arrow
ADVERTISEMENT

केपी ओली कप पोखरामा, १२ टोली सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
kp oli cup.jpg

पोखरा । पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीका संरक्षकसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए ।

प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार र ‘म्यान अफ द म्याच’ ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् । 

खेल सम्पन्न गर्नका लागि रु ७५ लाख खर्च लाग्ने र विभिन्न व्यापारिक प्रतिष्ठान, स्थानीय सरकारबाट सहयोग सङ्कलन गरिएको आयोजकले जनाएको छ ।

पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने बताइन्छ ।

एकेडेमीले खेल पर्यटनलाई आधार बनाइ उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।

अध्यक्ष आचार्यले भने, “अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”

एकेडेमीमा खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुरुवर्ग र खेललाई माया गर्ने खेलप्रेमीहरू आबद्ध रहेको बताइन्छ ।

‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो । 

प्रतियोगिताको उद्घाटन एकेडेमीका परिकल्पनाकार एवं संरक्षक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेे निश्चित भएको आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ