arrow

पाँच हजारबाट शुरु भएको रिचाको व्यवसायमा लाखौँको लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
Richa.jpg

बाँके । “अरुको काम गरेर पैसा कमाउनु र सानोतिनो भए पनि आफ्नै व्यवसायबाट पैसा कमाउनुमा धेरै फरक हुँदोरहेछ”, यो भनाइ हो, नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदो निवासी जेडि कलेक्सनकी सञ्चालक रिचा लुइँटेलको ।

सानै भए पनि आफ्नै व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोँचले रिचाले गत वर्षको पुसदेखि सौन्दर्य सामग्रीको व्यापार शुरु गरिन् । तत्कालीन समयमा रु पाँच हजार लगानीमा व्यापार शुरु गर्दा एउटै सामान बिक्रीबाट दुईदेखि दुई सय ५० सम्मको फाइदा भएको उनले बताइन् ।

“शुरुमा सानो पुँजीमा पाँच वटा जति गहना किनेकी थिएँ । त्यो जम्मा पाँच हजारको थियो”, उनले भनिन्, “एउटा गहनाबाट त्यतिखेर दुई सय ५० सय जतिको नाफा भएको थियो । त्यसमा पनि मैले जम्मा तीन वटा बिक्री गरेँ भने बाँकी दुई वटा साथीलाई उपहार दिएँ ।”

विगत दुई वर्षदेखि निजी अस्पतालमा प्रशासनिक फाँटमा काम गर्ने उनको तलब मासिक ३५ हजार थियो । तर उनी त्यो कामबाट सन्तुष्ट भएनन् ।

आफ्नै लगानीमा र पहिचानमा केही गर्नुपर्छ भन्ने सोचले रिचाले घरबाटै ‘आर्टिफिसियल ज्वेलरी’को व्यापार गर्न शुरु गरिन्।

जुन नेपालगञ्जमा एकदमै नयाँ थियो ।

“अरुको भन्दा फरक केही गर्नुपर्छ भन्ने मनमा सधैंँ लागिरहन्थ्यो । त्यो फरक मैले नेपालगञ्जमा आर्टिफिसियल गहनाको व्यापार नै देखेँ”, उनले भनिन्, “यो व्यवसायको बारेमा धेरै अध्ययन गरेर मात्रै लगानी लगाउन सुरु गरेंँ र आफ्नै घरबाट यस्को शुरुआत गरेँ ।”

उनले व्यवसायको विज्ञापन फेसबुक र टिकटकलगायतका सामाजिक सञ्जालमार्फत गरिरहेकी छिन् ।

उनी टिकटकमा लाइभमार्फत सामानको विशेषता र मूल्य बताउँछिन् ।

रिचाका लागि टिकटक सामाजिक सञ्जालको एउटा निकै नै प्रभावकारी माध्यम बनेको छ ।

“अहिले टिकटकको जमाना भएकाले मैले पनि यसैबाट व्यापारको प्रचारप्रसार गरिरहेकी छु”, उनले भनिन्, “टिकटकबाटै व्यवसायको प्रचार गर्न निकै नै सजिलो मात्रै भएको छैन, व्यापार पनि बढेको छ ।”

हाल उनले मासिक १० लाखको कारोबार गर्छिन् ।

जसबाट रु एक लाख ५० हजारको हाराहारीमा नाफा हुने गरेको उनको भनाइ छ ।

“घरबाटै व्यवसाय गरिरहेकाले भाडा तिर्नुपर्दैन, बिहानैदेखि रातिसम्म उनको घरमा सामान किन्न आउनेको घुइँचो हुने गरेको उनले सुनाइन् ।

हिजोआज रिचालाई घरमै आएका ग्राहकलाई सामान बेच्नदेखि अनलाइन अर्डर गरेका सामान कुरियर गर्न भ्याइनभ्याइ हुने गरेको छ ।

महिला आर्थिक रुपमा आत्मनिर्भर हुन आवश्यक छ भन्ने मान्यता राख्ने रिचालाई गत वर्ष फागुनमा महिला उद्यमी सङ्घ बाँकेको आयोजनामा सम्पन्न पाँचदिने मेलाले निकै सहयोग गरेको थियो ।

व्यवसाय शुरु गरेको केही समयमै महिला उद्यमी सङ्घको व्यापार मेलाले रिचाको आर्टिफिसियल गहनाको व्यापारलाई चिनाउन सहयोग पुर्‍यायो ।

उनका अनुसार उक्त मेलामा रिचाले ६५ हजारको लगानीबाट एक लाख ३० हजारको आम्दानी गरेकी थिइन् ।

“त्यतिबेला भखैरै व्यापार शुरु गरेकी थिएँ । त्यो मेला मेरा लागि एउटा सुनौलो अवसर थियो”, उनले भनिन्, “मैले तत्कालीन समयमा जोखिम लिए ६५ हजार लगानी गरेकी थिएँ तर नसोचेकै फाइदा भयो । मैले  एक लाख ३० हजारको आम्दानी गर्न सफल भएकी थिएँ ।”

दुई सन्तानकी आमा रिचाले दुई छोराको नामबाट जेडी कलेक्सन नाम राखेकी छिन्।

रिचा मागअनुसार नेपालको पूर्वी जिल्ला झापादेखि पश्चिमको महेन्द्रनगरसम्म कुरियरमार्फत सामान पठाउने गर्छिन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ