arrow

भारतको छिमेकी पहिलो नीतिमा नेपाल अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १० आइतबार
nepal-india-flag.jpg

काठमाडौं । नेपाल र भारतको सम्बन्ध ऐतिहासिक हुनुका साथै विशेष किसिमको रहेको दुवै देशले समय समयमा स्वीकार्दै आएका छन् । नागरिक नागरिक बीचको सम्बन्ध विशेष रहेको हुनाले नेपाल– भारत सम्बन्धमा राजनीतिक छायाँ पर्दा पनि उक्त सम्बन्ध सुदृढ नै रहने गरेको छ । 
देश– देशबीचको सम्बन्ध मुख्यतः ती देशका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित हुन्छन् । विगतको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धले भविष्यको सम्बन्धलाई दिशानिर्देश गरेको हुन्छ । तर नेपाल– भारत सम्बन्ध इतिहासका पुस्तकमा मात्र नभएर धार्मिक ग्रन्थ र मिथकसम्ममा समेटिएका छन् ।

भारतको छिमेकी पहिलो भन्ने नीतिमा नेपाल समेटिएको छ । सडक सञ्जालसँग जोडिनेदेखि बुद्ध सर्किटको स्थापनाले दुई देश बीचको ऐतिहासिक र धार्मिक सम्बन्ध प्रस्ट पारेको छ । भारतको केदारनाथको दर्शनपछि पशुपतिनाथको दर्शन गरेर मात्र पूरा हुने धार्मिक विश्वास रहेको छ ।

त्यसैगरी पशुपतिमा दक्षिण भारतका भट्ट मूलका पुजारी रहने प्रचलनले पनि दुई देश बीचको सम्बन्धबारे आफैँ थप व्याख्या गर्छ । 
प्राचीन कालमा आजको आधुनिक भारत वा नेपाल भन्ने मुलुक अस्तित्वमा नरहे पनि हिन्दू धर्मका प्राचीन ग्रन्थ पुराण, रामायण र महाभारतमा अहिलेको नेपाल र भारतले चर्चेको भूखण्ड र त्यस सरहदभित्रका पात्रहरूका अनगिन्ती प्रसङ्ग समेटिएका छन् । नेपाल– भारत सम्बन्धमा उपमा र अलङ्कारको जुन प्रकारको प्रयोग हुन्छ, त्यो शायदै अन्य कुनै दुई देशको हकमा देख्न सकिन्छ ।

नेपाल–भारत जनस्तरको धार्मिक, सामाजिक, सांस्कृतिक सम्बन्ध, सन् १९५० को सन्धि र खुला सिमाना उल्लेख गर्दै भारतले ‘विशेष सम्बन्ध’ मा जोड दिँदै आएको छ । नेपालले भारत र भारतले नेपाललाई आफ्नो सुरक्षाका लागि कहिल्यै खतरा मानेनन् । समयक्रममा कहिलेकाहिँ राजनीतिक असमझदारीहरू भएका भए पनि त्यो सम्बन्ध बिग्रिने स्थितिमा कहिल्यै पुगेन । 

विशेषगरी दुई देशका मानिसहरूको सम्बन्धमा भने कहिल्यै चिसो आएन । दुई देशका मानिसहरूको सम्बन्धमा रहेको प्रगाढताले जोगाएको सम्बन्ध सानोतिनो झट्काले बिग्रिँदैन भन्ने स्पष्ट भएको छ । दुई देशका नागरिकले एक अर्काको देशमा भ्रमण गर्न कुनै भिसा लिनु पर्दैन। दुवै देशका नागरिकले एक(अर्काको देशमा कानूनी रूपमा काम गर्न सक्छन् र सम्मान पनि रहने गरेको छ । 

खुला सीमानाका कारणले गर्दा नेपाली र भारतीयहरू एक अर्काको देशमा काम गर्न सहज रूपमा गइरहेका छन् । यसैगरी उच्च शिक्षाका लागि पनि धेरै नेपालीहरू भारत जाने गरेका छन् भने भारतीयहरू पनि नेपालमा पढ्ने गरेका छन् । 

युनेस्कोको सन् २०२२ को तथ्याङ्क अनुसार उच्च शिक्षाका लागि ९५ हजार २ सय ६८ नेपाली विद्यार्थी विदेशमा अध्ययन गरिरहेका छन् । त्यसमध्ये १३ हजार ५ सय ७४ भारतमा अध्ययन गरिरहेका छन् ।

नेपाल भारत सम्बन्धको अर्को पाटो नेपालीहरू भारतमा उपचारका लागि पनि जाने गरेका छन् । नेपालमा हुन नसक्ने उपचारका लागि नेपालीहरूको पहिलो प्राथमिकता भारत रहने गरेको छ । तेस्रो मुलुकमा जस्तो भिसाको आवश्यकता नपर्ने हुनाले पनि भारत नेपालीहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । 

नेपाल भारतको सम्बन्धलाई हेर्ने र मूल्याङ्कन गर्न सबैभन्दा महत्त्वपूर्ण पाटो गोर्खा सैनिक पनि हो । दुई देश बीचको विश्वास गोर्खा सैनिकहरूले देखाउने गरेका छन्। भारतले छिमेकी देशका नागरिकहरूलाई गरेको विश्वासका रूपमा पनि लिन सकिन्छ । आफ्नो सैनिक सेवामा नेपालीहरूले देखाएको वीरताको पनि भारतले खुलेर प्रशंसा गर्ने गरेको छ । 

करिब ३० हजार गोर्खा सैनिक अहिले भारतमा कार्यरत रहेका छन् र करिब १ लाख पूर्व गोर्खा सैनिकले नेपालमा पेन्सन लिने गरेका छन् । 
समय–समयमा राजनीतिक रूपमा दुई देशबीच आउने तनाव बाहेकको जनस्तरमा राम्रो रहेको सम्बन्ध भोलिका दिनमा अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ । 

दुई देशले एक अर्काको स्वार्थ र आवश्यकतालाई ध्यान दिँदै अघि बढ्ने हो भने दुई देशको सम्बन्ध अझ प्रगाढ बन्दै जानेमा दुई मत छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ