arrow

सडक परिघटनाबारे पनि बोलिदिने कि माननीयज्यू !

logo
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०८० असार ९ शनिबार
article-badriprakash-ojha-2080-03-09.jpg

रोडक्र्यास हुँदै नहुनु अति उत्तम । यसले जन र धन दुवैको क्षति गर्दछ । यसले सडक जाम गर्दछ । सन् २०२० मा नेदरल्यान्ड्समा गरिएको एक अध्ययन अनुसार त्यहाँ रोडक्र्यासपछि हुने सबै किसिमका खर्चमा औषत वार्षिक २७ अर्ब युरो लगानी हुन्छ । नेपालको मूल्यमा त ३० खर्बभन्दा बढी नै हो । जो हाम्रो बजेटको करिब दुई गुणा हो । 

यस्तै सडक परिघटनापछि उत्पन्न हुने जामले वार्षिक ३.५ देखि ४.५ अर्ब र वातावरणीय क्षति करिब ७.३ अर्ब युरो बराबरको हुन्छ । अझ खतरनाक तथ्यांक के छ भने नेदरल्यान्ड्समा रोड क्र्यासबाट हुने हरेक मृत्युको मूल्य यदि पैसामा जोड्ने हो भने (यद्यपि ज्यानको मूल्य पैसामा तौलिन मिल्दैन, तैपनि पारिवारिक क्षतिपूर्ति र अन्य सामाजिक तथा आर्थिक मूल्यका आधारमा हिसाब गर्दा) हरेक मृत्युको मूल्य ६५ लाख युरो पर्दछ । जुन हाम्रो देशको मूल्यमा करिब ७० करोड हो । बीमाको सुविधा भएका कारण घाइतेको मूल्य भने प्रतिपरिघटना सात लाख युरो मात्र पर्दछ । हाम्रोभन्दा ठीक उल्टो । हाम्रोमा मानिस मरे कम क्षतिपूर्ति दिएर पन्छिन पाइन्छ भने बाँचे जीवनभर पाल्नुपर्दछ । 

सडक जामबाट धेरै आर्थिक नोक्सान हुन्छ भने समयमा अस्पताल जान नपाउँदा सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक आदिको ज्यान पनि जान्छ । समयमा औषधि तथा आहारा ख्वाउन नपाउँदा पशुपन्छीको ज्यान जान्छ । हामीले अहिलेसम्म चासो नै नराखेको विषय पशुपन्छीको बाँच्न पाउने अधिकार पनि एउटा हो । उसलाई हामीले दूध वा मासुका लागि नै पालेका हुन्छौँ । त्यसबाहेक मनोरञ्जक तथा शौख पूरा गर्न पनि पशुपन्छी पालिन्छ । 

तर उसलाई उपयुक्त समयमा आवश्यक आहारा नदिई पाल्नु कानूनी तथा मानवीय दृष्टिले गलत कार्य हो । त्यतिमात्र होइन, आवश्यक आहाराको कमी भई बाँचेका पशुपन्छीबाट प्राप्त हुने मासु वा दूधले हाम्रो शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्व प्रदान गर्दैनन् । अझ वनस्पति, त्यसमा पनि खाद्यान्न, तरकारीका बोट बिरुवालाई आवश्यक आहारा प्रदान नगर्ने तथा अनावश्यक रुपमा हार्मोन र विषादीको प्रयोगपछि उत्पादन भएका खाद्य वस्तुले हामीलाई आवश्यक पौष्टिक तत्व दिँदैनन् । 

विषय फेरि परिघटनामै सीमित गरौँ । हरेक भ्रमणका केही अंशमा हरेक व्यक्ति राजादेखि रंकसम्म पैदल यात्री हो । खुट्टाले हिँड्नेदेखि ह्विल चेयर वा वाकरमा हिँड्नेसम्म सबै यात्री कुनै न कुनै किसिमले पैदल यात्री बन्दछन् । खुट्टाले हिँड्नेहरु छोटो दूरी, पारिवारिक भेटघाट, स्विमिङ पुल, खेल्ने मैदान आदिमा जुनसुकै स्तरका मानिस पनि गच्छे अनुसार हिँड्छन् । 

सामान्यतया हिँड्ने मानिसहरु सडक पार गर्दा, सडक किनारा वा सडकमा हिँड्दा, सडकमा खेल्दा, फुटपाथ वा गाडी चल्ने गाउँमा हिँड्दा तथा सार्वजनिक याताबाट ओर्लदा वा चढ्दा पैदल यात्रा गर्ने मानिसहरु गाडीको ठक्करमा पर्न सक्छन् । यदाकदा पैदल यात्री साइकलको ठक्करमा पनि पर्दछन् । 

सामान्य रुपमा गाडीको गति ३० किलोमिटर प्रतिघन्टाभन्दा कम भए पैदल यात्री बालबालिका वा ज्येष्ठ भएकै खण्डमा पनि परिघटनामा मानिसको ज्यानै भने जाँदैन । त्यसैले यो गतिको सीमा राखिएको हो । यसमा मानिसको सामान्य गति र गाडीको गति, यसले दिने ठक्करको घनत्व आदिको विश्लेषण गरेर यो गति कायम गरिएको हो । सामान्य रुपमा गाडीको गति अनियन्त्रित भएमा, पैदल यात्रीका लागि फुटपाथ वा हिँड्ने भाग नभएमा, पैदलयात्री सडक पार गर्ने व्यवस्था नभएमा, सडकमा धेरै लेन भएमा, सडकमा सवारीको गति र आवतजावत अनियन्त्रित भएमा तथा सडकयात्रीका लागि ट्राफिक बत्ती नभएमा पैदल यात्रीमाथि गाडीले ठक्कर दिने खतरा बढ्दछ । 

यसैगरी मातेको चालक, थाकेको चालक, चालकले मोबाइल फोन चलाउँदै गाडी हाँक्दा, सवारी साधनमा सुरक्षाका उपाय अवलम्बन नभएको अवस्था तथा चालकले गाडीको स्टेरिङ, चक्का, बत्ती तथा ब्रेकजस्ता अत्याश्यक भागको समय समयमा जाँच गरी गराई चुस्त नराखेको अवस्थामा सडक यात्रीमाथि गाडीले ठक्कर दिन्छ । 

सवारी साधनले मानिसलाई ठक्कर दिने क्रम घटोस् भन्नका लागि विश्व समुदायले काम गर्दै आएको छ । यसको शुरुआत सम्बन्धित देशमा दुर्घटनाको मात्रा कति छ र तिनमा कति मानिसको ज्यान जान्छ भन्ने मूख्य हो । 

यसका लागि तथ्यमा आधारित तथ्यांक आवश्यक पर्दछ । नेपालमा यही कुराको समस्या छ । नेपाल प्रहरीले वर्षमा २५ सयको ज्यान गएको तथ्यांक दिन्छ । विश्व स्वास्थ्य संगठनले वार्षिक ५१ सय नेपालीको ज्यान जाने कारण सडक परिघटना भनेर उल्लेख गर्दछ । 

नेपाल घुम्न आएका विश्व बैंकका उपाध्यक्ष हारट्विग साफरले सन् २०२१ मा आफ्नो ब्लगमा लेखे, ‘यस्तो राम्रो देश जहाँ हरेक झ्यालबाट सुन्दर हिमाल देखिन्छ, यसको शौन्दर्यताको वर्णन नगरी सकिँन । तर यसैबेला सडकमा हिँड्ने पैदल यात्रीहरुको दुःखले मलाई  झस्कायो ।’ उनी त्यसबेला दक्षिण एसिया क्षेत्रकै नेतृत्व गर्दथे । 

उनको लेखमा सन् २०१९ मा नेपालमा १३ हजारवटा सडक परिघटनामा परी २७ सय मानिसले ज्यान गुमाएको तथ्य उल्लेख छ । ती क्र्यासमा परी १० हजार मानिस गम्भीर घाइते भई विकलांग भएको पनि उनले उल्लेख गरेका थिए । 

सन् २०१७ मा इन्टरनेसनल जर्नल अफ इन्भाएरोमेन्टल रिसर्च एन्ड पब्लिक हेल्थले नेपालमा गरेको अध्ययनअनुसार नेपालमा सडक परिघटनाबाट वार्षिक १२ करोड २८ लाख अ‍ेरिकी डलर बराबरको क्षति हुन्छ । 

यस जर्नललाई विश्वको सबैभन्दा पुरानो र विश्वासिलो मानिन्छ । क्षतिमध्ये ७५ प्रतिशत अथवा करिब साढे नौँ करोड डलर उत्पादन क्षमतामा क्षति हुन्छ भने करिब १५ प्रतिशत पीडामा खर्च हुन्छ । अथवा दुर्घटनामा पर्नेले भोगेको पीडालाई अध्येताहरुले करिब साढे अठार करोड वा १५ प्रतिशत क्षतिको अंक दिएका छन् । 

गैरउपचार खर्च करिब १२ करोड र प्रत्यक्ष उपचार खर्च मात्र १५ लाख अमेरिकी डलर मूल्यांकन गरिएको थियो । यसबाट हेर्दा करिब १४ अर्ब नेपाली रुपैयाँ देशभर वर्षभरि हुने दुर्घटनाले बोक्दछन् तर उपचार खर्च भने मात्र १५ लाख डलर अथवा बढीमा २० करोड रुपैयाँ मात्र जनताले पाउँछन् । 

उक्त अध्ययन अनुसार नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका मानिसको मृत्युको कारणमध्ये रोडक्र्यास पाँचौँमा पर्दछ । तर विश्वमा भने आठौँमा पर्दछ । यसबाट नेपालमा रोडक्र्यासको अवस्थाबारे जानकारी पाइन्छ । अध्ययनले नेपालमा सडकमा मानिसको ज्यान जाने क्रमलाई दुई लाख ९६ हजार वाईएलएल अथवा इयर्स अफ लस्ट अफ लाइफ मानेको छ । मानिसको उमेर वयष्क नभई मृत्यु हुने र मृत्युको क्रम जारी रहनुलाई विश्व स्वास्थ्य संगठनले वाईएलएलमा मापन गर्दछ । 

यस्ता विषयमा हाम्रा माननीयहरुले संसदमा कहिल्यै छलफल गरेका होलान् त ? माननीयहरुले उठाएका विषयमाथि प्रश्न होइन, बरु यो विषय पनि थपियोस् । यो गम्भीर विषय हो । वर्षमा यति धेरै मानिसको ज्यान जाने गरी हुने रोड क्र्यासलाई घटाउन संसदीय समितिहरुले पनि चासो राख्नुपर्दछ । 

आउनुहोस्, आ–आफ्नो क्षेत्रका माननीयहरुमार्फत यस विषयलाई संसदमा उठाउन दबाब दिऔँ । सडक सुरक्षा बढाऔँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ