गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषय : राष्ट्रपति पौडेल
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
520
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् ।
२५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गरेको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
सन्देशमा भनिएको छ, “शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।”
उनले २५६७औँ बुद्ध जयन्तीको यस शुभ अवसरमा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले बिहीबारको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । त्यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा अर्चना लगायत विविध कार्यक्रम गरी मनाइन्छ ।