arrow

चिनियाँ नाका रसुवागढीबाट १३ सय सवारी साधन भित्रिए 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
Rasuwa gadhi.JPG.jpeg

रसुवा । चिनियाँ नाका रसुवागढीबाट १३ सय सवारी साधन नेपाल भित्रिएका छन् ।  चीनमा निर्मित साना ठूला गरी कूल एक हजार दुई सय ८९ थान सवारी साधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ । 

व्यापारीले चीनबाट आयात गरेका केही सवारीसाधन भने भन्सार हातामै रहेको र भन्सार प्रक्रिया पुर्‍याइ छुटाउने कार्य भने क्रमिक रूपमा अगाडि बढिरहेको जनाइएको छ ।

नेपाली व्यापारीले आयात गरेका सवारीसाधनको मात्र मूल्याङ्कन गर्ने हो भने तीन अर्ब ८९ करोड ४२ लाख बराबरको हुन आउँछ ।

 कोरोना सङ्क्रमणपश्चात् गत चैत १८ गतेदेखि अर्थात् अप्रिल महिनाको १ तारेखदेखि नेपाली कन्टेनर सिधै केरूङ जान पाएपछि रसुवागढी नाकाबाट दुई हजारभन्दा बढी मालवाहक नेपाली ट्रक कन्टेनरले सामान बोकी केरूङ-काठमाडौँ ओेहरदोहर गरिसकेका छन् ।

गत वर्षको फागुनसम्म प्रायः शून्य रहेको निर्यात चैत १८ यता क्रमिक रूपमा बढ्न गई रु एक अर्ब ४३ करोड दुई लाख बराबरको नेपाली माल वस्तु चीनतर्फ निर्यात भएको छ । 

चीनतर्फ निर्यात भएका माल वस्तुमा चाउचाउ, धातु, तामा तथा आल्मोनियमका भाडा, ऊनी गलैँचा, कार्पेट, नक्कली गहना, फलामे भाडा, डस्ना, नक्कली कपाल, अगरबत्तीलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

तयारी कपडा, जुत्ता, चप्पल, सवारी साधन, मोबाइल, टेलिफोन, हाते झोला, सुति कपडा, मेशिनरी पार्टस, बिजुलीका तार सयौँ प्रकारका सामग्री चीनबाट आयात भएको छ । सो अवधिमा रू २९ अर्ब ९० करोड ४५ लाख बराबरको सामग्री नेपाल आयात भएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी दिए । 

यस नाकाबाट दश लाख केजी दाँते ओखर आयात भएको छ । अन्य आयात सामग्रीमा अप्टिकल फाइबर केबुल, मोटर्स पार्टस्, चस्मा, बिजुलीका तार, मेशिनरी पार्टस्का साथै स्याउ, लसुन रहेका छन् । प्रमुख भन्सार अधिकृत पाठकका अनुसार नियमानुसारको मूल्याङ्कनबाट भन्सार शुल्कबापत रू आठ अर्ब २४ करोड ८३ लाख राजस्व असुली भएको छ ।

वर्षायामको बाढी पहिरो जस्ता समस्याले सडक मार्ग बिग्रने भएका कारण साउन भाद्र महिनाको ढुवानीमा भने केही मात्रामा कमी आउन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ