डोक्लाम विवादमा भुटानलाई सचेत रहन एनालेटिकाको सुझाव
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
934
Shares
काठमाडौँ। चीन, भुटान र भारत बीचको विवादित क्षेत्र डोक्लाममा चीनले भुटानलाई आफ्नो मिठो र चिल्लो कुरामा फसाएको भन्दै 'रेड अलर्ट एनालेटिका'ले भुटानलाई सचेत रहन आग्रह गरेको छ।
सन् २०१७मा डोकलाम क्षेत्रमा चीनले एक सडक निर्माण विषयमा भारतीय सशस्त्र बलहरू र चीनको जनता लिबरेशन आर्मी बीच भएको निरन्तर सैन्य सिमाना गतिरोध नै डोकलाम विवादको रूपमा बुझिने गरिन्छ।
उक्त त्रिदेशीय विवादित स्थानमा पछिल्लो समय भुटानका प्रधानमन्त्री लोते छिरिङले चीनको पनि डोक्लाम विवादमा बराबरको हिस्सा रहेको छ भन्ने भनाइले चीनले भुटानलाई दिएको दबाब प्रस्ट देखिने एनालेटिकाले प्रेस विज्ञप्तिमा भनेको छ।
चीनको चिल्लो र मिठो कुरामा नफस्न नत्र भुटानको स्थिति पाकिस्तान र श्रीलङ्का जस्तो हुने भन्दै सचेत पनि गराइएको छ। पछिल्लो समय पाकिस्तान र श्रीलङ्का चीनको ऋण पासोमा परेर आर्थिक अवस्था नाजुक रहेको स्थितिमा रहेका छन्।
सन् २०२०मा सीमा विवाद समाधानको लागि चीनले भुटानलाई ‘प्याकेज समाधान’को प्रस्ताव दिएपछि यसले भारत त्रसित भएको थियो । चीनले भुटानलाई जमिन साटफेरको प्रस्ताव दिएको थियो जुन भारतको लागि सुरक्षाका दृष्टिले खतरनाक हुने भन्दै नयाँ दिल्ली तरङ्गित भएको थियो।
प्रस्ताव अनुसार चीनले भुटानको उत्तरी क्षेत्रमा रहेको विवादित भूमि भुटानलाई दिने र यसको बदलामा भुटानले डोकलाम समेत भुटानको पश्चिमी सीमा क्षेत्रको विवादित भूमि चीनलाई दिने प्रस्तावलाई भुटानले ठाडै अस्वीकार गरेको थियो।
यसअघि पनि चीनले भुटानको जमिन आफ्नो भन्दै नक्सा सार्वजनिक गर्ने लगायतका काम गर्दै आएको छ। चीनको नजर भुटानको जमिनमा रहेको धेरै भइसकेको छ। चीनले डोक्लाममा विवादित जमिन दक्षिण तिर सार्ने प्रयास गरिरहेको छ जसले उसको डोक्लामको मूल विवादित क्षेत्र उसको हुन जानेछ। भुटान यसबारे सचेत रहनु पर्ने विज्ञप्तिमा जनाइएको छ।
रेड अलर्ट एनालेटिकाले भुटानलाई आफ्नो अधिकारका लागि खडा रहन र चीनको मिठो कुरामा नफस्न सचेत गराएको छ। डोक्लाम क्षेत्रको विवादमा भुटानले चीनसँग कुनै पनि किसिमको सम्झौता गर्न नहुने बताइएको छ।