arrow

सेलिब्रेटीमय उपनिर्वाचन भित्रको रहस्य !  

logo
नारायण पौडेल,
प्रकाशित २०८० वैशाख ७ बिहिबार
article-narayan-poudel-2080.jpg

सर्वमान्य नेता गणेशमान सिंहले ‘नेपाली जनता भेँडा हुन्’ भनेका थिए । जनताले विवेक प्रयोग गरेर मतदान गर्दैनन् भन्ने सन्दर्भमा उनले यस्तो अभिव्यक्ति दिएको बताइन्छ । हुन पनि जनता परिवर्तनको बहानामा ‘भोट स्विङ’ गर्ने गर्दछन् र पछुताउँछन् । यही वैशाख १० गतेका दिन हुन लागिरहेको उपनिर्वाचनमा सेलिब्रेटी उम्मेदवारहरुकै कारण निर्वाचन निकै भड्किलो बनेको छ । 

विशेषगरी रवि लामिछाने, स्वर्णिम वाग्ले, सर्वेन्द्र खनाल, रमेश खरेलजस्ता सेलिब्रेटी उम्मेदवार भएकै कारण अहिले सबैको ध्यान उनीहरुतर्फ मात्रै केन्द्रित देखिन्छ । मूलतः नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलहरुप्रति बढ्दै गएको वितृष्णा र हुलहुज्जतप्रति युवाहरुमा बढ्दै गएको आकर्षणकै कारण यस्ता सेलिब्रेटीहरुलाई भगवान मान्न थालिएको छ ।

यी सेलिब्रेटीहरु अहिले विशेषगरी कांग्रेस महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माका लागि टाउको दुखाइ बनिरहेका छन् । कुनैबेला निकट भएर काम गरेका यी पात्रहरु अहिले एकअर्कामा दोषारोपण गरिरहेका छन् । केही समय अगाडि सम्पन्न भएको आमनिर्वाचनमा गगन थापालाई जिताउन र प्रधानमन्त्री नै बनाउने भन्दै लबिङ गरेका स्वर्णिम वाग्ले अहिले थापाविरुद्ध हुँकार गर्दै तनहुँ क्षेत्र नं. १ मा उम्मेदवार बनेका छन् भने आफू उपर सिर्जित विवादको पूर्ण समाधान नभइसकेको अवस्थामा रवि लामिछाने दोस्रोपटक चितवन क्षेत्र नं. २ मा उम्मेदवार छन् । प्रहरी सेवामा हुँदा गुण्डा नाइके भनिएका ‘कुमार घैंटे इन्काउण्टर’ को श्रेय लिँदै आईजीपीको फुली लगाएका सर्वेन्द्र खनाल र प्रहरी सेवामै उत्कृष्ट काम गरेको दाबी गर्ने रमेश खरेल पनि सेलिब्रेटीकै हैसियतमा चुनावी मैदानमा छन् ।

नेपालको आर्थिक नीति के हो र कस्तो बनाउनुपर्दछ भन्ने ज्ञानसम्म नभएका वाग्ले आफूलाई महान् अर्थविद् भएको दाबी गर्दै भावी अर्थमन्त्रीको रुपमा मत मागिरहेका छन् भने भ्रष्टाचार विरोधी डकार गर्दै मत मागिरहेका रवि लामिछाने र रमेश खरेलको विगतलाई हेर्ने हो भने कहाँ, कसरी अनि कति भ्रष्टाचार गरेका थिए, धेरै कुरा छर्लङ्ग भइसकेको छ । बाँकी कर्तुत भोलिका दिनमा सार्वजनिक हुने नै छ । 

अघिल्लो निर्वाचनमा क्षेत्र परिवर्तनका लागि विक्रम पाण्डेसँग भएको भनिएको आर्थिक लेनदेन, निलम्बित सांसद ढाकाबहादुर श्रेष्ठले मन्त्री बन्नका लागि मागेको दुई करोड रकम, कोर टिमले पैसा संकलनका लागि निर्वाह गरिरहेको भनिएको भूमिका, अमेरिका बस्दा मच्चाइएको भनिएको चन्दा आतंक, उपप्रधानसहित गृहमन्त्री भएको छोटो समयमै मन्त्रालय मातहतमा गरिएका गैरकानूनी सम्झौता गरी राज्यकोषको अर्बौं रुपैयाँ हिनामिना पारेको तथ्य बाहिर आइसकेको छ । 

त्यस्तै अर्का सेलिब्रेटी खरेलले आफ्नो कार्यकालमा ठगीधन्दा निस्तेज बनाउने अभियानमा लाख आसपासलाई छानबिन गर्ने र करोडलाई मिलाउने काम गरेको तथ्य उतिबेला नै सार्वजनिक भइसकेको थियो ।

उपप्रधान तथा गृहमन्त्रीबाट निलम्वित भएसँगै रविले आफू बर्खास्तीमा परेको झ्वाँकमा पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने अन्य मन्त्रीलाई फिर्ता बोलाए । अहिले आफू नभए अरु कोही हुन सक्दैन भनेर नै विवादित अवस्थामा पुनः चुनाव लड्दै छन् । अघिल्लो निर्वाचन प्रचारका क्रममा देउवा, ओली र प्रचण्डको खरो विरोध गरेका उनले आफ्नो स्वार्थपूर्तिका लागि तिनै नेताहरुलाई मिलाएको सत्य छिपेको छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निगाहमा मन्त्री बनेका उनी उपनिर्वाचनमा एमाले सहितको साझा उम्मेदवार हुन चाहन्थे । तर ओलीले साथ दिएनन् । अहिले उनी विशेषतः कांग्रेस महामन्त्री गगनकुमार थापा सहित कांग्रेसी मतदाताहरुसँग झोँक्किँदै हिँडिरहेका छन् । न उनको संगठन, न सिद्धान्त, न उनको राजनीतिमा कुनै योगदान, निर्वाचन जितिहाले भने पनि सत्तागठबन्धनका लागि बाहेक उनको कुनै अर्थ छैन । 

भलै उनले पत्रकारितामा राम्रो गरे होलान् तर राजनीतिमा उनले केही गरेनन् र गर्नेवाला पनि छैनन् । उनी पत्रकारितामा रहँदा पनि सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनमा सुरक्षाकर्मीको नियन्त्रणमा रहनु परेको थियो । ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गर्दा उनले पीडितबाटै करोडौँ रुपैयाँ असुल गरेको आरोप सामाजिक संजालमा त्यतिबेलैदेखि पढ्न पाइएको हो । 

त्यस्तै कांग्रेसको सिफारिसमा विदेश पढ्न गएका, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका स्वर्णिम वाग्लेको कार्यशैली उनले बताएजस्तो स्वर्णिम छैन । एउटा कर्मचारीले राजनीति गर्ने होइन, देशको सेवा गर्ने हो । अर्थविद् बताउनेले देशको आर्थिक नीति निर्माण गर्ने तहमा बसेर सरकारलाई सहयोग गर्ने हो, मन्त्री बन्छु, प्रधानमन्त्री बन्छु भनेर दौड्ने होइन । त्यो पनि एक ठाउँमा नपाएपछि अर्को ठाउँमा कुद्नु किमार्थ सही होइन । एक विज्ञले कसैलाई घुर्की लगाउने होइन, आफ्नो ज्ञानको सदुपयोग गर्ने हो र ज्ञानी मान्छे सदैव शिर ठाडो पारेर हिँड्ने हो । राजनीतिमा लागेर घृणित हुने होइन । त्यसमाथि आईए पास बताउने लामिछानेको पछाडि दौडेर वाग्लेको विज्ञता परीक्षण हुन सक्दैन ।

प्रहरी प्रशासकद्धयले पनि कसैसँग रिसिइवी साँध्नकै लागि जनतामाझ गएर यतिधेरै कुर्लन सुहाउने विषय थिएन । किनकि उनीहरुले आफू पदमा रहँदा देश र जनताका लागि जेजति योगदान गरे, गरिसके, अब केही दिनसक्ने अवस्था छैन । विगतमा नवराज सिलवाल सांसद भए भन्दैमा खनाल तथा खरेल पनि सांसद हुनुपर्दछ भन्ने छैन । 

कहिलेकाँही राजनीतिमा नसोचेको घटना हुन्छ, एउटा नागरिक जसले अब म सुध्रिन्छु भन्दै राष्ट्रिय मानवअधिकारको कार्यालयमा जीउधनको सुरक्षाको माग राख्दै निवेदन दिएको छ भन्ने जान्दा जान्दै गोली हानी हत्या गर्ने, सांसद अपहरणमा संलग्न हुने सर्वेन्द्र खनालको योगदान र प्रहरी सेवामा म भन्दा उत्कृष्ट कोही छैन भनिरहँदा प्रहरी हेडक्वाटरबाटै ‘सस्पेन्स’ मा राखिनुपर्ने रमेश खरेलको योगदानले राजनीतिमा स्थान पाउनु हुँदैन ।

राजनीति सेलिब्रेटीहरुको विधा नै होइन । अर्कोतर्फ राजनीतिका सेलिब्रेटी बताउने उपेन्द्र यादव पनि निर्वाचनको मैदानमा छन् । उनलाई सत्ता बाहिर बस्नुपर्दा निद्रा लाग्दैन । सत्तामा पुग्नकै लागि उनी निर्वाचनमा होमिएका छन् र निर्वाचनमा जित्न सके उपप्रधानमन्त्री बन्ने दाउ भन्दा बाहेक उनको कुनै उद्देश्य छैन । अर्थात् सत्ता समीकरण भन्दा बाहेक उनीमा अरु कुनै मिशन छैन । 

यस्तो परिस्थितिमा देश, जनता वा मतदाताले यिनीहरुबाट के आशा गर्न सक्छन् ? यस्ता उम्मेदवारहरुलाई जिताएर प्रधानमन्त्री वा मन्त्री बनाउनुपर्दछ भन्ने मतदाताहरुले निकै ठूलो तामझाम देखाएका छन् । तर सर्वसाधारण मतदाताहरुले चितवन क्षेत्र नं. २ बाट यसअघि जिताएर पठाएका सांसद रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दा प्रत्यक्ष लाभ के भयो ? कसैले प्रश्न गर्दैनन् किन ?

यतिमात्रै होइन, नव राजनीतिज्ञ बताउने स्वर्णिम वाग्लेले रवि लामिछानेलाई वीपीको संज्ञा दिनसम्म भ्याए । उनको चेत खुलोस्, महामानव वीपी कोइरालासँग नेपालको कुनै पनि व्यक्तिलाई हिजो, आज र भोलिसमेत तुलना गर्न मिल्दैन । केही दिन अगाडिसम्म आफूलाई कांग्रेसी दर्जामा उभ्याएका उनलाई वीपीबारे केही जानकारी त अवश्य हुनुपर्ने हो, भलै लहडमा उनले वीपीलाई भुलेका पनि हुन सक्छन् । तर निर्वाचनको संघारमा यस्ता ‘फण्डा’ निकालेर जनताको मन जित्ने सपना देखेको भए प्राविधिक रुपमा उनले चुनाव जिति नै हाले भने पनि जनतामाझ विच्छाएको सपना किन्चित पूरा हुने देखिँदैन । यो कुरा विवेकशील मतदाताहरुले मतदान गर्नु पूर्व बुझ्नु अति आवश्यक देखिन्छ ।
 
अर्कोतर्फ तनहुँका सन्दर्भमा विगतमा कांग्रेसका प्रभावशाली नेता मानिने गोविन्दराज जोशी समूहलाई अहिलेको उपनिर्वाचनमा निर्णायक मानिएको छ । उक्त समुहले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई सहयोग नगर्ने बताउँदै वाग्लेलाई मत दिने संकेत गरेको छ । 

जोशी जस्ता नेता वाग्लेको बहकाउमा किन लागे ? आखिर उनी कांग्रेस भएकै कारण लामो समयसम्म पदमा रहेका थिए । तर अहिले आएर व्यक्तिगत रिसिइबीकै कारण उनले पार्टी निर्णय विपरीतको कार्य गरे । 

त्यस्तै हालत चितवनका नेता जगन्नाथ पौडेलको छ । आखिर रविबाट उनीहरुले के पाउँछन् ? तथापि तनहुँका जोशी र चितवनका पौडेल समूहमा आवद्ध नेता तथा कार्यकर्ताहरु कांग्रेस समर्थित मतदाता भएको हुँदा उनीहरुकै दबाबमा त्यति ठूलो प्रभाव पर्ने छैन । किनकी गोविन्द भट्टराई र जितनारायण श्रेष्ठ तनहुँ तथा चितवनमै जन्मी हुर्की त्यहीँका जनताहरुको दुःखसुखमा निरन्तर खटिरहेका नेता हुन् । 

इतिहासमा केही त्यस्ता पात्रहरु हुन्छन् जसले अकल्पनीय ढंगले निर्वाचन त जित्छन् तर त्यस्ता व्यक्तिहरु छिट्टै हराउँछन् । सेलिब्रेटीमय बनेको बैशाख १० गतेको उपनिर्वाचनमा उम्मेदवार बनेका सेलिब्रेटीहरुको हालत पनि त्यही हुन सक्छ । लामिछानेले उपप्रधानसहित गृहमन्त्री बने लगत्तै गरेको गैरकानूनी सम्झौता, वाग्ले, खनाल र खरेलको विगत एकपटक सबैले मनन गरी आम मतदाताहरुले सुझबुझपूर्ण तवरमा मतदान गरी आफ्नै माटोमा भिजेको, आफूहरुको दुःखसुखमा साथ दिएको, जनताहरुलाई अलमलमा राख्ने फण्डा नजानेको, वैचारिक तथा संघर्षमय इतिहास बोकेका उम्मेदवारहरुलाई विजयी गराई लोकतन्त्रको संस्थागत विकासमा टेवा पुर्याउने अभियानमा सहयोग गर्नुपर्ने अभिभारा आएको छ ।

अन्त्यमा यो मुलुक कृष्णप्रसाद भट्टराई, सुशील कोइराला जस्ता व्यक्तिहरुले निर्वाचनमा पराजय भोगेको ठाउँ हो । उनीहरुले निर्वाचन हार्नुपर्ने कारण के थियो ? रवि लामिछाने, स्वर्णिम वाग्ले, रमेश खरेल, सर्वेन्द्र खनाल जस्ता पात्रहरुले निर्वाचन जित्नुपर्ने कारण के छ ? यिनीहरुले चुनाव जितेपछि देश र जनताको समृद्धिका लागि के हुनसक्छ ? कहिँ न कहिँ यी पात्रहरु ‘टेस्टेड’ भइसकेका छन् । 

उनीहरु विगतमा जहाँ थिए, जे गरे, त्यो भन्दा बाहेक अरु यी व्यक्तिहरुबाट देश र जनताले अपेक्षा गर्न सक्ने अवस्था छैन । रविले सत्ता प्राप्तिका लागि कहाँ–कहाँ वार्गेनिङ गरे ? सत्ताच्यूत हुँदा क–कसलाई गाली गरे ? जनप्रतिनिधिको मर्यादा कायम गरे कि गरेनन् ? अहिले मत मागिरहँदा कस्ता भाषण गरिरहेका छन् ? वाग्लेले टिकट नपाएकै बहानामा काँग्रेस किन छाडे ? पूर्व प्रहरी प्रशासकहरुको राजनीतिक मोह के का लागि हो ? यी यावत् विषयहरुमा मतदाताहरु चनाखो हुनुपर्ने समय आएको छ । (लेखक अधिवक्ता हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ