावतः सवारी जोखिम पनि दुई पाङ्ग्रेकै बढी हुन्छ । सन् २०२१ को तथ्यांकअनुसार भारतमा दुई पाङ्ग्रे सवारी साधनबाट ७० हजार मानिसको ज्यान गएको थियो ।
नेपालमा प्रयोग गरिने सडक सवारीमध्ये मोटरसाइकल र स्कुटरको हिस्सा ७८ प्रतिशत रहेको छ । भारतले मोटरसाइकल तथा स्कुटर अझ भनौँ मोटर जडित दुई पाङ्ग्रे सवारी साधनमा सवार बालबालिकालाई पनि हेलमेट अनिवार्य गरेको छ ।
नौ महिना उमेर पुगेका बालबालिकाका लागि हेलमेट अनिवार्य छ । नेपालमा पनि केही समयका लागि दुई पाङ्ग्रेमा सवार दुवैले हेलमेट अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको थियो तर द्वन्द्वको नाममा उक्त नियम बन्द गरियो ।
शान्ति सम्झौता भएको १७ वर्ष पूरा हुँदासमेत उक्त नियम पूर्ण रूपले फर्काइएको छैन । नेपाल प्रहरीले भने यो नियम शुरू गरिसकेको छ । राष्ट्रिय सडक सुरक्षा परिषद्को पहलमा सशस्त्र प्रहरीले पनि दुई पाङ्ग्रेका प्रयोगकर्तालाई हेलमेट अनिवार्यको व्यवस्था शुरू गरेको छ । यसैगरी नेपाली सेनाले पनि यो परिपाटी शुरू गर्नेबारे प्रक्रिया अघि बढाएको जानकारीमा आएको छ ।
सवारी जोखिम कम पार्न दुई पाङ्ग्रेका लागि छुट्टै लेनको व्यवस्था एउटा विकल्पका रुपमा लिइन्छ । विश्वका एक सय २१ ओटा ठूला शहरको १३ वर्षको तथ्यांकलाई विश्लेषण गर्दा दुई पाङ्ग्रेलाई छुट्टै लेन दिँदा सवारी जोखिममा ४४ प्रतिशतले कमी आएको छ । त्यस्तै सवारी जोखिममा परी घाइते हुनेको संख्या पनि ५० प्रतिशले कमी आएको छ ।
सडक सुरक्षित नभएका कारण नेपालले आफ्नो वार्षिक कूल गार्हस्थ उत्पादनको ५.६ प्रतिशत हिस्सा खर्च गर्नुपरेको विश्व बैंकको तथ्यांक २०१६ मा उल्लेख छ ।
आज नेपालको कूल गार्हस्थ उत्पादन करिब ४० अर्ब अमेरिकी डलर मानिन्छ । यही रकमलाई नै आधार मान्ने हो भने पनि नेपालले सडक सवारी जोखिमका कारण वर्षमा करिब दुई अर्ब ४६ करोड डलर बराबरको नेपाली मुद्रा खर्च गर्दछ ।
यो रकम हाम्रा लागि निकै ठूलो हो । वर्षमा करिब अढाई खर्ब रुपैयाँ खर्चनु भनेको देशको जनसंख्यालाई पाल्न पुग्ने पैसा हो ।
गत आर्थिक वर्षमा नेपालले कृषिजन्य उत्पादन आयातमा करिब तीन खर्ब २५ अर्ब खर्च गरेको तथ्यांक छ । यदि सडकलाई मात्र सुरक्षित गर्न सके पनि दुई खर्बभन्दा बढी बचत गरी अन्य क्षेत्रमा लगाउन सकिन्छ । यसबाट देशको अर्थतन्त्रमा पक्कै पनि ठूलै फड्को मार्न सकिन्छ ।