arrow

सडक परिघटना शून्य अभियान

दुई पाङ्ग्रेसँग होसियार

logo
डा बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० असार १६ शनिबार
article-badriprakash-ojha-2080-03-16.jpg

तपाईहरुमध्ये धेरैले सवारी साधन चलाउनुहुन्छ होला । कसैकसैले सवारी साधन चलाउने अनुमति पत्र अथवा लाइसेन्स नलिई पनि चलाउनु भएको होला । यदाकदा यस्तो पनि देखिन्छ । यदि लाइसेन्स बिना सवारी साधन चलाउने गर्नुभएको भए अहिले नै यो काम बन्द गर्नुहोस् । यसले तपाईको मात्र होइन सडक पार गर्नेको पनि ज्यानको जोखिम बढाउँछ । यदाकदा स–सानो र छेउँछाउँमै हुने कामका लागि लाइसेन्स नभएका घरका सदस्यहरुलाई बाइक वा स्कुटर दिएर काममा लगाइन्छ होला, होइन ? यो सर्वथा खतरा हो । 

एउटा सानो उदाहरण दिउँ । एकजनाले छिमेकका एउटा १६,१७ का भाइलाई स्कुटर दिएर काममा पठाए । भाइले पनि स्कुटर चलाउँन पाउँने लोभमा काममा जान स्वीकार गरे । काम लगाउँनेले बहिनीको स्कुटर दिएर काममा पठाएका थिए । बाटोमा स्कुटरले बालकलाई ठक्कर दियो र उसको ठाउँका ठाउँ ज्यान गयो । 

चालक भाइ परे आजन्म काराबासमा । कारण उनको लाइसेन्स थिएन । उनी ज्यान मुद्दामा परे । जसले काम लगायो, उ ज्यान मार्न उक्साएको मुद्दामा फस्यो । जसको स्कुटर थियो, उनी लाइसेन्स बिनाको नाबालकलाई अनाधिकृत रुपमा सवारी साधन उपलब्ध गराएकोमा जेल परिन् । यहाँनिर सवारी साधन चालक अनुमति पत्रको महत्व थाहा हुन्छ । 

अर्को कुरा हाम्रा मान्छेहरुले पटक्कै बुझ्न नसकेको कुरो हो हेलमेट र सेफ्टी बेल्टको प्रयोग । हेलमेट आफ्नै खप्परको सुरक्षाका लागि हो भन्ने कस्तो नबुझेको ? तपाइँको खप्पर ट्राफिक प्रहरीले जगाइदिनुपर्ने ? खास भन्ने हो र कानुनको कुरा गर्ने हो भने दुईपांग्रे सवारी साधन चलाउँने र त्यसमा यात्रा गर्ने सबैले हेलमेट लगाउँनु अनिवार्य  छ । नेपालमा त्यसमा पनि काठमाडौं उपत्यकामा एकपटक लागू पनि भयो तर खप्परमाथिको राजनीति हुने हाम्रो जस्तो ठाउँमा सरकार परिवर्तनपछि प्रहरीलाई हतोत्साहित गरियो र पछाडी बस्नेले हेलमेट नलगाए पनि हुने बनाइयो । ट्राफिक सुरक्षाको जिम्मा प्रहरीको ठेक्काजस्तो मानिन्छ । मिलेसम्म मन्त्री नै उल्लंघन गर्न उद्दत हुन्छन् । 

अर्को कुरो हो दुईपांग्रे चलाउँनेको मति र गति । हाम्रा सडकमा मोटरबाइक वा स्कुटर चलाउँनेले कुन लेन प्रयोग गर्ने वा कुन दिशाबाट ओभरटेक गर्ने भन्ने जानकारी नै छैन र भए पनि लापरवाही गर्दछन् । यसैकारण विश्वमा रोडक्र्यासमा मर्नेमध्ये ५ देखि २९ वर्षका मानिसको संख्या बढी छ । त्यसमा पनि २५ वर्ष मुनिका पुरुषको संख्या ७३ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले बताउँछ । सबैभन्दा बढी ट्राफिक नियम उल्लंन गर्ने उमेर पनि यही हो ।

खास गरी १६ देखि २५ वर्ष उमेर समूहका युवकहरु दुई पांग्रे सवारी साधन बढी चलाउँछन् र उनीहरु गति पनि असिमित पार्दछन् । विश्व स्वास्थ्य संगठनको सन् २०१६ को तथ्यांक अनुसार विश्वमा हुने रोडक्र्यासमा ज्यान गुमाउँनेमध्ये ३० प्रतिशत दुई वा तीन पांग्रे सवारी साधनका चालक, यात्री वा तिनले दिएको ठक्करको मार सहनेहरु पर्दछन् । विश्वमा वार्षिक १३ लाख मानिसले सडक असुरक्षाकै कारण ज्यान गुमाउँछन् । हरेक २३ सेकेन्डमा एकजनाको ज्यान गइरहेको छ । यसरी ज्यान गुमाउँनेमध्ये हरेक १० जनामा नौजना गरिब मुलुकका मानिस पर्दछन् । ती मुलुकमा विश्वमा चलाइनेमध्ये आधा पनि सवारी साधन पर्दैनन् तर ज्यान गुमाउँनेमध्ये ९० प्रतिशत त्यहीका पर्दछन् । 

विश्व स्वास्थ्य संगठनले विश्व बैंकलगायतका चारवटा संस्थासँग मिलेर नियमित रुपमा सडक परिघटनाबारे अध्ययन गर्दैआएको छ । उसको अध्ययन अनुसार सन् २०१३ देखि २०१६ भित्रमा विश्वमा दुई वा तीन पांग्रे सवारी साधन दुर्घटनामा पर्ने क्रम २३ प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको थियो । सोही अवधीमा सबैभन्दा बढी दक्षिणपूर्वी तथा दक्षिण एसियामा त्यस्ता सवारी साधनमा ज्यान गुमाउँनेको प्रतिशत ३४ बाट बढेर ४३ पुगेको थियो । विश्वमा सबैभन्दा बढी दुई वा तीन पांग्रे चलाउँने दक्षिण पूर्वी तथा दक्षिण एसिया हो ।

अफ्रिकामा नौ प्रतिशत, दक्षिण कोरियामा २०, अस्ट्रेलियामा १९ प्रतिशत दुई वा चार पांग्रे सवारी साधन सडक परिघटनामा पर्दछन् । यही क्रम विश्वमै सबैभन्दा बढी थाइल्यान्डमा ७३ प्रतिशत र कम्बोडियामा ७४ प्रतिशत छ । अरु देशहरुमा २५ वर्ष मुनिका मानिसहरु बाइक तथा स्कुटर क्र्यासमा पर्ने बढी भए पनि जापान र दक्षिण कोरियामा भने ६५ वर्षमाथिका चालक तथा यात्रीमध्ये दुई पांग्रे सवारी क्रयासमा मर्नेको दर ४४ प्रतिशतसम्म देखिएको छ । 

यस्ता परिघटनाहरुमा बाइक चालकको मात्र दोष हुँदैन । सडकको बनावटले पनि फरक पार्दछ । बढी घुम्ती, ठाडो घुम्ती र चिप्लो सडकमा बाइक अझ बढी लड्छ । यसैगरी बाटो किनारमा रहने सोल्जरको बनावट, सडकको सतहमा पैदा हुने घर्षणको अवस्था, घुम्तीको बनावट तथा यसको परिधी, ठाडो तथा तेस्रो शंकेत रेखाहरु, धुमाउने अवस्था आदिले बाइकवालालाई परिघटनामा पार्नसक्ने अध्ययनहरुले देखाएका छन् । यसैगरी अन्य सडक प्रयोगकर्ताको गति सिमित पार्ने प्राविधिमा कमी, बाढी पहिरो आदिको शंशेतस्वरुप राखिने वस्तुहरु आदि पनि बाइकका लागि नकारात्मक वस्तु मानिएका छन् । 

संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययन अनुसार एउटा सडकको घुम्तीको परिधी चार सय ६० मिटर र अर्को सडकको घुम्तीको परिधी १२ सय ४० मिटर भएको ठाउँमा तुलना गरेर हेर्दा चौडा सडकमा क्र्यासको मात्रा ७ प्रतिशतले कमी आएको पाइएको छ । त्यस्तै परिघटनाका अन्य कारणमा चालकको उमेर, मादक पदार्थ तथा लागु औषधको मात्रा, साताको अन्त्य वा बिजनेस डे कुन दिन चलाइएको हो, उ कस्स्तो मानसिक संवेगमा छ, मोटर बाइकको गति , सडकको भिजिबिलटी आदिलाई मध्यनजर गरिएको थियो । 

बाइक चालकहरु घाइते हुने वा मर्नेबारे चीनको हेनान सहरमा अध्ययन गर्दा भने पघिटना सूचकहरु फरक राख्नुपरेको थियो । चीनमा गरिएको यस अध्ययनमा चालक, वातावरण र सवारी साधनको अवस्थालाई मूख्य आधार मानिएको थियो। त्यहाँका पहिलो, दोस्रो र तेस्रो दर्जाका राजमार्गमा भन्दा सहरी सडकमा बाइक चालकले कम दुख बेहोर्नुपरेको थियो । 

सडकको सतहले पनि बाइक चालकलाई दुख दिन्छ । यी दुख दिने वस्तुहरुमा सडकको सतह खस्रो हुनु, सडक हल्का भासिएको अवस्था,सडक छेउबाट पैदलयात्री हिँडने व्यवस्था, ढल वा बिजुलीको तार बिछेयाइएको ठाउँमा नीरिक्षणका लागि राखिएको गोलाकार वस्तु, गति सिमित पार्न राखिएको डिस्को,ढल आदि पर्दछन् । यस्तै सडक किनारमा राखिएको शंकेत, विज्ञापनका बोर्डहरु, ढल आदि पनि बाइक चालकका दुखका कारणमा पर्दछन् । यस्ता वस्तहरु  भएका ठाउँमा हुने बाइक क्र्यास अन्य सामान्य सडकमा हुनेभन्दा १४ प्रतिशत बढी घातक हुने अध्ययनहरुले देखाएका छन् । 

भिजेको सडकमा मोटर बाइक चलाउनु आफैँमा खतरनाक कार्य मानिन्छ । त्यसमा पनि चाकलले झुकेर बाइक चलाउनुपर्ने गरी डिजाइन गरिएको बाइक छ भने घुम्ती तथा बाटोमा आइपर्ने अवरोधमा पल्टिने संभावना बढी रहन्छ । मोटर साइकल चालक तथा यात्रु दुवैले सुरक्षाका उपाय अवलम्वन गर्न सक्ने अवस्था अन्य सवारी साधनका तुलनामा बाइकमा कम हुन्छ । परिघटनामा यस्ता चालक र यात्रीको ज्यान जाने अर्को पनि एउटा कारण हो ।

यसैगरी तिव्र गतिमा चलाइएको बाइक असन्तुलन भएमा चालकले बे्रक पनि पूर्ण रुपमा लगाउँन सक्दैन र क्र्यास हुने संभावना रहन्छ । बाइक क्र्यासमा परेका चालक वा यात्रीको अध्ययनबाट सबैभन्दा बढी टाउकैमा चोट लागेको पाइएकाले हेलमेट अनिवार्य गरिएको हो । त्यसपछि दोस्रो भाग शरीरको बीच भाग छाति, पेट, ढाड पर्दछ । यस्ता अंगहरुको सुरक्षा गर्ने व्यवस्था बाइक वा स्कुटरमा नहुने भएकाले अन्य सवारी साधनका तुलनामा दुई पांग्रेमा मानिसको ज्यान जाने संभावना बढी हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ