arrow

चुनौतीहरूको सामना गर्दै चिनियाँ बीआरआई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २७ बुधबार
china-bri-south-asia.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चीनको महत्त्वाकाङ्क्षी योजना बेल्ट र रोड इनिसिएटिभ (बीआरआई) ले विश्वव्यापी चुनौतीहरूको सामना गरिरहेको छ । विश्वका धेरै देशहरू बीआरआई सम्झौता नवीकरण गर्न अनिच्छुक रहेका छन् । 

जर्मन चान्सलर बीआरआईसँग निराश रहेको अभिव्यक्ति दिएका छन् र यसले आर्थिक सङ्कट बढाउने चेतावनी पनि दिएका छन् । पछिल्लो समयमा रुस–युक्रेन युद्धका कारण पनि बीआरआई योजना सङ्कटमा परेको हो । रुसविरुद्ध लागेको प्रतिबन्ध र पश्चिमा देशहरूको चीनलाई हेर्ने नजर बदलिएकाले बीआरआई परियोजना झन् सङ्कटमा परेको हो । 

बीआरआई परियोजनामा हस्ताक्षर गरेका देशहरूमा पनि परियोजनाहरू घट्दो क्रममा रहेका छन्। चिनियाँ लगानीकर्ताहरूले स्थानीय साझेदार नपाएर परियोजनाहरू पछि परिरहेका छन् । 

संघाईस्थित फुदान विश्वविद्यालयका अनुसार सन् २०२१ को तुलनामा २०२२ मा परियोजनाहरू कम रहेका छन् । नेपाल, रुस, अंगोला, श्रीलङ्का र पेरुले सत् प्रतिशत परियोजनाहरू छाडिसकेका छन् । पाकिस्तानको सिपेक परियोजनामा २०२१ को तुलनामा २०२२ मा परियोजना लागत ३४ प्रतिशतले घटेको छ । त्यसैगरी अफ्रिकी महादेशका देशहरूमा पनि भारी गिरावट आएको छ । 

बीआरआई साझेदारहरूले पूर्वाधार डिजाइनहरूमा त्रुटि रहेकाले असन्तुष्टि जनाएका छन् । इक्वेडरमा रहेको कोका कोडो जलविद्युत परियोजना र एंगोलामा रहेको हाउजिङका साझेदारहरूले असन्तुष्टि जनाएका हुन् । 

यसबाहेक चिनियाँ कम्पनीहरूले होस्ट देशहरूमा इच्छुक साझेदारहरू फेला पार्न चुनौतीको सामना गरिरहेका छन् । जसको परिणामस्वरूप बीआरआई अन्तर्गत हस्ताक्षर गरिएका नयाँ परियोजनाहरूको सङ्ख्यामा गिरावट आएको छ । 

एडडाटाले २०२१ मा गरेको अध्ययन अनुसार धेरै देशहरूले भ्रष्टाचार, श्रम दुरुपयोग, वातावरणीय गिरावट र जनताको सार्वजनिक विरोधका कारण अरबौँ डलरको प्रमुख परियोजनाहरूलाई निलम्बन वा रद्द गरेका छन् । बीआरआई विरुद्धको भावना ऋण पासोमा परेका कारणले नकारात्मक हुँदै गएको छ । श्रीलङ्का यसको ज्वलन्त उदाहरण हुन गएको छ । 

यस क्रममा मलेसिया, ईक्वेडर, काजिकस्तान, सुडान, ईथोपिया, जाम्बिया र क्यामरुनले बिलियन डलरका परियोजनाहरूबाट हात झिकिसकेका छन् । 

मलेसियाले ११.६ बिलियन अमेरिकी डलर बराबरको पूर्वाधार परियोजनाबाट हात झिकेको छ भने काजिकस्तानले १.५ बिलियन डलर र बोलिभियाले १ बिलियन डलर बराबरको परियोजना छाडिसकेका छन् । 

त्यसैगरी इक्वेडर, सुडान, इथियोपिया, जाम्बिया र क्यामरुनले कूल ३ बिलियन डलर बराबरको परियोजना स्थगित गरेका छन् । चीनमा आर्थिक मन्दीले चुनौतीपूर्ण विश्वव्यापी भू–रणनीतिक वातावरणको साथ बीआरआईलाई प्रतिकूल असर पार्नेछ । 

त्यसकारण चिनियाँ नेतृत्वले बीआरआई सुधारको प्रयास गरिरहेको छ र चिनियाँ नेताहरूको भाषणमा बीआरआईको सन्दर्भ लगातार कम हुँदै गएको छ । 

सन् २०२२ को आफ्नो कुनै पनि भाषणमा चिनियाँ राष्ट्रपति शी जिन फिङले बीआरआईको उच्चारण गरेनन् । उनले पहिला पहिला शताब्दीको परियोजना भनेर भन्ने गर्थे भने पछिल्लो समयमा बीआरआईमा सुधारको आवश्यकता रहेको भनेर बोल्न थालेका छन् । 

बीआरआईले भ्रष्टाचार र ऋण बढाउनका साथै परियोजनाहरू स्थिर हुन नसक्नु साथै चीनविरुद्ध नकारात्मकता बढ्नु एवं चीनको आफ्नो घरेलु चुनौतीहरू सामना गर्न कठिन हुनु समस्याका जडका रूपमा बुझ्न सकिन्छ । मन्द आर्थिक वृद्धि चीनका लागि प्रमुख चुनौती रहेको छ । 

बेलायतमा रहेको ‘ओभरसिज डेभलपमेन्ट ईन्स्टिच्युट’ का अनुसार २०२० मा २.४ बिलियन डलर बराबरका १५ परियोजनाहरूले आर्थिक सङ्कटको सामना गर्नु परेको थियो । त्यसमध्ये सिनो हाईड्रोद्वारा निर्माण गरिरहेको जिम्बाब्वेको कुन्जी ड्याम जलविद्युत परियोजना पनि रहेको छ ।
अष्ट्रेलियोको लोवी ईन्ड्टिच्युटले गरेको अध्ययन अनुसार चीन प्रति नकारात्मकता बढ्दो क्रममा रहेको छ। उक्त अध्ययन अनुसार ईन्डोनेसिया बासिन्दाहरू चीन प्रति सशङ्कित रहेका छन्। उनीहरूका अनुसार १० वर्षमा चीन खतरनाक देश बन्ने छ। 

चीनले आफ्नो बीआरआई परियोजनालाई पुनः परिभाषित गरेर र विभिन्न देशहरूसँग व्यावसायिक भन्दा पनि मैत्रीपूर्ण व्यवहार गरे आफ्नो कमजोर भइरहेको साख गाउन सक्ने आङ्कलन गर्न सकिन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ