सित्तैमा बिजुली बाल्ने २१ हजार ग्राहकको लाइन काटियो
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
684
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको छ ।
विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थपदस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ ।
मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ ।
यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताहरुलाई कालोसूचीमा राखी असूली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत महशुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्धरुपमा विद्युत लाइन काटी बक्यौता महशुल असूलउपर गर्ने रणनीति लिइएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
उनले तिहारपछि लाइन काट्ने कामलाई अझै तिब्रताका साथ अगाडि बढाइने भएकाले समयमै महशुल तिरी सजक र जिम्मेवार बन्न ग्राहकहरुलाई आग्रह गरे ।