arrow

वीपी साहित्य सम्मेलन

वीपीले लिएको मेलमिलापको नीति उचित हो, गल्ती राजाले गरेः डा. भट्टराई

कुटनीतिक क्षेत्रमा वीपीको योगदानलाई सम्मान छ –प्रदीप ज्ञवाली, चीन र भारतसँग समान सम्बन्ध राख्ने क्षमता वीपीले राख्छन् –अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
bp-sahitya-baburam-pradip-narayan-2080-05-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कुटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको राजनीतिक दलका नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसले वीपीको ११०औं जन्मदिनको अवसरमा आइतबारबाट बीपीनगरमा आयोजित ‘वीपी साहित्य सम्मेलन–२०८०’ को दोश्रो दिन ‘अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा वीपी’ विषयमा मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वीपीले लिएको परराष्ट्र नीति सन्तुलित भएकाले आज पनि उत्तिकै उपयोगी भएको बताए ।

उनले भने ‘माक्र्स र गान्धीको विचारबाट प्रभावित भएका वीपीको विचारमा माक्र्सवाद र गान्धीको आर्थिक समाजवाद र अहिंसावादी व्यवहार झल्किन्छ । वीपीलाई २०१७ सालमा प्रधामन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेका हुन् ।’

उनले वीपी अग्रगामी, लोकतान्त्रिक र समाजवादी चरित्रको हुनुहुन्थ्यो भन्दै भारतमा आफ्नै मित्र ईन्दिरा गान्धीले संकटकाल लगाएको, सिक्किम भारतमा विलय भएको आदि कारणले राजासँग मेलमिलापको नीति लिएर वीपी नेपाल आएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले वीपीले राष्ट्रियताको विषयमा राजासँग मिलेर जान खोज्ने मेलमिलापको नीति सही भए पनि राजाले विश्वासघात गरेको जनाए । उनले वीपीले अँगालेको सो नीति सफल नभए पनि सही भएको बताए । 

उनले नेपालमा दलहरुबीच कुर्सीमा बाहेक सहमति नजुट्नु दुर्भाग्य भएको जनाए । उनले भने, ‘कोही ठूलो मान्छे बन्न खोज्छ भने उसले बल मिच्याइँ गर्छ भनेर वीपी भन्नुहुन्थ्यो ।’

नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले वीपीको व्यक्तित्व अन्तराष्ट्रिय क्षेत्रमा उच्च र सम्मानित अनि अतुलनीय थियो भन्दै वीपी पटनाबाट नेपाल आउँदा होस् वा राजाले प्रधानमन्त्रीबाट हटाउँदा वीपीको पक्षमा जनसमर्थन र अन्तराष्ट्रिय समर्थन कहिल्यै नदेखेको बताए ।

डा. खड्काले भने, ‘राजा महेन्द्रले वीपीलाई अपदस्त गरेपछि संयु्क्त राष्ट्रसंघको महासभामा जाँदा संयुक्त राज्य अमेरिकामा ९३ जना नोबेल प्राइज विजेताले विरोध गरेको घटना ऐतिहासिक छ ।’

डा. खड्काले  चीनका राष्ट्रपति माओ त्से तुङसँगको वार्ता, चीनका प्रधानमन्त्रीसँग सगरमाथा नेपालको हो भनेर दाबी पेश गर्ने वीपीले मुस्ताङमा नेपाली नागरिक मारिँदा माफी मगाइ क्षतिपूर्ति गराएको घटना कुटनीतिक क्षेत्रको महत्वपूर्ण योगदान भएको बताए ।

नेपालमा हालका राजनीतिक दल र नेताले परराष्ट्र क्षेत्रलाई प्राथमिकता नदिँदा, देशमा भ्रष्टाचारको इस्युमा वृद्धि भएको, भद्रगोल र अस्थिरता देखिँदा नेपालले अन्तर्राष्ट्रिय फोरममा आफ्नो भनाइ राख्न नसकेको बताए ।

नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सम्बन्ध राख्दा भारतविरोधी र भारतसँग सम्बन्धलाई निरन्तरता दिँदा चीन विरोधी हुनु पर्दैन भनेर लिएको अडान परराष्ट्र मामिलामा उल्लेख्नय भएको बताए ।

ज्ञवालीले भारत र चीनसँगको नेपालको सम्बन्ध राजनीतिक भन्दा व्यापारिक आधारमा हुनु पर्ने नीति लिएको, भारतको अनुचित दबाबलाई वीपीले अस्वीकार गरेको, भारतमै रहँदा प्रजातन्त्रको पक्षमा र नेपालमा आउँदा राष्ट्रियताको पक्षमा देखिने दोधारमा हुँदा वीपीले राष्ट्रियतालाई प्राथमिकता दिएको बताए । 

उनले वीपीसँगको राजनीतिक लाइनमा समर्थन जनाउन नसकिए पनि  कुटनीतिलाई सबै दलले र मुलुकले सम्मान गर्ने बताए ।

कुटनीतिक क्षेत्रकी जानकार इन्द्र अधिकारीले वीपीले संयुक्त राष्ट्र संघको १५औँ साधारण सभामा दिएको अभिव्यक्तिले वीपीलाई विश्व जगतमा चिनाएको बताइन् । 

‘वीपीले ठूला शक्ति राष्ट्रले युद्ध र हतियारमा लगानी गरिरहेको भन्दै त्यसको मार साना र अविकिसित देशमा परिरहेकाले धनी र ठूला राष्ट्रले विकासशील राष्ट्रलाई सहयोग गर्नुपर्छ भनेर माग गरेका थिए’, उनले भनिन् ‘सो अभिव्यक्तिबाट वीपीको उचाइ एक्कासी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव जमाउन सकेको थियो । 

प्रधानमन्त्री भएपछि चीनको भ्रमणको तयारी हुँदै गर्दा भारतीय प्रधानमन्त्री तथा मित्र जवाहरलाल नेहरुले चीनसँग वार्ता गर्ने विषयमा सुझाव दिँदा अस्वीकार गरेका थिए ।

उनले नेहरुको दबाबलाई अस्वीकार गर्दै नेपाल सार्वभौम र स्वतन्त्र देशको हैसितयमा आफ्नो कुटनीति र सम्बन्ध छिमेकीसँग राख्न सक्छ भन्ने जवाफले आफ्नो हैसियत देखाएको बताइन् । 

उनले चिनियाँ राष्ट्रपति माओ त्से तुङ र प्रधानमन्त्री चाउ एन लाईसँग वार्ता गरेर कुटनीतिक सम्बन्ध विस्तार गरेको स्मरण गर्दै चिनियाँ प्रधानमन्त्रीले गरेको सम्मानलाई आज पनि ऐतिहासिक रुपमा लिने गरिन्छ । 

सो कार्यक्रममा सुधिर शर्माले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको संयोजन पार्टी केन्द्रीय सदस्य नानू बास्तोला तथा श्रीबाबु कार्की र अमृत ज्ञवालीले गरेका थिए । 
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ