बुटवल। मुख्य भन्सार नाकाहरुमा घरायसी किनमेलका लागि भारतीय बजार पुग्ने सर्वसाधारणबाट एक सयको सामानमा राजश्व असुलिरहँदा रुपन्देहीका सहायक नाकाहरुबाट चोरी–तस्करी गर्न छुट दिइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीकै मिलेमतोमा सहायक नाकाबाट तस्करीका सामानहरु नेपाल आएका हुन् । यसरी तस्करी हुँदा डिउटा आवरमा रहेका प्रहरीलाई जानकारी नभए मात्र उनीहरुले सामान बरामद गर्ने गरेको तर डिउटीमा रहेका प्रहरीलाई अग्रीम खबर भएमा त्यस्ता सामान सहजै नेपाल आउने गरेको स्रोतले जनाएको छ ।
नाकाबाट छिरेर आएका केही सामानलाई बजार क्षेत्रका प्रहरीले बरामद गर्ने गरेको पाइएको छ । जेठ २२ गते झण्डै ७ लाख मूल्य बराबरको अवैध टायल प्रहरीले लुम्बिनी बजार क्षेत्रबाट बरामद गर्यो ।
उक्त सामान बोकेको लु १ च ३५२२ नम्बरको बलेरो पिकअप गाडी नाका क्षेत्रका सबै सुरक्षा पार गरेर लुम्बिनी बजारमा आइपुगेको बेला प्रहरीको एउटा टोलीले बरामद गरेको थियो ।
त्यसैदिन साढे ४ लाख मूल्य बराबरको अवैध टायल प्रहरीले भैरहवाको बजार क्षेत्र आवारोडबाट बरामद गरेको थियो । उक्त सामान भैरहवाकै एक जना व्यापारीको थियो । तर पछि त्यो टायललाई भने गुपचुपमा छाडिएको स्रोतको दाबी छ ।
त्यस्तै जेठ २३ गते भारतबाट भन्सार छली ल्याइएका ८ लाख ३० हजार बढी मूल्यका ३७ थान मोबाइल बुटवलको राजमार्ग चौराहबाट बेवारिसे बरामद गरेको थियो ।
रेडमी, सामसुङ, ओपो, भिभो, नोकिया लगायत ९ वटा कम्पनीका ३७ थान मोबाइल भैरहवाबाट काठमाडौँका लागि छुटेको बसबाट प्रहरीले बरामद गरेको थियो । त्यो पनि भन्सार नाका सबै पार गरेर ल्याइएको थियो ।
अवैध मोबाइल तस्करले सजिलै बोर्डर कटाएर बुटवल ल्याएपछि बल्ल प्रहरीले समातेको हो । बरामद सामान (मोबाइल) भन्सार चलान गरेपछि मुद्दा सामसुम पारिएर मिलाइएको थियो ।
वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलको टोलीले बरामद गरेको ती मोबाइलबारे प्रहरीले अहिलेसम्म केही बताउन चाहेको छैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकै मिलेमतोमा भन्सार बुझाइएको र त्यही अनुसार लिइएको स्रोतको दाबी छ । यसमा भैरहवा भन्सारका प्रमुख मनिराम पौडेलको पनि मिलेमतो रहेको स्रोतले जनाएको छ ।
जेठ ३१ गते प्रहरीले धकधही क्षेत्रबाट साढे ७ लाख मूल्यका अवैध सामान तथा रासायनिक मलसहित एक जना भरियालाई नियन्त्रणमा लिएर भन्सार चलान गरिदियो ।
अवैध मल भैरहवा, बुटवल पठाउने तयारी हुँदै गर्दा लेनदेनमा कुरा नमिलेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो पछि मिलेमतोमा छाडिदिएको स्रोतको दाबी छ ।
जेठ पहिलो साता ४ लाख ४० हजारको बेवारिसे चिनी धकधहीबाट बरामद गरियो । जेठ ४ गते साढे २ लाख मूल्यका अवैध चल्ला बरामद गरी प्रहरीले नष्ट गर्यो ।
केही महिनाअघि बुटवलको एक घरमा स्टोर गरिएको लाखौंका अवैध सामान बेवारिसे बरामद भएका थिए । बेरोजगार युवा, महिला तथा बालबालिकालाई पटके तस्करीमा लगाएर अवैध सामान भैरहवा, बुटवल, नवलपरासी, चितवन, पाल्पा, गुल्मी सम्म सप्लाइ गर्ने क्रम विगत देखि चलिरहेको छ ।
भन्सार, सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरु भने अवैध सामान बरामदीको तथ्याङ्क देखाएर तस्करी नियन्त्रण भएको बताएपनि उनीहरुको मिलेमतोमा तस्करी मौलाउँदै गएको छ ।
सीमा क्षेत्र तथा मुख्य राजमार्गका सबै सुरक्षा संयन्त्र पार गरेर तस्करीका सामानहरु भैरहवा, बुटवल, पाल्पा, नवपरासी, चितवन पुगेपछि मात्रै तस्करीको सामान आएको बजार क्षेत्रले थाह पाउने गरेको छ ।
सीमा सुरक्षा सँगै चोरी पैठारी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्रले त सितिमिति वेवारीसे सामान भेट्दैन । सशस्त्रले ११ महिनामा २७४ पटक अवैध सामान बरामद गर्दा जम्मा ६ वटामा वेवारीसे सामान बरामद गरेको थियो । उसले २६८ वटा केशमा सामान बेवारिसे फेला पार्यो ।