arrow

सुन्दरताको लागि स्वास्थ्य किन बिगार्ने ?

उफ्फ उफ्फ ,घुँडाको दुखाइ

logo
अरुणा उप्रेती,
प्रकाशित २०८० जेठ १७ बुधबार
knee-bone.JPG

‘मेरो त घुँडाको हाड नै खिइएजस्तो छ, अब त जीवनभर खोच्याएर हिँड्न पर्ने भयो ।’ ६० वर्ष कि उनले साथीभाइसँग पनि सल्लाह गरिन् । प्रायः सबैले घुँडाको हाड खिइयो, आराम गर, युरिक एसिड भयो, अब प्रोटिन नखाऊ भन्नेजस्ता सल्लाह दिए । यस्ता सल्लाहले मात्र काम दिएन । त्यसपछि उनी हड्डी विशेषज्ञलाई देखाउन गइन् ।

चिकित्सकले जाँच गरेर भने, ‘तपाईँको हड्डी खिइएको पनि होइन, युरिक एसिड बढेको पनि होइन । घुँडाको तल र माथिका मांसपेशीहरू कमजोर भएकोले दुखेको हो ।’ उनको घुँडाको एक्सरे देखाउँदै पुनः भने, ‘खोइ तपाईँ के खानुहुन्छ ? तपाईँको घुँडा त ४० वर्षको महिलाको जस्तो छ, हाड खिइएको छैन । तपाईँले विशेषज्ञबाट सिकेर घरमा हरेक दिन व्यायाम गर्नुपर्छ । साथै तौल घटाए झन् राम्रो ।’

आफ्नो घुँडा नखिइएको सुनेर ती महिला दङ्ग परिन् । त्यही दिनदेखि उनले फिजियोथेरापी केन्द्रमा गएर केही व्यायाम सिकिन् । घरमा आएर पनि प्रत्येक दिन व्यायाम गरिन् । पहिलो दिन केही गाह्रो भयो । घुँडा बढी दुखे चिसो पानीले सेक्नु भन्ने उनले सल्लाह पाएकी थिइन् । त्यही अनुसार घुँडा बढी दुख्दा बरफको टुक्रालाई कपडामा राखेर सेकिन् । ५-६ दिनपछि उनलाई घुँडाको दुखाइमा केही कमी आयो । घुँडा दुखेर चल्न पनि गाह्रो पर्ने उनलाई भर्‍याङ माथि-तल गर्दा पनि सहज लाग्न थाल्यो । तर पूर्णरुपमा ठिक हुन त झन्डै ३ हप्ता लाग्यो ।

उनले आफ्नो भोजनमा आलस, तिल, मुगरेलो, मेथी, फर्सीको दाना पनि दिनदिनै खान्थिन् । २ हप्तापछि उनको दुखाइमा ७० प्रतिशत कमी आयो । उनी पुनः फिजियोथेरापी केन्द्रमा गएर खुट्टाको केही नयाँ व्यायाम पनि सिकिन् । उनले हिलवाला जुत्ता चटक्कै छोडिन् । तौल पनि २ किलो जति घटाइन् । अहिले उनले व्यायामलाई दैनिक जीवनको अङ्ग नै बनाइएकी छिन् । 

यस्ता धेरै महिला र पुरुषहरू छन् जो हाड-जोर्नीको दुखाइले हैरान हुन्छन् । तर के गरेर दुखाइ कम गर्ने भन्ने थाहा हुँदैन । चिकित्सकको परामर्श लिएर उपचार गर्नु त पर्छ नै, उमेरसँगै हुने हड्डीको क्षय र घुँडा दुख्ने समस्यालाई पूर्णरुपले निराकरण गर्न नसकिए पनि स्वस्थ जीवनशैली, व्यायाम, सजिलो जुत्ता आदिले दुखाइ कम गर्न सकिन्छ । हरेक चोटि घुँडा दुख्ने बित्तिकै घुँडाको हड्डी नै खिइएको भन्ने सधैँ सत्य हुँदो रहेनछ । घुँडाको मांसपेशीको कमजोरीको कारणले घुँडा दुख्न सक्छ । शारीरिक तौल ठिक्क भएको मानिसको तुलनामा मोटो मानिसको घुँडा दुख्ने समस्या ४ गुणा बढी हुन्छ । त्यसैले तौललाई बढ्न नदिन युवाहरु पनि जागरूक हुनुपर्छ ।

५ फिट उचाइ र ८० किलो तौल भएकी मिनालाई घुँडा दुख्ने समस्या भएको थियो । स्वास्थ्यकर्मीले उनलाई स्वास्थ्यकर खाना खाएर र व्यायाम गरेर शरीरको तौल घटाउन सल्लाह दिए । मिनाले १२ महिनामा २५ किलो तौल घटाइन् । उनले खानामा भात र रोटी कम गरिन् । दाल र तरकारी बढी खाइन् । अहिले उनको घुँडा दुखाइ हराएको छ । मिना अहिले पनि याद गर्छिन् । ‘१० वर्षअघि मेरो घुँडा नदुखेको भए मैले तौल घटाउन प्रयत्न गर्दैनथेँ । अनि अहिलेसम्म मलाई कति किसिमका रोग लागिसक्थे होलान् ।’

व्यायामले घुँडा र जोर्नीको दुखाइ कम गर्न मद्दत गर्छन् । तर यो जानकार व्यक्तिसँग सिकेर मात्र गर्नुपर्छ । कतिपय आयुर्वेदिक एवं प्राकृतिक चिकित्सकले पनि यो विषयमा सल्लाह दिने गर्छन् । साथै जीवनशैली परिवर्तनसम्बन्धी सुझावहरू पनि उपयोगी हुन्छन् ।

घुँडाको दुखाइले सुत्न नै गाह्रो हुन्छ भने केवल व्यायामले मात्र पुग्दैन, विज्ञहरूको सल्लाह लिनै पर्छ । घुँडाको दुखाइ कम गर्न स्वस्थ जीवनशैलीमध्ये हाई हिल भएको जुत्ता नलगाउनु पनि एक हो । यदि कतै जाँदा काम विशेषले ठूलो हिलको जुत्ता लगाउनुपर्ने भएमा काम सकिने बित्तिकै त्यो जुत्ता फुकालिहाल्नु उचित हुन्छ । महिलाहरूले दिनभरि हाई हिल भएको जुत्ता लगाउँदा उनको पुठ्ठा, कम्मर र घुँडा तीन वटै दुख्न सक्छ । त्यसैले महिलाहरूले विचार गर्नुपर्छ । सुन्दरताको लागि स्वास्थ्य किन बिगार्ने ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ