arrow

फ्रान्स र यूएईको भ्रमणमा निस्कदै नरेन्द्र मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
narendra-modi-pm-india-2023.jpg
तस्बिर – फाइल ।

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसै साता फ्रान्स र संयुक्त अरब इमिरेट्स (यूएई) को औपचारिक भ्रमण गर्ने भएका छन् । 

प्रधानमन्त्री मोदीले यही असार २८ र २९ गते फ्रान्सको भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । बास्टिल डे अर्थात् राष्ट्रिय दिवसका अवसरमा आगामी शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहका विशेष अतिथिका रुपमा उनी सहभागी हुनेछन् । 

 फ्रान्समा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति इमानुएल म्याक्रोसँग औपचारिक वार्ता गर्नेछन् । भारतीय विशिष्ट अतिथिको सम्मानमा राष्ट्रपति म्याक्रोँले विश्वको सबैभन्दा ठूलो लुभ्र सङ्ग्रहालयमा रात्रिभोजको आयोजना गर्नेछन् । 

यस वर्षको ‘नमस्ते फ्रान्स’ महोत्सवमा भाग लिने भारतीय कलाकारलाई भेट्नु अघि दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने कार्यक्रममा प्रधानमन्त्री मोदी सहभागी हुनेछन् भने परम्परागत बास्टिल डे सैन्य परेडमा पनि सामेल हुनेछन् । 

भारतीय वायु सेनाको एउटा ठूलो टोली पनि परेडमा सहभागी हुनेछ ।

प्रधानमन्त्री मोदीले फ्रान्सका प्रधानमन्त्री, सिनेटका राष्ट्रपति र फ्रान्सको राष्ट्रिय सभाका सदस्यहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनले फ्रान्समा रहेका भारतीय डायस्पोरा, भारतीय र फ्रान्सेली कम्पनीका सीईओ र फ्रान्सका प्रमुख व्यक्तित्वहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

फ्रान्स र भारतबीच रणनीतिक साझेदारीको २५ वर्ष भएको छ । द्विपक्षीय रणनीतिक साझेदारीको रजत महोत्सवका सन्दर्भमा दुई देशबीच रक्षा र ऊर्जासहित धेरै क्षेत्रमा व्यापार सम्झौता वार्ता हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ