arrow

मुठीदानबाट ६० लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
Help.jpg

तनहुँ । हङ्कङमा रहेका तनहुँवासीको मुठीदानबाटै यहाँको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा हालसम्म करिब रु ६० लाख खर्च भइसकेको छ  । 

हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई २०५६ सालमा ‘तनहुँ सेवा समाज हङ्कङ’ स्थापना गरेपछि यहाँको सामाजिक तथा परोपकारी काममा आर्थिक सहयोग हुँदै आएको हो । यस संस्थाले हालसम्म तनहुँमा करिब ६० लाख खर्च गरिसकेको उक्त संस्थाका पूर्वअध्यक्ष भीमराज गुरुङले बताए ।

उक्त रकम जुटाउन सो संस्थामा आवद्ध ५७ जनाको मुठीदान नै मुख्य रहेको उनले जानकारी दिए । आफूहरुले २०७० सालमा हङ्कङमा बाराही साँझ नाम दिएर सांस्कृतिक कार्यक्रम गरेपछि बचत भएको करिब रु पाँच लाखबाट समाज सेवा अभियान थालिएको अध्यक्ष गुरुङको भनाइ थियो ।  

“हामीले करिब १० वर्षको अवधिमा तनहुँमा मात्रै करिब रु ५५/६० लाख खर्च गरिसकेका रहेछौंँ,” पूर्वअध्यक्ष गुरुङले भने, “समाज सेवाबाट पाइने हौसला र आत्मसन्तुष्टिले नै यतिका काम गर्न सकेका हौँ । समाजले तनहुँको छाब्दी बाराही र ढोर बाराही मन्दिरमा करिब रु २५/२५ हजारको एक/एकवटा घण्टा राखेर समाज सेवा थालेको थियो ।”

थप्रेक, क्यामिन कोटथोक र सारडाँडा भीमाद खानेपानी योजनाका लागि करिब रु एघार लाख, भूकम्पले क्षति पुगेका एक मदरसा र २३ विद्यालयलाई रु १३ लाख, जिल्लामा बहुअपाङ्गता भएका १० विद्यालयका विद्यार्थीलाई लत्ताकपडाको लागि सात वर्षसम्म आर्थिक सहयोग, २०७२ सालको भूकम्पको बेला प्रधानमन्त्री राहत कोषमा रु तीन लाख ५० हजार, कोरानाको महामारीमा जिल्लाको दशवटै पालिकामा रु १५/१५ हजार बराबरको पञ्जा र सेनिटाइजर, व्यास-१० मा बन्दै गरेको कोभिड अस्पताललाई रु एक लाख ५० हजार, पत्रकार महासङ्घ नेपाल तनहुँ शाखा भवन निर्माणका लागि रु ७० हजार उपलब्ध गराइएको थियो । 

यसैगरी आठ मिर्गाैलापीडित, एक मुटु रोगी, एक करेन्टले हात गुमाएका व्यक्ति, पहिरोमा घर बगाएको एक परिवार र एक क्यान्सर पीडित गरी १२ जनालाई करिब रु १५ लाख उपलब्ध गराउनाका साथै ग्रामीण विकासमा कलम चलाउने सात मोफसलका पत्रकारलाई पुरस्कारस्वरुप रु ७० हजार गरी करिब रु ६० लाख खर्च गरिएको थियो ।

समाज सेवामा आफूहरु अग्रसर भएपछि तनहुँवासीको हेर्ने दृष्टिकोण समेत सकारात्मक भएको आफूले पाएको उनले बताए । गत वैशाखदेखि रक्त क्यान्सरले थलिएर महँगो उपचार गराउँदै आएको आफूलाई रकम अभाव भएपछि उक्त समाजमार्फत उपचारको लागि रु तीन लाख ७५ हजार प्राप्त भएकोले हौसला मिलेको भानु-१३ पोखरीछापकी ४३ वर्षीया जमुना गुरुङले बताइन् । 

हङ्कङमा रहेका तनहुँवासी सङ्गठित भई तनहुँको विकास, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा खटिनुले सकारात्मक सन्देश प्रवाह भएको तनहुँ समाज हङ्कङका जनसम्पर्क संयोजक प्रदीप काफ्लेले बताए । अन्य देशमा रहेका तनहुँवासीले समेत तनहुँ समाज हङ्कङको अनुकरण गरे तनहुँको विकासमा टेवा पुग्ने उनको भनाइ थियो । 

आफूहरु जन्मिएको क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले सहयोगमा जुटेको उक्त समाज हङ्कङका अध्यक्ष तेज गुरुङले बताए । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ