दुई पटक काल बेला परेको शनिदेवको प्रिय दिन कस्तो रहला ?
ज्यो. हरि पन्त,
प्रकाशित २०८० साउन १३ शनिबार
658
Shares
आजको पञ्चाङ्ग
मिति २०८० साउन १३ गते शनिबार, इस्वीसंवत जुलाइ २९ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिकश्रावणशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज अधिकश्रावणशुक्लपक्षको एकादशी तिथि दिनमा ३ः०३ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ । नक्षत्रमा अनुराधा अहोरात्र रहनेछ । विष्कुम्भादि योगमा शुभ १३ घटि ०६ पलासम्म त्यसपछि ब्रह्म योग लाग्नेछ । करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा प्रवर्द्ध रहनेछ ।
सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि ४३ पला अर्थात १३ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ०५ः२५ बजे विभिषण मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ६ः५५ बजे हुनेछ । यस्तै, चन्द्रउदय दिनमा २ः४४ बजे हुनेछ भने चन्द्रअस्त राति १२ः२९ बजे हुनेछ । आज विश्व बाघ दिवस तथा पद्यमिनी एकादशी व्रत गर्ने दिन परेको छ ।
आजको राशिफल
मेष : आज सुखद् वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतित हुनेछ । आन्तरिक सम्बन्धमा सुमधुरता आउने तथा साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ । आजको कुनै पल तपाईंका लागि भावुक समय बन्न सक्छ, तर परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ ।
वृष : आज सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निणर्य लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ ।
मिथुन : आज भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । प्रयासमा सफलता प्राप्त हुनेछ । मित्र र सहयोगीले पूर्ण सहयोग गर्नेछन् । बहुप्रतीक्षित अभिलाषा र इच्छा पूर्ति हुनेछ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला ।
कर्कट : आज व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । कर्तव्यप्रति सचेत हुने तथा जिम्मेबारी बोध हुने राम्रो दिन छ, सरकारी कामका माध्यमबाट लाभ लिन सकिने छ, अझ समाजसेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मानसम्मान पाउन सक्नुहुन्छ ।
सिंह : आज राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्न सक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । आटे, ताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ ।
कन्या : आज पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन, तर अचानक धनलाभ हुने सम्भावना छ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ ।
तुला : आज नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । कार्यक्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावना केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ, तर अहिले जुनसुकै कुरामा अरुले के भन्दैछन् भनी चासो दिनु राम्रो हुन्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकता उपर ध्यान दिनुपर्ने दिन हो ।
वृश्चिक : आज विपरीत लिङ्गीसँगको सम्बन्धमा उतारचढाव आउने दिन हो । वासनाजन्य विचारले दुःखित तुल्याउने भएकाले आचरणमा रहने कोशिस गर्नुपर्छ । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ ।
धनु : आज अनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ ।
मकर : आज आक्रामक व्यवहारका कारण आफन्त वा शुभचिन्तकमा गलत प्रभाव पर्नसक्छ, मित्रहरूद्वारा समेत तपाईंको क्रियाकलापको आलोचना हुनसक्छ । त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन ।
कुम्भ : आज धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ, रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ, प्रतिभा र सीपको कदर हुनेछ । महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । आत्मबल र हिम्मतका साथमा काम गरेमा महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ, कुनै कुरामा दुविधा भएमा सहकर्मीको साथ लिंदा झन राम्रो हुनेछ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ ।
मीन : आज कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।
साइत : साइतः सूर्य कर्कट राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला
बिहान ०५ः२४ बजेदेखि ०७ः०६ बजेसम्म काल बेला
बिहान ०७ः०६ बजेदेखि ०८ः४७ बजेसम्म शुभ बेला
बिहान ०८ः४७ बजेदेखि १०ः२८ बजेसम्म रोग बेला
बिहान १०ः२८ बजेदेखि १२ः१० बजेसम्म उद्धेग बेला
दिनमा १२ः१० बजेदेखि १ः५१ बजेसम्म चर बेला
दिनमा १ः५१ बजेदेखि ३ः३३ बजेसम्म लाभ बेला
दिनमा ३ः३३ बजेदेखि ५ः१४ बजेसम्म अमृत बेला
साँझ ५ः१४ बजेदेखि ६ः५५ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ९ः३० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।