काठमाडौँ । पछिल्लो समय काठमाडौँमा डेंगी संक्रमणका बिरामी बढेका छन् । पछिल्ला आठ दिन मात्रै उपत्यकाभित्र एक सय ५७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
जसमध्ये काठमाडौँमा एक सय २६ , ललितपुरमा ३० र भक्तपुरमा एक जना संक्रमण पुष्टि भएको छ। यसअघि संक्रमितको सङ्ख्या कम थियो ।
यो तथ्याङ्कले काठमाडौँमा संक्रमण अस्वाभाविक रूपमा बढ्दै गइरहेको देखाउँछ। अघिल्लो महिना भदौमा काठमाडौँमा दुई सय ३०, ललितपुरमा ४९ र भक्तपुरमा एक सय १० गरी तीन सय ८९ जनामा संक्रमण देखिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले अहिलेको अवस्थामा डेंगी संक्रमण बढ्दै गए संक्रमितको सङ्ख्या अझ उच्च हुने जनाएको छ ।
एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखा पर्दछ । नेपालमा डेंगी संक्रमण देखा पर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।
मनसुन सकिए लगत्तै डेंगी संक्रमण पनि बढ्दो क्रममा छ, तर यसको रोकथाम प्रयास निकै कमजोर भएको छ । डेंगी संक्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेंगी संक्रमणका बिरामी बढिरहेका छन् ।
असोज पहिलो सातासम्म सबै वडामा संक्रमित शून्यको अवस्थामा रहेका थिए । कामपाको तथ्याङ्कअनुसार अहिले कामपाको विभिन्न वडामा गरी एक सय ५७ संक्रमित रहेका छन् ।