arrow

कार दुर्घटनामा परिवार गुमाएर बाँचेका लोहनी डिस्चार्ज, भाँचिएका थिए दर्जन बढी हड्डी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १ शुक्रबार
ishworbahadur-lohani-accide.jpg

काठमाडौँ । गत कार्तिक ५ गते पाल्पाको रानीमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानीमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जसमा सवार एक जनामात्र बाँचेका थिए । गम्भीर अवस्थामा उनको उद्धार भएको थियो । 

अपरान्ह ४ बजे तानसेन १३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको थियो । जसमा नवलपरासी देवचुली नगरपालिका १६ रजहर बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनीले चलाएको कारमा उनका बाबु, आमा, श्रीमती, दुई छोरा र उनकी सासू थिए । छ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

लोहनीमात्र भाग्यले बाँचे । तर उनको उद्धार गर्दा भने उनको अवस्था नाजुक थियो । शुरुआती चरणमा तानसेनस्थित मिसन अस्पतालमा उपचार गराइएकामा निको हुने सम्भावना कम भएपछि उनलाई अर्को दिन हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पतालमा ल्याइएको थियो । गम्भीर अवस्थामा थुप्रै हड्डी टुक्रिएको अवस्थामा ल्याइएका उनलाई चार दिन त आईसीयूमै राखेर उपचार गरिएको थियो । 

त्यसपछिमात्र उनको मेजर अप्रेशन गरिएको थियो । हाडजोर्नी रोग विशेषज्ञ डा. कपिलमणि केसीको नेतृत्वमा केसी र डा. सुरेश थापाले हाडजोर्नीको शल्यक्रिया गरेका थिए । 

उनको सीटीभीएस, जनरल सर्जरी, एनेस्थेसिया, सीसीयू र  दन्त चिकित्सकले पनि उपचार गरेका थिए । 

डा. केसीका अनुसार लोहनीको शरीरमा एक दर्जन बढी हड्डी भाँचिएका थिए । उनको बायाँ फिमर दुई ठाउँबाट भाँचिएको थियो । बायाँ एसिटाबुलम पनि भाँचिएको थियो । दुवैतर्फको करङ भाँचिएको थियो । उनको दुवै फोक्सोमा हावा भरिएको थियो । 

त्यस्तै उनको दायाँ ह्युमरस र दायाँ कुहिनाको जोनी भाँचिएर छुट्टिएको थियो । म्यान्डिबल (ज बाेन), देब्रे हातको पहिलो र दोस्रो मेटाकार्पल भाँचिएको थियो । दायाँ खुट्टाको दोस्रो, तेस्रो, चौथो र पाँचौँ मेटाटार्सल भाँचिएको थियो । 

डा. केसीले निकै लामो प्रयासपछि लोहनी पहिलो पटक शुक्रबार उभिन सकेको बताए । उनका अनुसार लोहनीलाई निको हुन अझै तीन चार महिना लाग्न सक्छ । 

लोहनीले आफू होसमा आइसकेपछि पटक पटक परिवारका बारेमा सोध्ने गर्दथे । तर चिकित्सकीय टोलीले भने कारमा सवार बाँकी कोही पनि नबाँचेको त्यो कारुणिक घटना भने सुनाएन । केबल उनीहरुलाई केही पनि भएको छैन घरमा ठीक छन् भनेरमात्र सुनायो । 

डा. केसी भन्छन्, ‘बिरामी आफू नै ठूलो दुर्घटनामा परेको छ भने उसलाई निको हुन समय लाग्ने भएकाले थप पीडा दिनु हुँदैन भनेर हामीले उहाँलाई परेको गम्भीर पीडालाई लुकायौँ । यसो गर्दा उहाँलाई थप पीडा नहोस् र शरीरले छिट्टै रिकोभरको बाटो ल्याओस् भन्ने नै हो ।’

लोहनीका भाइ अमेरिकामा थिए । उनी घटनाको दुई दिनपछि नै आइपुगे । लोहनीका भाइले बाबुआमा सबैको किरिया गरे । किरियाबाट उम्किएपछि अर्थात् घटनाको १३ दिनपछिमात्र लोहनीलाई विस्तारै विस्तारै घटनाबारे जानकारी दिइयो । अनि बल्ल लोहनी अहिले सम्मालिन सक्ने अवस्थाका भएका छन् । 

लोहनी २५ दिनको अस्पताल बसाइपछि शुक्रबार डिस्चार्ज भएका हुन् । (अनुभवी चिकित्सक डा केसी बेलायतबाट एफआरसीएस उपाधि प्राप्त अर्थोपेडिक सर्जन हुन् ।)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ