arrow

नसर्ने रोगबाट हुने मृत्यु ७१ प्रतिशत 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० मंसिर १२ मंगलबार
arzu-non-transfarable-disease.jpg

नेपालगञ्ज । नेपालमा नसर्ने रोगको अवस्था भयाबह बन्दै गएको छ । अस्पतालमा उपचारका लागि पुग्ने ९० प्रतिशत बिरामीहरु नसर्ने रोगका छन् । 

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा आज नेपालगञ्जमा आयोजना गरिएको नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यशाला गोष्ठीमा नेपालमा नसर्ने रोगबाट हुने मृत्यु ७१ प्रतिशत रहेको तथ्यांक प्रस्तुत गरिएको छ । 

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालका सुजन जोशीले प्रस्तुत गरेको तथ्यांक अनुसार नसर्ने रोगबाट हुने मृत्यु ५१ प्रतिशतबाट बढेर अहिले ७१ प्रतिशत पुगेको छ । नेपालमा मुख्य गरेर मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वास र मानसिक समस्या जस्ता नसर्ने रोगको ग्राफ बढ्दो छ । मुटु, मधुमेह रोगलाई ८० प्रतिशतसम्म तथा क्यान्सरलाई ४० प्रतिशतसम्म रोकथाम गर्न सकिने विज्ञहरुको भनाइ छ । 

कार्यक्रममा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. आरजू राणा देउवाले नसर्ने रोगको अवस्था नेपालमा भयाबह बन्दै गइरहेको भन्दै ती रोगहरुको रोकथामका लागि सरकारले अभियानकै रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याइन् । 

हरेक नागरिकले आफ्नो खानपान र व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउँदै उनले वार्षिक रुपमा आफ्नो स्वास्थ्य परीक्षणका लागि प्रतिबद्ध हुनुपर्ने उल्लेख गरिन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नसर्ने रोगको उपचारका लागि सिफारिस लिन आउने मानिसहरु बढ्दै गएको भन्दै आफ्नो स्वास्थ्यप्रति सबै गम्भीर बन्नुपर्ने अवस्था आएको बताए । 

नसर्ने रोगहरुले समाजलाई गरिबीतर्फ धकेलिरहेको भन्दै उनले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याइरहेको बताए । स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठले जिल्लाका समग्र स्वास्थ्य सूचकांकहरु तथा नसर्ने रोगको बढ्दो जोखिम र अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए । 

नेपालगञ्ज उपमहानगरपालिकामा गत आर्थिक वर्षमा ६ जना तथा यस आर्थिक वर्षमा हालसम्म ३ जना गर्भवती महिलाको ज्यान जानुमा प्रमुख कारक नसर्ने रोग रहेको बताइएको छ । 

कार्यशाला गोष्ठीमा उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, भेरी अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा। दिनेशकुमार चौधरी, सुरक्षित मातृत्व सञ्जाल महासंघका कोषाध्यक्ष सुनिल श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नसर्ने रोग मानव र समाज विकासका लागि ठूलो चुनौती बनेको बताए ।

 कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाभित्र सुरक्षित मातृत्वका लागि नसर्ने रोगहरुको जोखिम कम गर्न स्वस्थ सहर अभियानका लागि सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको सहयोगमा कार्यक्रम शुरु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ