arrow

चितवन क्षेत्र नम्बर २

रविलाई ५४ हजार मत, जमानत जफतबाट जोगिए कांग्रेस र एमाले

सबैभन्दा बढी मतान्तरको जित्ने सांसद बने रवि

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
ravi-lamichane-new-party-register-apply.jpg

काठमाडौं । चितवनमा रवि लामिछानेले कीर्तिमानी जित हासिल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार रहेका रविले विशाल मतको अन्तर निकाल्दै चितवन क्षेत्र नम्बर २ बाट पुनः निर्वाचित भएका छन् । अन्तिम मत परिणाम अनुसार रविले ५४ हजार १७६ मत पाएका छन् । रविले निकटतम प्रतिस्पर्धी भन्दा करिब साढे पाँच गुणा मत ल्याएका छन् । 

७८ हजार २७७ खसेको मत मध्यै रविले ५४ हजार १७६ मत पाएका छन् । यो उनले पाएको मत ६९ प्रतिशत भन्दा बढी हो । यता लामिछानेलाई टक्कर दिने मानिएका नेपाली कांग्रेस र नेकपा एमाले निरीह साबित भएका छन् । कांग्रेस र एमाले जमानत जफत हुनबाट जोगिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्र पाए भने नेकपा एमालेका राम प्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । निर्वाचन आयोगका अनुसार खसेको मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुन्छ । ७ हजार ८ सय मत कटाएर जीतनारायण र राम प्रसाद त्यसबाट जोगिएका छन् । 

रवि जीतनारायणभन्दा ४२ हजार ९६२ मत र राम प्रसाद भन्दा ४३ हजार २४० मतको फराकिलो मतान्तरले विजयी बनेका छन् । गत मङ्सिर ४ मा भन्दा वैशाख १० मा १० हजार मत कम खसेको भए पनि रवि भने मङ्सिर ४ को भन्दा निकटतम प्रतिस्पर्धी भन्दा बढी मतान्तरले विजयी भएका छन् । रविले मङ्सिर ४ को निर्वाचनमा करिब ३४ हजार मतान्तरले जित हासिल गरेका थिए । यो आँकडा हेर्दा मङ्सिर ४ को भन्दा कांग्रेस र एमालेको मत पनि घटेको छ । 

कांग्रेस र एमालेले मङ्सिर ४ को मत पनि बचाउन सकेनन् । उनीहरूमाथि थप लज्जा देखिएको छ ।अझ कांग्रेसका उम्मेदवारलाई त सत्ता गठबन्धन साझेदार दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा लगायतको समर्थन थियो । ती सबै मत रविलाई नै गएका छन् । कांग्रेसको मतसमेत रविलाई गएको छ । एमालेको मतसमेत रविलाई गएको छ । 

गत मङ्सिर ४ मा सम्पन्न आमनिर्वाचनमा पनि लामिछानेले कीर्तिमानी जित हासिल गरेका थिए । निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार उमेश श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दै रविले कीर्तिमानी जित बनाएका थिए । सो समय लामिछाने ३४ हजार १ सय ७० बढी मतले विजयी भएका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याएका थिए भने सत्तारूढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका थिए ।

रवि पुनः प्रतिनिधि सभामा सबैभन्दा बढी मतान्तरको जित्ने सांसद पनि बनेका छन् । उनी भन्दा पछि नेमकिपाका सचिव प्रेम सुवाल र एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । भक्तपुर-१ बाट निर्वाचित सुवालको ३० हजार ७९३ मतान्तर छ। भने झापा ५ बाट ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ