arrow

बडादशैँमा ज्येष्ठ नागरिकलाई सेनाले गरायो भोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
army-banke-dashian-2080.jpg

जानकी । बडादशैँको अवसरमा नेपाली सेनाले आश्रमका जेष्ठ नागरिकलाई भोजन गराएको छ । मङ्गलबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ शम्शेरगञ्जस्थित ओभरीमा रहेको अर्जुनवाण गणले कोहलपुर नगरपालिका वडा नं ५ स्थित एनसिसीको  नीलसागर आश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो ।

कार्यक्रममा राझाँस्थित चारवाहिनी अड्डाका वाहिनीपति एवं सहायक रथी प्रकाश थापाले निस्वार्थ भावमा मानव सेवामा समर्पित उक्त आश्रमलाई नेपाली सेनाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । 

चाडबाडको अवसरमा आश्रममा आश्रित जेष्ठ नागरिकलाई एक्लोपन महसुस नहोस् भन्ने उद्देश्यले खानाको व्यवस्था गरिएको गणपति अशोक खड्काले बताए । 

‘चाडपर्व भनेको आफन्तसँग मनाउने पर्व हो तर आश्रममा आफन्त नभएकाहरुलाई  आफन्तको कमी महसुस नहोस् भन्ने उद्देश्यले हामीले बडाशैँका दिन भोजन गराएर आफ्नोपनको अनुभूति गराएका मात्र हौँ, उनले भने । 

कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गीता सुबेदीले आश्रम सञ्चालन गर्नु राज्यको दायित्व भए पनि यो काम नीलसागर आश्रमले  निःस्वार्थ भावले गरेकाले उक्त संस्थालाई नगरपालिकाले पनि सहयोग गर्ने बताइन् ।

उनले फजुल खर्च गरेर मनाइने जन्मदिन र वैवाहिक वर्ष गाँठबाट केही रकम छुट्टयाएर उक्त आश्रमलाई  सहयोग गर्न नगरबासीलाई आग्रह गरिन् । 
बाँकेमा केन्द्रीय कार्यालयको रूपमा स्थापना भएको नीलसागर आश्रमका शाखाहरू काठमाडौँ, पोखरा, पाल्पा, सुर्खेत, बर्दिया, दैलेख, कोहलपुर र दाङ्ग गरेर आठ जिल्लामा सञ्चालित छन् ।  

कोहलपुर शाखामा रहेका २८ जना जेष्ठ नगरिकलाई नेपाली सेनाले बडादशैँको दिन भोजन खुवाउनाका साथै राप्तिसोनारी गाउँपालिका ५ स्थित बिनौनामा रहेको जयवागेश्वरी आश्रमका १२ बालबालिकालाई पनि भोजन गराएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ