arrow

सामान्य ग्रहगोचर रहेको यस्तो हुनेछ मीनको यो वर्ष 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-min-pisces.jpg

काठमाडौं । यो वर्ष तपाईका ग्रहगोचर सामान्य जस्ता छन् । शनिको आद्य साढेसाती दशा हुनाले त्यत्ति राम्रो समय देखिँदैन । मानसिक अशान्ति, कामकार्यमा अरुषि, कृषि तथा पशुचौपायाबाट हानि हुनेछ । वाहन दुर्घटना, यश–आत्मबल–इच्छाशक्ति–मानप्रतिष्ठा आदिमा ह्रास, अनावश्यक व्यय, स्वजनको सहयोग र सद्भावमा पनि कमी होला । 

भित्र कतै अनिष्टको भयले मनमा विचलन र उद्विग्नता रहनेछ । गुप्त शत्रु क्रियाशील हुनाले सदैव अवाञ्छित स्थितिको अवस्था रहनेछ । स्वास्थ्यको क्षेत्रमा पनि कुनै नवीन रोगव्याधको संकेत मिल्न जानेछ ।

दोस्रो गुरुले जागिर र स्वव्यवसायमा केही सफलता दिलाउने छ । वर्षारम्भबाट आश्विन मासान्तसम्मका राहु केतुले मानसिक क्लेश दिने देखिन्छन् । श्रमिक, वैतनिक तथा व्यावसायिक मार्ग केही सफल, न्याय तथा वैदेशिक क्षेत्रमा आशिक फल दिने रहनेछ । 

यसैगरी बृहस्पतिको गोचर अनुकूल रहनाले यो वर्ष मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने, सामाजिक तथा परोपकारका काममा सहभागी हुन सक्ने, आयआर्जन बढ्ने, पढाईमा सफलता मिल्ने समय छ । राहु, केतु तथा शनिको गोचरका कारण कानुनी झमेलामा पर्न सक्ने, आफन्तसँग मनमुटाव हुन सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने रहेकाले सतर्क रहनुपर्ने देखिन्छ ।

स्वास्थ्यः बृहस्पतिको दोश्रो गोचरका कारण स्वास्थ्य राम्रो रहन सक्ने, पहिले रहेका स्वास्थ्य सम्बन्धित समस्या हट्ने वा कम हुन सक्ने रहेपनि शनि ग्रहका कारण सामान्य स्वास्थ्य सम्बन्धित समस्या बेलाबेलामा देखा पर्न सक्छन् । 

व्यापार, व्यवसाय र आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष मध्यम देखिन्छ । बृहस्पतिको शुभ प्रभावले यो वर्ष शैक्षिक, कृषि तथा पशुपालन, आयात तथा निर्यात, तरल पदार्थको व्यवसाय, वित्तिय क्षेत्र आदि राम्रो रहन सक्ने समय छ । कलकारखाना, जग्गाजमिन, वैदेशिक क्षेत्र, निर्माण क्षेत्र आदि भने यो वर्ष सामान्य रहन सक्ने समय छ । आयआर्जन पनि यो वर्ष मध्यम रहन सक्छ । आर्थिक दृष्टिले जेठ, भदौ, पुस र माघ महिना शुभ रहेका छन् ।

पेशा, रोजगार र शिक्षाः सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रका व्यक्तिहरुले यो वर्ष राम्रो सफलता प्राप्त गर्न सक्ने समय छ । यस्तै, बैङ्क तथा वित्तीय क्षेत्र तथा प्रशासनिक कर्मचारीहरुको पनि यो वर्ष पदप्रतिष्ठा तथा मानसम्मान बढ्ने समय रहेको छ । प्राविधिक तथा वैदेशिक क्षेत्रमा रहेका व्यक्तिहरुको लागि यो वर्ष सामान्य रहन सक्छ । पठनपाठनका दृष्टिले यो वर्ष राम्रो देखिन्छ । 

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध राम्रो रहन सक्छ । प्रेम जीवनमा रहेका व्यक्तिहरुको प्रेम सम्बन्ध अझ बलियो हुन सक्छ । वैवाहिक जीवनमा पतिपत्नीको सहयोग प्राप्त हुन सक्छ। रमाइलो पारिवारिक यात्रा हुन सक्छ भने आफन्तसँगको सम्बन्ध पनि सुमधुर हुन सक्छ । 

शुभ रंग र अङ्कः मीन राशिका लागि यो वर्ष पहेंलो, सेतो तथा रातो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु  १, ५, ७, ८ रहेका छन् । 

उपायः मीन राशि भएका व्यक्तिहरुले शनि तथा राहुकेतुको ग्रह शान्ति पूजा गर्दा राम्रो हुन्छ । शनिबार शनिदेव भैरवको दर्शन गर्दा, कुकुरलाई खान दिंदा पनि ग्रहको अशुभफल कम हुन सक्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ