arrow

सुरक्षा संवेदनशीलतामा लापरबाही

सुरक्षाको बेवास्ता गरी मन्त्री किराँतीले दिए सिम्रिकलाई हेलिपोर्ट निर्माणको अनुमति

सुरक्षा चुनौती हुने भन्दै सेनाको असहमति, संवेदनशील क्षेत्रहरुमा निजी कम्पनीहरुबाट हेलिपोर्ट निर्माण तथा सञ्चालन गर्न माग हुन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
sudan-kirati-simrik-air.jpg

काठमाडौं । नेपालको सुरक्षा संवेदनशीलतलाई ख्याल नगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिम्रिक एयरलाई हेलिप्याड निर्माण र सञ्चालन गर्न दिएको छ । 

जेठ २६ गते मन्त्रालयले सो स्वीकृति दिएको हो । त्यसमा नेपाली सेनाको असहमति रहेको छ । सेना स्रोतले दिएको जानकारी अनुसार संवेदनशील क्षेत्रहरुमा निजी कम्पनीहरुबाट हेलिपोर्ट निर्माण तथा सञ्चालन गर्न माग हुन सक्ने, त्यसो हुँदा सुरक्षा चुनौती एवं सुरक्षाकर्मीहरुका तैनाथीलाई समेत मध्यनजर गरेर चुनौतीपूर्ण हुने भन्दै सेनाले समेत असहमति प्रकट गरेको अवस्थामा मन्त्री सुदन किराँतीले सिम्रिक एयरको पक्षमा निर्णय गरिदिएका हुन् । 

सिम्रिक एयर क्याप्टेन रामेश्वर थापाको निजी कम्पनी हो । सो कम्पनीलाई काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १४ राउत गाउँको माथिल्लो भाग इटापु डाँडामा हेलिप्याड निर्माणका लागि अनुमति दिएको हो । 

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने बित्तिकै हेलिप्याड निर्माणका लागि सिम्रिक एयरले अनुमति मागेको थियो । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण तथा सञ्चालनका लागि उपलब्ध गराइदिन भन्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा २०७९ पुस १३ मा आशय पत्र पेश गरेको स्रोतको दाबी छ । 

क्याप्टेन थापाले आफ्नो गृहजिल्लासमेत रहेको काभ्रेको इटापु डाँडामा हेलिपोर्ट निर्माण तथा सञ्चालन अनुमतिका लागि पर्यटन मन्त्रालयमा निवेदन दर्ता गराएका थिए । 

तर सेनाले निजी क्षेत्रलाई हेलिप्याड निर्माण तथा सञ्चालन गर्न दिँदा तस्करी र गैरकानूनी गतिविधि नियन्त्रण गर्न अप्ठेरो हुने जनाउँदै असहमति जनाएको थियो । 

साथै सुरक्षामा सावधानी अपनाउन नसकिने, चुनौतीपूर्ण हुने र सुरक्षा संवेदनशीलतालाई पनि ख्याल गरेर मात्र निर्णय लिनुपर्ने भन्दै हेलिपोर्ट निर्माण गर्न दिने विषयमा असहमति जनाएको थियो । 

तर यो असहमतिको बाबजुद पनि मन्त्रालयले निर्माणका लागि अनुमति दिएको छ । सरकारको तहबाट नै हेलिप्याड निर्माण तथा सञ्चालन गर्दा नीतिगत, भौतिक पूर्वाधार निर्माणमा एकरुपता तथा स्तरयुक्त एवं समग्र सुरक्षात्मक उपायहरुको अवलम्बन सुनिश्चित हुने अवस्थामा पनि निजी क्षेत्रलाई किन दिइयो भन्ने प्रश्न उठेको मन्त्रालयकै कर्मचारीहरुले जनाएका छन् । 

निजी कम्पनीबाट यस किसिमको महत्वपूर्ण र सम्वेदनशील हवाई भौतिक पूर्वाधार निर्माणमा सतर्कता हुनुपर्ने, यस प्रकारको अति संवेदनशील कार्यहरु नेपाल सरकार बाहेकले अन्य निकायलाई समानान्तर हुने गरी कार्य गर्न दिँदा सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुने भए पनि मन्त्रीले यस्तो निर्णय गरेकोमा सरकारी कर्मचारीलेसमेत विरोध जनाएका छन् । 

यस्तो अवस्थामा सिम्रिक एयरलाई काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर १४ राउत गाउँको माथिल्लो भाग इटापु डाँडामा नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत मापदण्ड र सुपरिवेक्षणमा रहेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिप्याड  निर्माण तथा सञ्चालनको लागि सैद्धान्तिक सहमति उपलब्ध गराउन लेखी पठाउन जेठ २३ मा निर्णय लिएपछि जेठ २६ मा मन्त्रीले निर्णय गरिदिएका थिए । 

पर्यटन मन्त्रालयका सचिवले २०७९ फागुन १९ गते रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई निजी हवाइ कम्पनीबाट हेलिप्याड निर्माण र सञ्चालनका लागि आशयपत्र माग गरेकाले यस सम्बन्धमा उपयुक्त राय सुझाव माग गरेको थियो  । 

त्यस आधारमा गृह मन्त्रालयले २०८० बैशाख १० मा र रक्षा मन्त्रालयले २०८० बैशाख १४ गते राय–सुझाव लेखेर मन्त्रालयमा पठाएपछि मन्त्रालयले आवश्यक निर्णय लिएको स्रोतको दाबी छ । 

रक्षाले पठाएको पत्रमा नेपाली सेनाको जंगी अड्डाले बैशाख ६ मा आफूहरुलाई दिएको सुझाव पत्र भन्दै त्यसको ब्यहोरासमेत उपलब्ध गराएको थियो । 

जहाँ नेपाली सेनाले निजी कम्पनीलाई हेलिपोर्ट निर्माण र सञ्चालन अनुमति दिने विषयमा असहमति जनाएको थियो । तर गृहले भने सञ्चालनका लागि सकारातमक जवाफ दिएको थियो । त्यसमा गृह र रक्षाको राय बाझिएको थियो । 

गृहले दिन मिल्ने र रक्षाले दिन नमिल्ने भनेपछि मन्त्रालयमा पनि यो विषयमा प्रयाप्त छलफल नै नभई मन्त्रीले सचिवलाई निर्णय गर्न लगाएर आफैँले हस्ताक्षर गरेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ