arrow

सांसद शर्माद्वारा दैलेखमा निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
Dailekh-Sibir-kmc.jpg

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनील शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् ।
    
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले बुधबार दैलेखको आठबीस नगरपालिकामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गराएका हुन् । 

दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाही र आठबीस नगरपालिकासँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा १ हजार ३ सय २२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
    
शिविरमा १८९ जनाको मुटुको जाँच ईसीजी, २१७ जनाको रक्त परीक्षण र ३१० जनाको भिडियो एक्सरे गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका २९ जनाको दाँत फुकालिएको छ । शिविरमा उपचार सम्भव नभएका ५४ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको छ । 

केएमसीका सञ्चालकसमेत रहेका सांसद शर्माले रेफर भएका बिरामीलाई केएमसीमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था मिलाइदिएका छन् । बिरामीलाई अस्पतालसम्म लैजाने व्यवस्था भने आठबीस नगरपालिकाले मिलाउनेछ ।

    सांसद शर्माका अनुसार सो टोलीले बिहीबार दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा पनि शिविर सञ्चालन गरेर बिरामीहरूको निःशुल्क उपचार गर्नेछ । 

कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ