भूकम्पमा परी घाइते भएकाको प्रभावकारी उपचार गर्न अपील
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १८ शनिबार
684
Shares
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपील गरेको छ ।
आयोगले भूकम्प प्रभावितलाई राहत एवं खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपील गरेको हो ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवं खोजीमा जुध्न आयोग नेपाल सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गर्दछ ।”
आयोगले गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिम जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
साथै, भूकम्पमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आयोगले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
आयोगले भूकम्प प्रभावित जिल्लामा आयोगले अनुगमनसमेत शुरू गरिसकेको छ ।
आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न आजै भूकम्प प्रभावितस्थलतर्फ प्रस्थान गरिसकेको छ ।
साथै आयोगले घटना सम्बन्धमा विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।