arrow

राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्दै सरकारको नीति तथा कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ५ शुक्रबार
ramchandra-poudel-president-always.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । पौडेलले  सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अपरान्ह ४ बजे सम्बोधन गर्दैै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । 

स्वास्थ्यका कारण नीति तथा कार्यक्रम प्रस्तुत नगर्ने भन्ने संशयका बीचमा राष्ट्रपति पौडेलले आफैँ प्रस्तुत गर्ने भएका हुन् । ‘स्वास्थ्यका कारण राष्ट्रपतिज्यूले सरकारको नीति तथा कार्यक्रम पेश नगर्ने भन्ने बाहिर कुराहरु आएका थिए तर राष्ट्रपतिले आफैँ प्रस्तुत गर्ने निधो भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

उनका अनुसार राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्न कुनै समस्या रहेको छैन । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो । 

प्रचण्डले सरकारले सो नीति तथा कार्यक्रम ल्याउने भएपछि यसअघि नै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई संसदको तयारी गर्नका लागि अनुरोध गरिसकेका छन् । 

भ्रष्टाचारीलाई कारबाही गर्ने प्रमुख एजेन्डा समावेश गरेर सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले स्वास्थ्यका कारण असम्भव भएमा प्रधानमन्त्री दाहालले नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यसअघि चर्चा भएको थियो । 

तर राष्ट्रपति पौडेलले नै प्रस्तुत गर्ने टुंगो भएको हो । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ