arrow

रविको मंसिरको भन्दा अझ बढी मतान्तरको कीर्तिमान, कांग्रेस र एमालेको लज्जा, गठबन्धनप्रति प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १२ मंगलबार
rabi-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने कीर्तिमानी मतान्तरसहित विजयी हुने निश्चित भएको छ । उनले मंसिर ४ को मतान्तरभन्दा अझ बढी अन्तरले जित हासिल गर्दै विजयी हुने निश्चित भएको हो । 

गत मंसिर ४ मा भन्दा बैशाख १० मा १० हजार मत कम खसेको भए पनि रवि भने मंसिर ४ को भन्दा निकटतम प्रतिस्पर्धी भन्दा बढी मतान्तरले विजयी हुनेछन् । 

७८ हजार २७७ मत खसेकामा ५६ हजार ५०७ मत गणना भइसकेको छ । जसमा रविले ४० हजार ६९ मत ल्याएका छन् । दोस्रो स्थानका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले मात्र ७ हजार ३५७ मत ल्याएका छन् । 

तेस्रो स्थानका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २६९ मत ल्याएका छन् । रवि र जीतको मतान्तर ३२ हजार ७१२ मत रहेको छ । तर गन्न बाँकी मत केवल २१ हजार ७७० रहेको छ । 

जबकि रविले मंसिर ४ को निर्वाचनमा करिब ३४ हजार मतान्तरले जित हासिल गरेका थिए । 

त्यो भन्दा अझ बढी मतान्तरसहित रवि विजयी भएको घोषणा हुनेछ । 

यो आँकडा हेर्दा मंसिर ४ को भन्दा कांग्रेस र एमालेको मत पनि घटेको छ । 

कांग्रेस र एमालेले मंसिर ४ को मत पनि बचाउन सकेनन् । उनीहरुमाथि थप लज्जा देखिएको छ । रवि नागरिकता विवादमा मुछिएर मंसिर ४ को जितको पद नै खुस्किए पनि फेरि सम्हालिएर आए । 

उनी ३२ दिनमात्र गृहमन्त्री हुँदा अनधिकृत ठेक्का दिएको बारेमा विवादमा मुछिए पनि मतदाताले भने उनको यो गल्तीलाई बिर्सिए । किनकि मतदाताले ठाने कांग्रेस र एमालेले त्यो भन्दा बढी नै गल्ती गर्दै आएका छन् । 

अझ कांग्रेसका उम्मेदवारलाई त सत्ता गठबन्धन साझेदार दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा लगायतको समर्थन थियो । ती सबै मत रविलाई नै गएका छन् । कांग्रेसको मतसमेत रविलाई गएको छ । एमालेको मतसमेत रविलाई गएको छ । 

चितवन २ मा मात्र होइन तनहुँ १ मा पनि कांग्रेस र एमालेका मत रास्वपाका विजेता डा. स्वर्णिम वाग्लेलाई नै गएको छ । 

त्यहाँ पनि सत्ता गठबन्धन थियो । त्यही क्षेत्रमा मंसिर ४ मा कांग्रेसका तर्फबाट जितेका रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन् । तर तिनै रामचन्द्रलाई जिताउन काँधका काँध थापेर आफू नै उम्मेदवार भएको भन्दा बढी खटेका कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई भने १४ हजार बढी मतान्तरसहित पराजित भएका छन् । तनहुँमा पनि माओवादी, नेकपा एस, जसपा, लोसपा लगायतले मत त दिएनन् नै कांग्रेसले समेत मत नदिएको आशंका छ । 

त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल दोस्रो पटक पराजित भएका छन् । मंसिर ४ मा काठमाडौं ६ बाट हारेका सर्वेन्द्र चार महिनाको पीडापछि फेरि अर्को पीडामा रन्थनिएका छन् । उनको पीडामा नूनचुक छर्कने काम एमालेकै नेताहरुले गरेका छन् । मंसिर ४ का एमाले उम्मेदवारको भन्दा उनको मत कम आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ