arrow

गगनले बनाएको राजमार्ग र डाइभर्सनहरु

logo
सोमराज पोखरेल, 
प्रकाशित २०८० असार ३ आइतबार
article-somraj-pokharel-2080-03-03.jpg

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पार्टीभित्र रुपान्तरणको नारा लिएर देश दौडाहामा छन् । उनी निरन्तर पार्टीका निराश नेता तथा कार्यकर्ताहरुलाई भरथेग गरिरहेका छन् । यसको उद्धेश्य हो कि अब पार्टीमा रुपान्तरण हुन्छ, कुनै पनि कांग्रेसमा आवद्ध युवाले पार्टी छाड्ने सोच बनाउने छैनन्, देश बनाउने कांग्रेसले नै हो, अन्य पार्टीबाट पनि विश्वास जितेर धमाधम कार्यकर्ताहरु कांग्रेसमा होमिने छन्, पार्टीले फेरि संसदमा दोस्रो हुनु पर्ने छैन र कांग्रेसले एक्लै बहुमत ल्याएर सरकार चलाउने छ । 

गगनले कोरेको राजनीतिक राजमार्गमा उनी स्पष्ट छन् । उनले जसरी विद्यार्थी राजनीति थाले त्यसपछि हार भन्ने शब्द उनको डिक्सनेरीमा छैन भने पनि हुन्छ । कुनै हार त उनले भिडन्तमा उत्रनुअघि नै थाहा पाए पनि नजिर राख्नका लागि र लोकतान्त्रिक पार्टी बनाउनका लागि लडे । तर त्यो पनि उनको राजनीतिक मार्गचित्र (पोलिटिकल रोडम्याप) भित्रको एउटा पाटो हो । 

गगनले बनाएको राजमार्ग सहज थिएन र छैन पनि । तर उनको अडान अगाडि कुनै पनि डाइभर्सनहरु छन् भने ती आफैँ हटेर जान्छन् भन्ने प्रमाण उनले दिइसकेका छन् । र आगामी दिन पनि सजिला पक्कै छैनन् । ती कठिन दिनको सामना गर्न पनि तयार भएको प्रमाण उनले दिइरहेका छन् । 

उनले पार्टीले दिएको जिम्मेवारीबाट पन्छने काम गरेनन् । चाहे नेपाल विद्यार्थी संघको नेता हुँदा होस् वा नेपाली कांग्रेसको जिम्मेवार पदमा रहँदा होस् । जिम्मेवारी नपाउँदा पनि उनी मौन बस्दैनन् । त्यतिबेला उनी कांग्रेसका संस्थापक एवं महामानव वीपी कोइरालाले देखाएको मार्गमा चलिरहन्छन् । सम्भवतः निराशा नपाल्ने उर्जाकै कारण उनी राजनीतिको ठूलो पदमा पुग्ने नै छन् । तर यसमा पनि थुप्रै डाइभर्सनहरु पार गर्नुपर्छ । 

डाइभर्सन सधै तगाराका रुपमा आउँदैनन् । सडकमा ट्राफिकले बनाएको डाइभर्सनले थप दुर्घटना हुनबाट जोगाउन प्रयत्न गर्ने हो । डाइभर्सनबाट दुर्घटना त तब हुन्छ जतिबेला चालकले यसको हेक्का गर्दैन । जब तीव्र गतिमा गलत मार्गबाट सवारी गुड्छ तब डाइभर्सन नै दुर्घटनाको कारक बन्न सक्छ । गगनको राजनीतिक राजमार्गका डाइभर्सन भने अपत्यारिला छन् । कहिले चाहेर, कहिले नचाहेर र कहिले अनायास आइरहन्छन् । अनि जान्छन् पनि त्यसैगरी नै । 

गगनको राजनीतिक राजमार्गको दिशा स्पष्ट छ । पार्टीको सभापति बन्ने र देशको प्रधानमन्त्री भएर सत्ता चलाएर विकासको ढोका खोल्ने । यसका लागि उनी परिपक्व भइसकेका छन् । जसरी वीपी कांग्रेस बनाएर युवा अवस्थामै देशको पहिलो निर्वाचित प्रधानमन्त्री भए त्यसरी नै गगनको बाटो पनि परिपक्व अवस्थामा नै छ ।

त्यसो त गगन नेपाल विद्यार्थी संघ (नेवीसंघ) को महामन्त्री मात्रै भए । अध्यक्ष हुन पाएनन् । पार्टी नेतृत्वले त्यतिबेला सोच्यो उनलाई अध्यक्ष बनाइयो भने विद्यार्थी दस्ता आफ्नो नियन्त्रणमा रहँदैन । त्यसैले उनी महामन्त्रीमै सीमित भए । जति समय उनी नेवीसंघको पदाधिकारीमा रहे उनकै वरिपरि संगठन थियो । 

गगन कांग्रेसको केन्द्रीय सदस्य भए त्यो पनि सर्वाधिक मतसहित । उनले नेवीसंघमा छँदा कोरेको राजनीतिक राजमार्गले कांग्रेसमा पनि काम गर्यो । दोस्रो पटक पनि उनी केन्द्रीय सदस्य नै भए । फेरि उत्तिकै लोकप्रिय भएर । तेस्रो पटक उनी एकैपटक महामन्त्रीमा लडे । 

उनलाई सम्भवतः थाहा थियो कि उनले चुनाव जित्दैनन् । तर उनले त्यो अर्को पटकका लागि गरेको लगानी थियो । कसैले सोचे गगनले छिट्टै महामन्त्री पद खोज्दा उनको राजनीति सकिन्छ । तर हैन उनले त आफ्नो राजमार्गमा तेर्सिएको डाइभर्सनका कारण सवारीको गति कम गरेकामात्र थिए । 

दोस्रो पटकमा उनी लोकप्रिय मतका साथ पहिलो रोजाइको महामन्त्री बने । उनले आफ्नो पकडलाई मजबुद बनाए । उनलाई जसले हराउन खोजे तिनीहरु पनि झुक्न बाध्य भए । आखिर राजनीतिमा पद नै शक्तिशाली हुन्छ । गगनले देखाइदिए । उनको युवा जोशको शक्ति । 

गगन चौथो पटक संसदमा पुगेका छन् । उनले पहिलो पटक समानुपातिकबाट संसदमा पाइला चालेका थिए । त्यसपछि लगातार तीन पटक चुनाव नै जितेर संसदमा गएका छन् । उनलाई चुनावमा हराउनका लागि आफ्नै पार्टीका केही नेताहरु लागेको प्रसङ्ग पनि बाहिरियो । नेतृत्वले नरुचाएको चर्चा पनि चलाइयो । तर ती चर्चा वा हल्ला उनका लागि हावाका डाइभर्सन थिए । हावाका विचलन थिए । मतदाताले विश्वास गरेसम्म उनको त्यो यात्रा पनि रोकिने देखिँदैन । 

मतदाताले गगनलाई त्यसै विश्वास गरेका पक्कै हैनन् । यसका पछाडि उनको क्षमतालाई नै देखिरहेका छन् । उनले आफ्नो क्षेत्रमा गरेको कामको जश दिइरहेका छन् । गगन छोटो समय स्वास्थ्यमन्त्री हुँदा गरेका निर्णयहरु सही सावित भएका छन् । स्वास्थ्यका लागि उनले आफ्नो क्षेत्रमा चालेको कदम सफल भइरहेको छ ।  

गगन प्रतिस्पर्धामा विश्वास गर्छन् । त्यसैले उनले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरे । उनले जित्छु भनेर प्रतिस्पर्धा पक्कै गरेका हैनन् । जसरी पार्टीको १३ औँ महाधिवेशनमा महामन्त्रीमा लडेका थिए त्यसरी नै अहिले उनले आफ्नो राजनीतिक राजमार्ग बनाउनका लागि संसदीय दलको नेतामा देउवासँग भिडन्त गरेका थिए । 

मोडमोडमा गुटको चुनौतीः १३ औँ र १४ औँ महाधिवेशन केलाउँदा 
कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा गर्दा पनि पक्ष वा गुट बन्ने गर्छ । त्यसलाई हेर्ने हो भने गगनले विभिन्न गुट फेर्नु परेको छ । यसअघि महामन्त्रीमा हार्दा रहेको गुट र जित्दा रहेको गुट फरक छ । 

तर यो गुट उनले चाहेर बनेको वा चाहेर रोजेको पक्कै हैन । उनी आफ्नो राजनीतिक राजमार्गमा क्लियर छन् । टिम मिलेर अगाडि बढ्नु पर्छ भन्ने नै छ । त्यसैले गर्दा गुट वा समूहसँग जोडिन पुगेका हुन् । 

१३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला गुटमा थिए । उनले पनि हारे र सभापतिका उम्मेदवार सिटौलाले पनि हारे । १४ औँ महाधिवेशनसम्म आइपुग्दा सिटौलाको गुटमा विचलन आयो । अनि गगन स्वतन्त्र भए । त्यसपछि शेरबहादुर देउवा इतरको जुन सशक्त गुट हुन्छ त्यसलाई अगाडि लिएर जानेमा गगन लागे । 

खासमा १३ औँ महाधिवेशनमा तीन गुटले प्रतिस्पर्धा गरेको थियो । १४ औँमा आएर दुई वटामात्रै गुट बनाउने योजना रह्यो । सिटौला देउवातिर समाहित रहे । 

तर गगनहरु भएको गुटमा सभापतिका लागि अनावश्यक प्रतिस्पर्धा देखियो । संस्थापन इतरमा सभापतिका लागि रामचन्द्र पौडेल, डा. शशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंहबीच रस्साकस्सी चल्यो । त्यतिमात्र हैन सुजाता कोइराला पनि आफूले नछोड्ने भन्दै थिइन् । त्यसअघि नै कोइराला परिवारबाट एक जना उम्मेदवार बन्नुपर्छ भनेर सुजाता, शेखर र शशांकबीच पटक पटक छलफल भएको थियो । 

त्यो छलफलले निष्कर्ष नपाएपछि सुजाता पछि हटिन् । तर शशांक र शेखरले छाडेनन् । अनि खुलेआम जोडिए रामचन्द्र र प्रकाशमानसँग । चार जनामध्ये कोही पनि छाड्ने मनस्थितिमा नभएपछि शशांकले रामचन्द्रको नाममा सहमति होस् भन्दै आफू पछि हटे । 

तर प्रकाशमान र शेखरले पनि कुनै हालतमा नछाड्ने मनस्थिति बनाए । संस्थापन इतरको सभापतिमा सहमति नबन्दा त्यसपछिका पदाधिकारीमा तनाव हुनु स्वभाविकै रह्यो । गगनहरु सभापति सहमतिमा एक जना हुनुपर्छ भन्नेमा निरन्तर लागिरहेका थिए । 

यतिन्जेलसम्म स्पष्ट थियो कि एकातिर शेरबहादुर देउवा र अर्कातिर रामचन्द्र, शेखर वा प्रकाशमानमध्ये एक । प्रकाशमानको माहोल उपत्यका बाहिर कम छ भन्नेमा सबै ढुक्क थिए । त्यसपछि रहे रामचन्द्र र शेखर । सिनियरका आधारमा रामचन्द्र नै सशक्त थिए । तर शेखरले कुनै पनि हालतमा नछाड्नेमा अडानमा रहे । 

अन्ततः रामचन्द्रले आफू सभापतिमा नलड्ने र चुनावी प्रक्रियामा सहभागी पनि नहुने निर्णय गरे । उनी चुनावी प्रक्रियामा सहभागी नहुँदा फाइदा देउवालाई नै थियो । त्यतिमात्र हैन जब रामचन्द्रले सभापतिको होड त्यागे तब रामचन्द्रकै लागि सभापति छाडेका तत्कालीन महामन्त्री शशांक कोइरालासँगै सुजाता कोइराला पनि देउवातिरै लागे । त्यो खुलेर भने थिएन । 

अब बाँकी रहे प्रकाशमान र शेखर । दुवैले नछाड्ने नीति लिएपछि शेखरलाई गगनले बोकेर संस्थापन इतरको पिल्लर बनाए । अनि भयो चुनावी भिडन्त । त्यसरी नै प्रकाशमानले सिंगो प्यानल बनाउन नसके पनि संस्थापनमै रहेर पनि संस्थापनले पदाधिकारीमा उठाउन नचाहेका महामन्त्री विश्वप्रकाश शर्माजस्ता नेताहरु समेट्न सके । 

प्रकाशमान र शेखर मिलेर चुनाव लडेको भए देउवाको हार निश्चितजस्तै हुन्थ्यो । संस्थापन इतर मिल्न नसकेपछि हार स्वभाविक भयो । सभापतिमा केही मत त विमलेन्द्र निधीले पनि काटेकै थिए । 

देउवाको ‘डिभाइड एन्ड रुल’ ले काम गर्यो । उनी सभापति भए । शेखर दोस्रो भए । उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरुसहित केही केन्द्रीय सदस्यहरुमा शेखर समूहको जित भयो । शेखर समूहका गगन लोकप्रिय मतान्तरसहित महामन्त्री बने । प्रकाशमान समूहबाट विश्वप्रकाश शर्मा महामन्त्री भए । तर देउवा समूहबाट महामन्त्रीमा लडेका प्रदीप पौडेल (कृष्णप्रसाद सिटौलाको पक्षबाट) पराजित भए । 

फेरिएको गगनको समीकरण
गगन पक्षका नेता १४ औँ महाधिवेशनले शेखरलाई बनायो । शेखरको ठाउँमा रामचन्द्र, शशांक वा प्रकाशमानमध्ये जो पनि हुन सक्थे । त्यतिबेलाको संयोगले शेखर बनेका मात्र हुन् । गगनको राजनीतिक राजमार्गमा शेखर नै सबैथोक हैनन् । 

जब कुनै नेताले आफूभन्दा माथिको कुनै नेतालाई सबैथोक ठान्छ तब ऊ छन्जेल माथि नै पुग्ने हैसियत राख्दैन । त्यसैले गगन स्वतन्त्र छन् । राजमार्गमा आएका अनेकन डाइभर्सन वा मोडमा उनी परिचित छन् । 

हो, त्यसैले उनी संसदीय दलको नेतामा भिडे । तर पाउनु पर्ने मत उनले पाएनन् । संस्थापन इतरकै केही मत नै नपाएपछि गगनले एउटा ठूलो डाइभर्सन खडा भएको महसुस गरे । त्यतिबेला मतदानका बेलामा मोबाइल लैजान पाउने र नपाउने भन्नेमा चर्को विवाद पर्यो । सम्भवतः कसैलाई विश्वास दिलाउन गरिएको यो खेलले जित्यो । गगनले यसलाई झेल्लि भयो भने पनि तीतो यथार्थ यही बन्यो कि आफ्ना केही स्वार्थी पराइ भए । 

त्यस्तै समयमै कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आफ्नो कोटाका पूरै मन्त्री पठाउन सकेन । ढिला गरी त्यो पनि पूरा गर्यो । यहाँ गगनले चाहेका उनका साथीहरुलाई त्यो ठाउँमा पुर्याउन पाएनन् । उनी फेरि छुटे । जानी जानी उनलाई सोध्न छुटाइयो । र पनि गगन निरन्तर अगाडि बढिरहेका छन् । उनको रुपान्तरणको लडाइँ जारी छ । 

यो लडाइँमा पार्टीको १४ औँ महाधिवेशनमा एक अर्काका प्रतिस्पर्धी भए पनि अहिले गगनसँगै विश्वप्रकाश र प्रदीप साथसाथ छन् । यी युवाहरुसँग थुप्रै युवाहरु जोडिएका छन् । पाका नेताहरुले विश्वास दिएका छन् । 

अब उनको लक्ष्य सबैभन्दा शिखरकै छ । त्यसका लागि उनी निरन्तर अभ्यासमा छन् । साथै कांग्रेसमा रहेका युवाहरुलाई जोगाएर अन्य पार्टीबाट कांग्रेसमा ल्याउन प्रयासरत छन् । उनलाई राम्रोसँग थाहा छ कि जुन गतिले अहिले कांग्रेस हिँडिरहेको छ त्यही गतिलाई समात्ने हो भने आगामी चुनावमा कांग्रेस दोस्रो त के तेस्रो वा चौथोतिर धकेलिन बेर लाग्दैन । 

किनकि समय परिवर्तनशील छ र त्यो परिवर्तनलाई समात्न त्यस्तो नेतालेमात्र सक्छ जो समयसँगै चल्न सक्छ । परिवर्तनलाई आत्मसात् गर्न सक्छ । कांग्रेसभित्रका केही नेता जीर्ण सडकलाई मर्मतसमेत नगरी यो बर्खामा थोत्रो गाडी गुडाउँदै छन् । गगन आफ्नो स्पष्ट राजनीतिक राजमार्गमा जोशका साथ संयमपूर्वक गाडी गुडाइरहेका छन् २०८४ को चुनावमा कांग्रेसलाई एक्लै बहुमत पुर्याइ सरकारको दीगो पाँच वर्षे नेतृत्व गर्ने गरी । 

पार्टीभित्रको संघर्ष जति कठीन छ बाहिर पनि उत्तिकै संघर्ष गगनले गर्नैपर्छ । तर त्यो पार्टीभित्र जत्तिको असहज भने पक्कै छैन । बाहिर पनि गगन जस्ता युवाहरुको कमी छैन । नयाँ दलका युवाहरु पनि देखिएका छन् । र, आगामी दिनमा थप दल र युवा नहोलान् भन्न सकिन्न । तर गगनलाई यत्ति थाहा छ उनले खडा गरेको राजनीतिको राजमार्ग बलियो छ । 


  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ