arrow

प्रतीक प्रधानको नेतृत्वमा ‘डिजिटल मिडिया सोसाइटी’ गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
digitial-media-society-2080-06-30.jpg

काठमाडौँ । बाह्रखरी मिडिया प्राली (बाह्रखरी डट्कम) का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानको नेतृत्वमा डिजिटल मिडिया सोसाइटी गठन भएको छ । 

मूलधारमा रहेका नेपाली डिजिटल सञ्चार माध्यम एक ठाउँमा उभिँदै पहिलो पटक डिजिटल मिडिया सोसाइटी गठन गरिएको हो ।  

मूलधारको पत्रकारितामा डिजिटल मिडियाको प्रभाव दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा यस माध्यममा आवद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन भएको हो । 

सोसाइटीको उपाध्यक्षमा सेटोपाटी सञ्चार प्राली (सेटोपाटी डट्कम) का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्राली (लोकान्तर डट्कम) का अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्राली (क्लिकमाण्डू) डट्कमका अध्यक्ष पुष्प दुलाल रहेका छन् ।

कार्यसमिति सदस्यहरूमा विकास मिडिया प्राली (विकास न्यूज डटकम) का अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, बिजनेस नेपाल प्राली (क्यापिटल नेपाल डटकम) की सञ्चालक अनिता राजभण्डारी, देशसञ्चार प्राली (देश सञ्चार डटकम) का अध्यक्ष रविन दाहाल, इन्टर एन्ड कम्युनिकेसन टेक्नोलोजी प्राली (हाम्राकुरा डटकम) का कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, नेपाल लाइभ पब्लिकेसन प्राली (नेपाल लाइभ डटकम) का अध्यक्ष अनिल न्यौपाने, डिस्कभरी न्यूज नेटवर्क प्राली (राटोपाटी डटकम) का सञ्चालक अर्जुन पन्त तथा शिलापत्र मिडिया नेटवर्क प्राली (शिलापत्र डटकम) का सञ्चालक सुरेश सिम्खडा रहेका छन् ।

संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्राली (हिमाल खबर डटकम)का अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्यूज नेटवर्क प्राली (रातोपाटी डटकम) का संस्थापक ओम शर्मालाई सल्लाहकारमा चयन गरेको छ ।

२०८० असोज २९ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयबाट गैरनाफामूलक कम्पनीका रूपमा दर्ता नं ३२२०८३ को प्रमाण पत्र प्राप्त गरेको संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने उद्देश्य लिएको जनाएको छ ।

डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बर्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहितासमेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेका छन् ।

सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन् । 

साथै आबद्ध संस्थाका सम्पादकहरूको न्यूनतम् शैक्षिक योग्यता स्नातक तह रहेको छ । नयाँ बन्ने सदस्यहरूका लागि पनि उल्लेखित शर्तहरू अनिवार्य हुनेछन् । 

संस्थाको विधानका शर्तहरू पूरा गर्ने संस्थाहरूलाई डिजिटल मिडिया सोसाइटीको सदस्य बन्न आवेदन खुला राखिएको पनि विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ