arrow

वार्षिक राशिफल २०८०

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-yearly.jpg

वार्षिक फल : श्री संवत् २०८० साल पिङ्गलनामक संवत्सर र दशाधिकारी ग्रहहरूमा राजापदमा बुध, मन्त्रीपदमा शुक्र सस्येशपदमा चन्द्र, रमेशपदमा बुध, नीरसेशपदमा चन्द्र मेघेशपदमा गुरु धान्येशपदमा शनि फलेशपदमा गुरु धनेशपदमा सूर्य दुर्गेशपदमा गुरु रही ग्रहपरिषद् गठित भएर वर्षारम्भ भएको छ ।

आ–आफ्नो कार्यभार सुसम्पन्न गर्न सबै ग्रह कटिवद्ध एवं प्रयत्नशील रहने छन् । ग्रह परिषद्मा ८० प्रतिशत शुभग्रह र २० प्रतिशत अशुभग्रहको सहभागीता रहेको छ । पिङ्गलनामक संवत्सर र शुभाशुभ ग्रहको विवेचना गर्दा यस वर्षको जागतिक परिस्थिति नाम उत्साहजनक नै देखिन्छ । राजा बुध र मन्त्री शुक्रमा आपसी मित्रताको सम्बन्धले गर्दा शासकीय कार्यमा सकारात्मकताको स्थिति रहने छ ।

यसले केही सुधारात्मक मार्गमा रहेको अनुभूति होला । वर्षको आरम्भ कन्या लग्नमा भएको छ । समग्रमा जगल्लग्न लग्नेश र अन्य दशाधिकारी ग्रहहरूको माध्यमबाट यस वर्षमा निम्नानुसार शुभाशुभ फल प्राप्त हुनेछ । लग्नेश बुध अष्टम स्थानमा रहेको छ ।

क्रुर ग्रहले ग्रस्त हुनाले त्यति सफल नभए तापनि देशको सकल घरेलु उत्पादनमा केही वृद्धिकर अवश्य रहनेछ । बुध रसेश पनि हो । अतः रसवस्तुमा केही कमी हुनेछ । दशमस्थ मङ्गल राज्यकार्यमा सफल सिद्ध हुनेछ । नवीन रोजगारको उपलब्धता बढ्नाले सामान्यजनमा केही सुविधा हुने र उत्साहको वातावरण बढ्दै जानेछ ।

नवमेश शुक्र नवमभावमा स्वगृही तथा पञ्चमस्थानमा चन्द्रमा रहेको हुनाले शिक्षा र धार्मिकक्षेत्रमा राम्रै हुने विश्वास गर्न सकिन्छ । धार्मिक क्षेत्रमा जागरुकता बढ्ने देखिन्छ । पष्ठेश स्वगृही शनि रहेको हुनाले रोग र शत्रु निवारणकारक सिद्ध होला । शनि धान्येश पनि हुनाले कृषिक्षेत्रमा राम्रै हुनेछ, बर्खे वाली राम्रो होला ।

मेघेश पदको गुरु समूचित वर्षाकारक रहनेछ । दूध र दुग्धजन्य पदार्थ, वनस्पति, रसवस्तु, फलफूल, सागसब्जी आदिमा सामान्यतः समता नै रहनेछ । यसैगरी सुवर्ण, मुद्रा, इन्धन, रजत, लौह आदिको मूल्यमा केही सकारात्मक परिवर्तन हुनेछ । यस वर्ष कृषि उपज तथा वैदेशिक विप्रेषणमा केही वृद्धि हुनाले समग्र अर्थतन्त्रमा सुधार देखिनेछ । कृषक तथा श्रमिक वर्गलाई सामान्य तथा व्यापारी, कर्मचारी, शिल्पकार आदि वर्ग प्रायः सन्तोषी रहने देखिन्छ । वर्षको पूवार्ध भन्दा उत्तरार्ध बढी राम्रो रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

वार्षिक राशिफल :

मेष : यस वर्ष तपाईका ग्रह सामान्यतया राम्रा छन् । पहिलो वृहस्पति केही अनुकूल हुने हुनाले शैक्षिक क्षेत्रमा केही सफलता मिल्नेछ । तर केही मानसिक तनाव पनि हुनेछ । कुम्भ राशिमा रहेको एकादश शनिले अनेक माध्यमबाट आर्थिक लाभ हुनेछ, स्थिर सम्पत्तिमा पनि निकै वृद्धि हुनेछ । कृषि तथा व्यावसायिक उन्नति भएपनि तर आर्थिक लेनदेनमा विवाद पर्न सक्ने देखिन्छ ।

आश्विनसम्म प्रथम राहु र सातौं केतु त्यत्ति सहयोगी छैनन्, व्यर्थको विवाद र झमेला उत्पन्न हुन सक्ने हुनाले सावधानी हुन आवश्यक छ । आफ्नो, मातापिता वा दाम्पत्यमा स्वास्थ्य बाधा उत्पन्न हुन सक्नेछ । कात्तिकबाट भने स्थितिमा सुधार आउने, परिवारजनको सुखमा वृद्धि हुनेछ । विद्यार्थी वर्गले विशेष परिश्रम गर्नुपर्ने, कृषक र जागिरे वर्ग प्रायः सन्तोषित रहने वर्ष रहेको छ ।

जागिरमा पदोन्नति हुने ग्रहयोग पनि देखिन्छ । यस्तै, सवारीसाधन, जग्गाजमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ । स्वास्थ्य भने सामान्य रहन सक्छ । वर्षको पूर्वार्धको समयमा स्वास्थ्य कमजोर रहन सक्छ भने वर्षको उत्तरार्धमा स्वास्थ्यमा सुधार आउनेछ । अध्ययन अध्यापनको क्षेत्रको यो वर्ष सामान्य रहन सक्छ ।

प्रेम तथा पारिवारिक जीवनमा वर्षको पूर्वार्धमा केहि असमझदारी रहेपनि वर्षको उत्तरार्धमा सुधार आउन सक्छ र परिवारमा मांगलिक कार्यहरु हुन सक्छन् ।

स्वास्थ्यः बृहस्पति ग्रहको प्रथम गोचर र राहु ग्रहको पनि असोजसम्म प्रथम गोचरमा रहने र केतु ग्रह सप्तम गोचरमा रहने भएकाले यो समयमा टाउको दुख्ने, शरीरमा कमजोरी देखा पर्ने, आलस्यता हुने, रिस धेरै उठ्ने हुन सक्ने रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिंदा राम्रो हुन्छ । कार्तिकबाट केतु ग्रहको गोचर छैटौँ स्थानमा हुने भएकाले शारीरिक कमजोरी हट्ने तथा शरीर फुर्तिलो हुने योग छ । तर चोटपटकको भय भने रहन्छ ।

व्यापार–व्यवसाय–आर्थिकः शनि ग्रहको एकादश स्थानको गोचरको प्रभावले निर्माण सामग्रीको उद्योग, फलाम सम्बन्धित विभिन्न व्यवसायहरु, सवारीसाधनको खरिदविक्रि सम्बन्धि व्यवसाय, लत्ता कपडाको उद्योग तथा व्यापार, कृषि तथा पशुपालन व्यवसायको यो वर्ष राम्रो रहन सक्छ । फेशन डिजायन तथा सुन्दरता सम्बन्धित व्यवसाय भने यो वर्ष सामान्य रहन सक्छ । शनि ग्रहको एकादश गोचरले गर्दा यो वर्ष आयआर्जन बढ्न सक्ने र दिर्घकालीन लगानी हुन सक्ने समय छ । शेयर बजारबाट सामान्य लाभ को अपेक्षा गर्न सकिन्छ । असार, असोज, माघ र फागुन महिना आर्थिक क्षेत्रका लागि शुभ रहेका छन् ।

पेशा–रोजगारः वैदेशिक तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति तथा सफलता प्राप्त गर्न सक्ने योग छ । पेशाको सिलसिलामा स्थान परिवर्तन हुने तथा थप जिम्मेवारी वहन गर्नुपर्ने समय छ । कामबाट अपजसको सामना गर्नुपर्ने हुन सक्छ ।

प्रेम सम्बन्धः केतु ग्रहको सप्तम गोचरले असोजसम्मको समय प्रेम तथा वैवाहिक जीवनमा असमझ्दारी र विवाद आउन सक्ने समय रहेकाले ध्यान दिनुपर्ने समय छ । अन्य पारिवारिक सम्बन्धहरु यो समयमा सामान्य देखिन्छ । कार्तिकबाट केतुको गोचर परिवर्तन हुनाले प्रेम तथा वैवाहिक जीवनमा रहेको समस्या हट्ने र सम्बन्ध सुधार हुन सक्ने समय रहेको छ ।

शुभ रंग–अङ्कः यो वर्ष सेतो, खैरो, पर्पल र पहेलो रङ्ग शुभ रहन सक्छ । यस्तै १, ३, ७, ९ अङ्क शुभ रहेका छन् ।

उपायः तपाईले बृहस्पति र राहुको अशुभ गोचरफलको निवारणका लागि जप–पाठ तथा ग्रहशान्ति पुजा गर्न सक्नुहुन्छ । तपाईंले बिहीबारको दिन भगवान विष्णुको पूजापाठ तथा दर्शन गरेर पनि गोचरको बृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ ।

वृष : २०८० सालमा तपाईका ग्रहस्थिति साधारणतया मध्यम रहनेछ । गुरु द्वादश हुने हुंँदा व्यावहारिक झमेला, आर्थिक विषमता, मानसिक तनाव हुनेछ । व्यर्थको यात्रा होला, गुप्तशत्रुबाट हानि हुनसक्ने देखिन्छ । शनि केही अनुकूल रहेको हुनाले सामाजिक र राजकीय कार्यमा सफलता मिल्नेछ ।

न्यायालयसम्बन्धी विवादमा विजयी भइनेछ । सावधानीपूर्वक गरेका सबै कार्य सफल हुनेछ । नवीन सम्पत्ति खरिद गर्ने योग बन्न यस वर्ष देखिन्छ । बाह्राैँ स्थानमा रहने राहुका कारण अपव्यय हुने सक्नेछ । व्यर्थको खर्चबाट जोगिनु नै राम्रो हुनेछ । छैठौं केतुका कारण सुखदाता र सहयोगीहरु भेटिनेछन् ।

दाम्पत्य र परिवारिक जीवन सुखद् रहनेछ । समामा मानप्रतिष्ठा बढ्नेछ । जागिरमा प्रदोनतिको योग देखिन्छ, व्यवसायी कारोबारीहरूलाई आशिक लाभ पाइने देखिन्छ । माघ–फाल्गुन महिनामा धार्मिककृत्य वा मङ्गलकायको पनि सम्भावना रहला, तीर्थाटनको पनि योग देखिन्छ । यसैगरी सवारी साधन, जग्गा जमिन, रोजगारी, वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी गर्न सक्ने योग छ । स्वास्थ्य स्थिति वर्षभरि नै सामान्य रहन सक्छ ।

वर्षको पूर्वार्धको समयमा खर्च बढ्ने, काममा ढिलासुस्ती हुने रहेपनि वर्षको उत्तरार्धबाट सुधार हुन सक्ने समय छ । पढाइमा उचित समय दिन नसक्दा विद्यार्थीले उचित नतिजा प्राप्त गर्न गाह्रो हुन्छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको बाह्रौं गोचर र शनि ग्रहको दशौँ गोचरका कारण स्वास्थ्य सामान्य रहन सक्छ । नशा सम्बन्धित तथा बोसो सम्बन्धित समस्या यो समयमा देखिन सक्छ । वर्षको पूर्वार्धको समय स्वास्थ्य सम्बन्धित समस्या रहन सक्ने भएपनि उत्तरार्धबाट सुधार आउन सक्ने सम्भावना छ ।

व्यापार, व्यवसाय, आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष मध्यम देखिन्छ । शनि ग्रहको गोचर दशौँ स्थानमा रहने भएकाले ढिलासुस्ती बाबजुत कठोर प्रयासले कामहरु बन्न सक्छन् । अनावश्यक विवादमा अल्झिंदा बन्न लागेको काम बिग्रिन सक्ने, व्यवसायबाट घाटा हुन सक्छ । वर्षको उत्तरार्धबाट राहु ग्रहको एकादश गोचर रहने भएकाले व्यापार व्यवसायमा सुधार आउन सक्छ । धार्मिक तथा परोपकारको क्षेत्रमा पनि केहि खर्च हुन सक्छ । यो वर्ष शेयर बजारबाट त्यति राम्रो अपेक्षा गर्न सकिंदैन । आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिना शुभ रहेका छन् ।

पेशा, रोजगारः वैदेशिक क्षेत्र तथा पर्यटन तथा होटल सम्बन्धित क्षेत्रमा काम गर्ने व्यक्तिहरुले वर्षको उत्तरार्धबाट सामान्य लाभ लिन सक्छन् भने सरकारी तथा बैकिङ्ग क्षेत्रमा काम गर्नेहरुको समय सामान्य नै रहन सक्ने भएकाले ठूलो प्रगतिको अपेक्षा गर्न सकिंदैन । कामको कारणले यात्रा गर्नुपर्ने र यात्रा मध्यम फलदायी रहने समय छ ।

प्रेम सम्बन्धः प्रेम तथा पारिवारिक जीवन यो वर्ष मध्यम नै रहने देखिन्छ । केही असमझ्दारी र विवाद पारिवारिक तथा प्रेम जीवनमा देखिए पनि वर्षको अन्त्यतिर समस्या हट्ने र पारिवारिक जीवन राम्रो हुन सक्ने समय छ । प्रेम जीवनमा रहेकाहरु आफ्नो प्रेमीको साथ रमाइलो यात्रामा सहभागी हुन सक्ने योग छ ।

शुभ रंग, अङ्कः वृष राशिका लागि यो वर्ष सेतो, गुलावी, पहेंलो र निलो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु २, ४, ६, ७ रहेका छन् ।

उपायः वृष राशिका व्यक्तिहरुले शनिबारको दिन बिहान पीपलमा जल चढाउँदा, हनुमानजीको स्मरण गर्दा र बिहीबारको दिन तपाईंले बिहीबारको दिन भगवान विष्णुको पूजापाठ तथा दर्शन गरेर पनि गोचरको शनि र वृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ । शनि तथा वृहस्पतिको अशुभ गोचर फलको निवारणको लागि जप÷पाठ तथा ग्रहशान्ति पूजा गर्न सक्नुहुन्छ ।

मिथुन : यस वर्ष तपाईंको ग्रहगोचर राम्रो छ । एकादश गुरु आय आर्जनमा सहयोगी सिद्ध हुनेछ । परिवारमा केही उत्साहजनक वातावरण रहनेछ । जग्गा जमीन र वाहन किन्नुका साथै व्यवसायमा पनि राम्रै लाभको स्थिति देखिन्छ । कुनै नयाँ व्यवसाय प्रारम्भ हुने वा अचल सम्पत्ति जोडिने पनि देखिन्छ ।

एकादश राहु पनि अनेकौं स्रोतबाट प्रशस्त आम्दानी गराउन प्रतिवद्ध देखिन्छ । व्यवसायी–शेयर कारोबारीहरूलाई पर्याप्त लाभ मिल्नेछ । पञ्चम केतुका कारण सक्ने देखिन्छ । विद्यार्थी वर्गले विशेष परिश्रम गर्नुपर्ने देखिन्छ । विद्यामागमा अवरोध हुनेछ भने सन्तान पक्षमा पनि समस्या उत्पन्न हुनेछ ।

कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवाद पन सक्ने हुनाले आफैँ जोगिनु राम्रो हुनेछ । यसैगरी रोकिएका कामहरु सम्पादन हुने, पद प्रतिष्ठा बढ्ने, व्यवसाय विस्तार हुने, स्वास्थ्य राम्रो रहने, आयआर्जन तथा धनको संग्रह बढ्ने, प्रेम तथा पारिवारिक जीवन राम्रो रहने समय छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको एकादश गोचरको शुभ प्रभावले समग्रमा यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ । तर शनि ग्रहको नवौँ गोचरले गर्दा खुट्टा झमझमाउने तथा छाती सम्बन्धित सामान्य समस्या आउन सक्छ ।

व्यापार, व्यवसाय, आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ । वृहस्पति ग्रहको शुभ गोचरका कारण शैक्षिक तथा सामाजिक क्षेत्रका व्यवसायले यो वर्ष राम्रो राम्रो आम्दानी गर्न सक्छन् । वित्तीय क्षेत्रका व्यक्तिहरुले पनि राम्रो नाफा आर्जन गर्न सक्ने समय छ । सवारी साधन, खाद्यान्न आदिको व्यवसाय भने सामान्य नै रहन सक्छ । कृषि क्षेत्र पनि यो वर्ष राम्रो रहेको छ । वैशाख, भदौ, मङ्सिर र चैत महिनामा आर्थिक प्रगति हुने महिना रहेका छन् ।

पेशा, रोजगारः शैक्षिक तथा सामाजिक संस्था, धार्मिक क्षेत्र आदिका व्यक्तिहरुले यो वर्ष आर्थिक उन्नति गर्ने तथा सामाजिक मानसम्मान प्राप्त गर्न सक्ने समय छ ।

प्रेम सम्बन्धः यो वर्ष प्रेम जीवन राम्रो रहन सक्छ । विवाहको समय भएका व्यक्तिहरुको विवाह हुन सक्छ । सन्तान प्राप्त गर्न चाहने दम्पतिहरुले यो वर्ष सन्तान प्राप्त गर्न सक्छन् । माता पितासँगको सम्बन्ध पनि राम्रो रहन सक्छ । सन्तानबाट खुसी मिल्न सक्छ । दाजुभाईसँग सामान्य विवाद हुन सक्ने रहेपनि सम्बन्ध राम्रो रहन सक्ने छ ।

शुभ रंग, अङ्कः मिथुन राशिका लागि यो वर्ष हरियो, सेतो, गुलाबी र रातो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु १, ३, ६, ९ रहेका छन् ।

उपायः मिथुन राशिका व्यक्तिहरुले शनिबारको दिन बिहान पीपलमा जल चढाउँदा, हनुमानजी तथा भैरवजीको स्मरण गर्दा राम्रो हुनेछ । शनि तथा केतुको ग्रहशान्ति गर्दा पनि शुभ हुनेछ ।

कर्कट : यस वर्ष कर्कट राशिका ग्रह त्यत्ति राम्रा छैनन् । आठाैँ (अढैया) शनिले गर्दा कार्यमा विलम्ब हुनेछ । दुःख, परेशानी आइपर्नेछ । शारीरिक कष्टले पनि सताउने, परिवारमा पनि मनोमानिल्यता हुनेछ । जागिरमा अवाञ्छित स्थानान्तरण हुनेछ । कुनै मुद्धा मामिला आइलाग्नेछ । आफ्नो इष्टमित्रबाट पनि धोका पाइने छ ।

शेयर कारोबारमा आंशिक लाभ देखिए पनि जोखिम नलिनु नै राम्रो हुनेछ । दशम गुरु केही अनुकूल हुनाले आफ्नो व्यवसाय र राज्यकार्यमा केही सन्तोष हुनेछ । वर्षारम्भमा केतु चौथो र राहु दशौं रहने भएकाले जागीरमा कलह र वादविवाद उत्पन्न हुनेछ । चौथो केतुका कारण यदाकदा आकस्मिक लाभ पनि मिल्न सक्नेछ ।

आश्विन मशान्तपछि राह–केतुको राशि परिवर्तले केही राहत दिने देखिन्छ । यस वर्ष कुनै ऋण लिनु र दिनुबाट जोगिनु उचित रहला । यसैगरी वृहस्पति, शनि, राहु आदिका गोचर अनुकूल नरहेकाले पारिवारिक विवाद पनि बढ्न सक्ने, शत्रुबाट समस्या हुने, मानसिक तनाव बढ्ने, सञ्चित धनको नाश हुन सक्ने, पढाईमा रुचि नलाग्ने, शारीरिक आलस्यता बढ्ने समय रहेको छ ।

स्वास्थ्यः गोचरको अष्टम शनि तथा अढैया शनिको प्रभावले गर्दा स्वास्थ्य स्थिति त्यति अनुकूल नरहन सक्छ । सवारी साधन, अग्लो स्थान तथा ढुंगाबाट चोटपटक लाग्न सक्छ । मुखमा घाउ आउनुका साथै टाउको दुख्ने तथा आखाँ सम्बन्धित समस्या देखा पर्न सक्ने भएकाले ध्यान दिनुपर्ने देखिन्छ । वर्षको अन्त्यतिरबाट स्वास्थ्यमा सुधार आउन सक्छ ।

व्यापार, व्यवसाय, आर्थिकः वृहस्पति ग्रहको गोचर दशौँ स्थानमा रहने भएकाले व्यापार तथा व्यवसायबाट घाटा हुन सक्छ । टेक्निकल तथा मेडिकलको क्षेत्र सामान्य नै रहेपनि शैक्षिक तथा कृषि क्षेत्रमा केही बाधा आउन सक्छ । वर्षको उत्तरार्धबाट वैदेशिक क्षेत्रका काम बन्नुका साथै व्यापार व्यवसायबाट मध्यम लाभ हुने समय छ । तीर्थयात्रा तथा अन्य भ्रमण पनि यो वर्ष हुन सक्छ । शेयर बजारबाट नाफा कमाउने समय छैन । आर्थिक दृष्टिले वैशाख, जेठ, असोज र पुस महिना शुभ रहेका छन् ।

पेशा, रोजगारः वर्षको पूर्वार्धमा काममा समस्या आउने, अपजस सहनुपर्ने तथा प्रतिष्पर्धी तथा विरोधीहरु हावी हुनाले काममा सङ्कट आउन सक्ने समय रहेकाले ध्यान दिनुपर्छ । वर्षको उत्तरार्धबाट काममा सुधार तथा मानसम्मान प्राप्ति, शत्रुलाई पराजित गर्न सकिने समय छ ।

प्रेम सम्बन्धः यो वर्ष प्रेम जीवन तथा पारिवारिक जीवन सामान्य रहन सक्छ। पिता तथा पत्नीको स्वास्थ्य केही कमजोर रहन सक्छ । वैवाहिक जीवनमा विश्वासको सङ्कट देखा पर्न सक्ने भएकाले एक अर्काको भावना बुझ्नु पर्ने हुन्छ । प्रेम सम्बन्धमा रहेकाहरुले आफ्नो प्रेमी–प्रेमिकाको मन जित्न अलिक प्रयास गर्नुपर्ने हुन्छ । वर्षको अन्तिम तिरबाट प्रेम तथा पारिवारिक जीवनमा सुधार हुन सक्छ ।

शुभ रंग, अङ्कः कर्कट राशिका लागि यो वर्ष हरियो, सेतो तथा पहेंलो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु २, ३, ६, ७ शुभ रहेका छन् ।

उपायः कर्कट राशिका व्यक्तिहरुले वृहस्पति, शनि तथा राहु केतुको ग्रहशान्ति पूजा जप गर्दा राम्रो हुन्छ । शनिबार सात्विक भोजन गर्ने, हनुमानजी तथा भैरवजीको दर्शन गर्ने गर्दा पनि शनि राहुको गोचरजन्य अशुभ फल कम हुन सक्छ ।

सिंह : २०८० सालमा सिंह राशि भएकाहरुका ग्रहस्थिति राम्रा छन् । गुरु नवौं रहने हुनाले पुत्रकलत्रादिबाट हुने सुख सुविस्ता, मित्र बान्धवको सहयोग आदिबाट पनि सन्तोष हुने छ । वैदेशिक व्यापार र श्रम दुबै क्षेत्रमा लाभ मिल्नेछ । मानसिक प्रशन्नताले उत्साहवर्धन पनि होला । नवौं राहु भने धार्मिककृत्यमा केही बाधा हुन सक्नेछ जसका कारण सट्टा वा शेयर बजारबाट टाढै बसेको राम्रो हुनेछ ।

आश्विनपछि हुने राहु केतुको राशि परिरवर्तन केही कष्टकारक हुन सक्ने देखिन्छ । सातौं शनिले गर्दा आफ्नो वा दाम्पत्यको शारीरिक स्वाथ्यमा केही समस्या पनि आउनेछ, त्यसतर्फ विशेष ध्यान दिनु जरुरी छ । व्यापारी तथा नोकरी पेशा राम्रो रहनेछ । स्वव्यवसायमा राम्रो लाभ मिल्ने भए पनि अत्यधिक संयम र सावधानी हुन आवश्यक छ ।

यसैगरी वर्षभरि बृहस्पति ग्रहको गोचर नवम रहने र केतु ग्रहको गोचर असोजसम्म तेश्रो स्थानमा शुभ फलदायी रहनाले कार्य सिद्धि हुनेछ । आर्थिक र भौतिक सुख प्राप्त हुन सक्छ । भूमिको लाभ हुनुका साथै नयाँ सवारीसाधन किन्न सक्ने समय छ । धार्मिक तीर्थस्थलहरूको भ्रमण हुनेछ । नोकरी तथा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ ।

स्वास्थ्यः बृहस्पतिको नवम गोचर शुभदायी रहनाले स्वास्थ्य स्थिति समग्रमा यो वर्ष राम्रो नै रहनेछ । शनिको सप्तम गोचरका कारणले बेलाबेलामा टाउको दुख्ने, नशा सुन्निने तथा छाती दुख्ने आदि हुन सक्ने सम्भावना रहेकाले स्वास्थ्य ध्यान दिनुपर्छ ।

व्यापार, व्यवसाय र आर्थिकः बृहस्पति ग्रहको गोचर नवम गोचरका प्रभावले यो वर्ष घरजग्गा, पर्यटन, शैक्षिक सामाग्री, फेशन, डिजायन, कृषि आदिको व्यापार व्यवसाय सञ्चालन गर्ने व्यक्तिले विशेष फाइदा लिन सक्ने समय छ । कानूनी तथा राजनीतिक क्षेत्रमा लागेका व्यक्तिहरुले पनि यो वर्ष प्रगति गर्न सक्छन् ।

निर्माण सम्बन्धित व्यवसाय, साझेदारी काममा भने यो वर्ष सामान्य नै रहन सक्छ । शेयर कारोबारबाट मध्यम लाभ लिन सक्ने समय छ । आयआर्जनको क्षेत्र यो वर्ष राम्रो रहन सक्छ । आर्थिक दृष्टिकोणले जेठ, असार, कार्तिक र माघ महिना शुभ रहेका छन् ।

पेशा, रोजगारः काममा प्रतिस्पर्धी आफू भन्दा बलियो रहने स्थिति वर्षको सुरुको समयमा रहेपनि वर्षको मध्यतिरबाट आफू काममा बलियो हुन सक्ने र पद प्रतिष्ठा तथा सम्मान हासिल गर्न सक्ने समय छ । सरकारी जागिर, कानूनी क्षेत्र, कुटनीतिक नियोग आदि आदिमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति गर्ने छ ।

प्रेम सम्बन्धः राहुको नवम र अष्टम गोचर तथा शनिको सप्तम गोचरका कारण पारिवारिक समस्या हुन सक्ने तथा वैवाहिक जीवनमा विश्वासको सङ्कट देखा पर्न सक्ने भएकाले विचार गर्नुपर्ने समय छ । प्रेम जीवनमा प्रेमी–प्रेमिकाबीच अन्य कुनै तेश्रो व्यक्तिको कारण असमझदारी आउन सक्ने भएकाले ध्यान दिनुपर्छ ।

शुभ रंग र अङ्कः सिंह राशिका लागि यो वर्ष खैरो, गुलाबी, रातो तथा पहेंलो रङ्ग शुभ रहन सक्छ भने अङ्कहरु १, ३, ५, ९ शुभ रहेका छन् ।

उपायः सिंह राशिका व्यक्तिहरुले शनिबार सात्विक भोजन गर्ने, हनुमानजी तथा भैरवजीको दर्शन गर्ने गर्दा पनि शनि राहुको गोचरजन्य अशुभ फल कम हुन सक्छ ।

कन्या : यस वर्ष कन्या राशि भएकाहरुका ग्रहगोचर मध्यम छन् । गुरु अष्टम रहका हुनाले अध्ययन अध्यापनका क्षेत्रमा अवरोध हुनेछ । मन अशान्त रहने, पारिवारिक मतभेद बढ्ने देखिन्छ । व्यर्थविवाद आदिका पनि सम्भावना भएकाले अत्यन्त संयमित व्यवहार र शान्त रहनुपर्नेछ । छैठौं शनि रोग नाशक रहनेछ ।

कुनै विवाद आफ्नो पक्षमा रहनेछ । न्यायिक क्षेत्रमा पनि केही सुधार वा अनुकूल लक्षण देखिनेछ । केही नयाँ व्यवसायको सम्भावना पनि देखिन्छ । शेयर कारोबार तथा स्वव्यवसायमा पनि केही लाभ मिल्नेछ । कुनै नवीन सम्पत्ति आर्जन पनि होला । विद्यार्थी वर्गको परिश्रम सफल हुनेछ । आश्विनपछि राहु सातौं हुने हुनाले दाम्पत्य विवाद हुन छ ।

पहिलो केतु स्वास्थ्य बाधाको कारक सिद्ध हुनेछ । सन्तुलित व्यवहारले सामाजिक र धार्मिक क्षेत्रमा आंशिक यश प्राप्त हुनेछ । यसैगरी शनि ग्रह वर्षभरि गोचरमा षष्ठ स्थानमा रहने भएकाले शत्रुहरु पराजित हुनेछन् ।

स्वास्थ्य राम्रो रहन सक्छ भने धन लाभ हुनेछ । बृहस्पति, राहु तथा केतुको गोचरको प्रभाव केही प्रतिकुल रहन सक्ने भएकाले स्वास्थ्यसम्बन्धी समस्याले सताउने, दुष्कर्ममा मन बढ्ने, शत्रु बढ्ने, धन नाशका साथै पीडासमेत खप्नुपर्ने हुन सक्छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको अष्टम गोचर तथा राहु र केतु ग्रहको पछि गोचर अशुभ यो वर्ष सामान्य रहन सक्ने भएकाले चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । त्यस्तै यो समयमा टाउको दुख्ने, शरीरमा कमजोरी देखा पर्ने, आलस्यता हुने, रिस धेरै उठ्ने र पाचनप्रणालीमा समस्या आउँन सक्ने रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिंदा राम्रो हुन्छ ।

व्यापार, व्यवसाय र आर्थिकः शनि ग्रहको षष्ठ स्थानको अनुकुल गोचरको प्रभावले फलाम तथा सवारीसाधन सम्बन्धित क्षेत्र, जग्गा जमिन, निर्माण तथा अनुसन्धानको क्षेत्र, सूचना प्रविधि इत्यादि व्यवसाय यो वर्ष राम्रो रहन सक्छ । शेयर बजारबाट पनि सामान्य लाभ होला । आर्थिक दृष्टिले असार, साउन, मङ्सिर र फागुन महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः टेक्निकल तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुले यो वर्ष राम्रो प्रगति तथा सफलता प्राप्त गर्न सक्ने योग छ । कामबाट अपजसको सामना गर्नुपर्ने हुन सक्छ । शैक्षिक तथा कानूनी क्षेत्रमा काम गर्नेहरुको लागि समय सामान्य देखिन्छ ।

प्रेम तथा पारिवारिक सम्बन्धः राहुको सप्तम गोचर तथा केतुको दोश्रो गोचरले यो वर्षभरि प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य नै रहन सक्ने छ । प्रेम जीवनमा असमझ्दारी बढ्ने तथा छुट्टिनु पर्ने अवस्था आउन सक्ने भएकाले ध्यान दिनुपर्छ । वैवाहिक जीवनमा आफ्नो मात्र विचार सहि मान्नुभन्दा जीवन साथीको भावनालाई पनि कदर गर्नुपर्ने देखिन्छ । आफन्तसँग अनावश्यक विवाद नगर्नु नै बेस हुनेछ । मातापितासँग द्वेष तथा मान्यजनप्रतिको सम्मानमा कमी हुन सक्ने रहेकाले ध्यान दिनुहोला ।

शुभ रंग र अङ्कः कन्या राशिका लागि यो वर्ष खैरो, हरियो र पहेलो रङ्ग शुभ रहन सक्छ भने २, ३, ६, ७, ९ अङ्क यो वर्षका लागि शुभ रहन सक्छ ।

उपायः तपाईंले बृहस्पति तथा राहु केतुको अशुभ गोचरफलको निवारणका लागि जप–पाठ तथा ग्रहशान्ति पूजा गर्न सक्नुहुन्छ । बिहीबारको दिन भगवान विष्णुको पूजापाठ तथा दर्शन गरेर पनि गोचरको वृहस्पतिको अशुभ प्रभाव कम गर्न सक्नुहुन्छ ।

तुला : तपाईका ग्रह सामान्यतया राम्रा छन् । सातौं गुरु शुभकारक रहनेछ । मान, यश, प्रतिष्ठा आदिको अभ्युदय हुनेछ । कुनै नवीन व्यवसायको आरम्भ पनि हुन सक्छ । सुखद र लाभप्रद यात्रा हुनेछ । शारीरिक र आर्थिक क्षेत्रमा हुँदै गरेको क्रमिक गर्दा मन प्रशन्न रहने र आत्मबलमा पनि वृद्धि हुनेछ ।

वाणीको उचित र संयमित उपयोगले अप्रत्याशित लाभ मिल्ने ग्रहयोग रहेको छ । आश्विनपछिको दाम्पत्य सुख, राम्रो छ । परस्परको विचार विनिमयद्वारा गरिएका कामहरू अवश्य सफल हुनेछ । पञ्चम शनि अध्ययन, अध्यापन र सन्तान पक्षमा केही व्यवधान कारक हुनेछ । आश्विनपछिको छैठौं राहु शत्रुनाशक भइ सुखकारक रहनेछ, आकस्मिक धनलाभ पनि गराउनेछ देखिन्छ ।

शेयर कारोबारमा पनि केही लाभार्जन गर्न सकिने र पारिवारिक सौख्यमा पनि वृद्धि हुुने देखिन्छ । यसैगरी बृहस्पति र राहु ग्रहको सप्तम गोचर अनुकूल रहनाले आर्थिक वृद्धि, सुख, मानसम्मान प्राप्त हुने योग रहेको छ ।

व्यापार, व्यवसाय र पशुपालन व्यवसाय फष्टाउनेछ । परिवारमा माङ्गलिक कार्यका साथै कुटुम्ब वृद्धि हुनेछ । शनि तथा केतुको गोचर अशुभ फलदायी रहनाले शत्रु बढ्ने, विद्याको क्षेत्र कमजोर रहन सक्ने, अनावश्यक खर्च बढ्ने र सन्तानबाट पीडा हुन सक्ने देखिन्छ ।

स्वास्थ्यः वृहस्पति ग्रहको सप्तम गोचरको शुभ प्रभावले समग्रमा यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ तर शनिको पाँचौं तथा केतुको प्रथम गोचरले गर्दा नशा सुन्निने, टाउको भारी हुने तथा दुख्ने, आलस्यता पैदा हुन सक्ने रहेकाले ध्यान दिनुपर्छ ।

व्यापार, व्यवसाय र आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ । वृहस्पति ग्रहको शुभ गोचरका कारण शैक्षिक तथा सामाजिक क्षेत्र, बैङ्क तथा वित्तीय क्षेत्र, खाद्यान्न तथा कपडाका व्यवसायले यो वर्ष राम्रो राम्रो आम्दानी गर्न सक्छन् । निर्माण सामाग्री, उद्योग, मेसिन, नयाँ उपकरणको आविष्कार गर्ने इत्यादिको व्यवसाय भने सामान्य नै रहन सक्छ । कृषि क्षेत्र पनि यो वर्ष राम्रो रहन सक्छ । शेयर बजारमा पनि केहि सकारात्मक परिवर्तन हुन सक्छ । आर्थिक दृष्टिले साउन, भदौ, पुस र चैत महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः गैरसरकारी तथा सामाजिक विकासका क्षेत्रमा काम संस्थाका व्यक्तिहरुको लागि प्रगति गर्ने समय छ । शिक्षक, राजनीतिज्ञ, वकिल, प्रशासनका सचिव आदिको यो समयमा कर्मक्षेत्रमा प्रगतिको योग बनेको देखिन्छ । कलकारखानाका प्रबन्धक, आयोजनाका ठेकेदार तथा अन्य कामदार आदिका लागि यो वर्ष सामान्य रहन सक्छ ।

प्रेम तथा पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक जीवन राम्रो रहन सक्छ । बृहस्पति ग्रहको शुभ प्रभावले प्रेम जीवनमा जोडिन चाहने व्यक्तिहरुले प्रेमी–प्रेमिका प्राप्त गर्न सक्छन् भने विवाहको समय भएका व्यक्तिहरुको विवाह हुन सक्छ । सन्तानको क्षेत्रमा भने यो वर्ष सामान्य समस्या आउँन सक्ने समय छ ।

शुभ रंग, अङ्कः तुला राशिका लागि यो वर्ष खैरो, सेतो र रातो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु २, ३, ६, ७ रहेका छन् ।

उपायः तुला राशि भएका व्यक्तिहरुले शनिबारको दिन बिहान पीपलमा जल चढाउँदा, हनुमानजी तथा भैरवजीको स्मरण गर्दा राम्रो हुनेछ । शनि तथा केतुको ग्रहशान्ति गर्दा शुभ हुन्छ ।

वृश्चिक : यो वर्ष तपाइंका ग्रहगोचर त्यत्ति राम्रा छैनन् । चौथो (अढैया) शनिको प्रभावले मानसिक तनाव, मिथ्यापवाद, कामकार्यमा विलम्व हुनेछ । साथै दुःख परेशानी आइपर्ने, शारीरिक कष्टले पनि अत्यन्त सताउने योग देखिन्छ । आहार–विहार र दैनन्दिन क्रियाकलापादिमा अस्तव्यस्तता, चिन्ता, त्रास आदिको सामना गर्नुपर्नेछ ।

साझेदारीको व्यवसायमा वादविवाद आइपर्ने, कष्टसाध्य यात्राको योग पनि देखिन्छ । छैटौं वृहस्पति पनि त्यत्ति सहयोगी हुँदैन जसका कारण अनावश्यक भ्रमण र चिन्ताको योग ल्याउँछ । आश्विनसम्म राहु छैटौं रहेकाले रोग र शत्रुनाश गर्नेछ । कार्तिकबाट राहु पाँचौं हुने हुनाले सन्तान र अध्ययन–अध्यापनको क्षेत्रमा अनेक व्यवधान उत्पन्न गराउनेछ । एकादश केतु केही सहयोगी र लाभकारी हुनेछ ।

वैदेशिक कार्यमा भने केही सफलता मिल्नेछ । यसैगरी वर्षको पूर्वार्धमा राहु ग्रहको षष्ठ स्थानमा गोचर हुने भएकाले यश, कीर्ति बढ्ने र अर्थलाभ हुने देखिन्छ । तर बृहस्पति ग्रहको षष्ठ र शनि ग्रहको चतुर्थ अशुभ फलदायी रहनाले आफन्तसँगको सम्बन्ध टुट्ने, हानी नोक्सानी बढ्ने, शत्रुवृद्धि हुने, डरत्रासको अवस्थाले मनमा अशान्त हुने देखिन्छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको षष्ठ गोचरले यो वर्ष तपाईंको स्वास्थ्य कमजोर रहन सक्छ । कम्मर दुख्ने तथा पेट गडबड हुन सक्ने, खुट्टा सुन्निने, चिसोबाट समस्या हुने, छाती दुख्ने आदि समस्या तपाईंलाई देखिन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ ।

व्यापार, व्यवसाय, आर्थिकः व्यापार, व्यवसायका दृष्टिले यो वर्ष सामान्य देखिन्छ । वर्षको पूर्वार्धमा राहु ग्रहको षष्ठ गोचरले गर्दा उद्योग, कलकारखाना आदि क्षेत्र राम्रो रहन सक्छ । वर्षको उत्तरार्धमा केतु ग्रहको शुभ एकादश स्थानको गोचरले नयाँ कामको थालनी हुन सक्छ । शैक्षिक क्षेत्र, बैङ्क तथा वित्तीय क्षेत्र, फेशन डिजायन, प्राविधिक क्षेत्र आदि यो वर्ष सामान्य नै रहन सक्छन् । राहु तथा केतुको प्रभावले शेयर बजारबाट नाफा कमाउन सक्ने रहेपनि अनावश्यक खर्च हुन सक्छ । आर्थिक दृष्टिले वैशाख, भदौ, असोज र माघ महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः गैरसरकारी तथा सामाजिक विकासका क्षेत्रमा काम संस्थाका व्यक्तिहरुको लागि प्रगति गर्ने समय छ । शिक्षक, राजनीतिज्ञ, वकील, प्रशासनका सचिव आदिको कर्मक्षेत्रमा प्रगतिको योग बनेको देखिन्छ । कलकारखानाका प्रबन्धक, आयोजनाका ठेकेदार तथा अन्य कामदार आदिका लागि यो वर्ष सामान्य रहन सक्छ ।

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक जीवन सामान्य रहन सक्छ। दाजुभाईबीच विवाद हुन सक्ने, मातापितासँग विचारमा मतभेद रहन सक्ने समय छ । प्रेम जीवनमा रहेकाहरुले आफ्नो प्रेमीको विचारको कदर गर्न नसक्दा समस्या आउन सक्छ । वैवाहिक जीवनमा पनि असमझदारी वा मतभेद हुन सक्ने रहेकाले ध्यान दिनुपर्ने देखिन्छ ।

शुभ रंग र अङ्कः वृश्चिक राशिका लागि यो वर्ष रातो, सेतो तथा घ्यू रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु १, ४, ६, ७ रहेका छन् ।

उपायः वृश्चिक राशि भएका व्यक्तिहरुले शनिबारको दिन बिहान पीपलमा जल चढाउँदा, हनुमानजी तथा भैरवजीको स्मरण गर्दा र बिहीबार शुद्ध सात्विक भोजन गर्दा, विष्णु भगवानको स्मरण गर्दा राम्रो हुन्छ । बृहस्पति तथा शनिको ग्रहशान्ति गर्दा शुभ हुन्छ ।

धनु : यो वर्ष तपाईका ग्रहगोचर सामान्यतः उत्तम नै देखिन्छन् । पञ्चम गुरुले गर्दा अध्ययन–अध्यापन र सन्तानपक्षमा उत्साहजनक अवस्था रहनेछ । धार्मिक, आध्यात्मिक, शैक्षिक तथा वाचिक क्षेत्रमा पनि उन्नति हुनेछ । शारीरिक र आर्थिक क्षेत्रमा हुँदै गरेको क्रमिक गर्दा मन प्रशन्न रहला र आत्मवलमा पनि वृद्धि हुनेछ । वाणीको उचित र संयमित उपयोगले अप्रत्याशित लाभ मिल्नेछ ।

घर परिवारमा कुनै मांङ्गालिक कार्य हुने, कुनै तीर्थ जाने मौका जुर्नेछ । तेस्रो शनिले पराक्रममा वृद्धि गराउला साथै विद्यार्थी वर्गलाई पनि निकै सफलता मिल्नेछ । वर्षारम्भको एकादश केतु केही सहयोगी–लाभकारी रहनेछ । वैदेशिक कार्यमा पनि सफलता पाइनेछ । आश्विन मसान्तसम्म राहु चौथो र केतु दशम रहनेछ ।

जसका कारण आफ्नो कामप्रति आलस्य र स्वजनमा मतभेद उत्पन्न हुन सक्ने भएकाले संयम हुन आवश्यक छ । यसैगरी बृहस्पति तथा शनिको शुभ गोचरको प्रभावले स्वास्थ्य सम्बन्धित समस्या निवारण हुने, धन लाभ हुने, शत्रु पराजित हुने, सन्तानबाट सुख मिल्ने, शैक्षिक तथा बौद्धिक क्षेत्र सफल रहने समय छ ।

स्वास्थ्यः बृहस्पति ग्रहको पञ्चम गोचर तथा शनि ग्रहको तृतीय गोचरको शुभ प्रभावले यो वर्ष स्वास्थ्य राम्रो रहन सक्छ । लामो समयदेखि रहेका रोगहरु पनि यो वर्ष निको हुने वा कम हुन सक्ने समय छ । पेट तथा पाचन प्रणाली यो वर्ष राम्रो रहन सक्छ । शारीरिक बल पनि यो वर्ष बढ्न सक्छ ।

व्यापार, व्यवसाय र आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष राम्रो देखिन्छ । बृहस्पतिको शुभ गोचरले शैक्षिक, सामाजिक, वित्तीय, फेशन, खाद्यान्न, कृषि इत्यादि व्यवसायका व्यक्तिहरुले यो वर्ष राम्रो सफलता प्राप्त गर्न सक्छन् भने शनि ग्रहको शुभ गोचरले उद्योग, कलकारखाना, सूचना प्रविधि, अनुसन्धान आदि क्षेत्र पनि राम्रो रहन सक्ने समय छ । आम्दानीको मात्रा बढ्ने तथा दीर्घकालिन लगानी हुन सक्ने समय छ । शेयर बजारबाट पनि नाफा कमाउन सकिन्छ भने जग्गा जमिनको लगानीले पनि राम्रो परिणाम प्राप्त हुन सक्छ । आर्थिक दृष्टिले जेठ, असोज, कात्तिक र फागुन महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्तिहरुको यो वर्ष पद प्रतिष्ठा तथा मानसम्मान बढ्न सक्छ । वकील, न्यायधीश, शिक्षक, राजनीतिज्ञ आदि व्यक्तिहरुले पनि सफलता प्राप्त गर्न सक्ने समय छ ।

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध राम्रो रहन सक्छ । प्रेम जीवनमा प्रवेश गर्न चाहने व्यक्तिहरुले प्रेमी–प्रेमिका प्राप्त गर्न सक्छन् भने विवाहको चाहना हुने व्यक्तिहरु यो वर्ष विवाह हुन सक्छ । सन्तानको कामना भएका व्यक्तिहरुलाई सन्तान प्राप्त हुन सक्छ । मातापिता, दाजुभाई तथा आफन्तहरुसंग पनि सन्तुलित सम्बन्ध रहन सक्ने समय छ ।

शुभ रंग, अङ्कः धनु राशिका लागि यो वर्ष पहेँलो, ध्वाँसे तथा आकाशे रङ्ग शुभ रहनेछ भने शुभ अङ्कहरु २, ४, ७, ९ रहेका छन् ।

उपायः धनु राशि भएका व्यक्तिहरुले शनिबारको दिन भैरवको स्मरण गर्दा, पशुपंक्षीहरुलाई आहार दिंदा, गरिब दुःखीलाई सहयोग गर्दा गोचरगत राहु केतुजन्य अशुभ फलको निवारण हुन सक्छ ।

मकर : यो वर्ष तपाईका ग्रहस्थिति अनिष्टप्रद छन् । शनिको अन्त्य साढ़ेसाती दशा हुनाले त्यत्ति राम्रो समय देखिँदैन । पुत्र कलत्रादिबाट असन्तोष, चौपायवाट हानि नोक्सानी, मिथ्यापवाद, व्यर्थगमन, अनावश्यक व्यय, शत्रु सामना गर्नुपर्नेछ । यस्तै, यान दुर्घटना, स्वव्यवसायबाट पनि नोक्सानी, अनावश्यक डर त्रासले मनमा भयको प्रकोप हुनेछ ।

आर्थिक अभावले केही नयाँ कार्य गर्न असमर्थ हुनेछ । आफ्ना नजिकका व्यक्तिले नै धोका दिने आदि अवाञ्छित कार्यको सामना गर्नपर्नेछ । न्यायिक क्षेत्रमा पनि सफलता मिल्ने देखिँदैन । विपत्तिमा कसैको पनि सहयोग पाइँदैन । अनुकूल समयको प्रतीक्षा गरी शनिको जप पूजा आदि गर्नु नै उत्तम हुनेछ । आश्विनसम्म चौथो राहु माता वा मातृपक्षमा रोग कारक हुनेछ ।

कार्तिकबाट राहु तेस्रो हुनाले केही आत्मविश्वास प्राप्त हुनेछ । तर कुनै नवीन योजनामा हात नराख्नु नै जाति हुनेछ । नवौं केतु धार्मिक क्षेत्रमा बाधक रहनेछ । यसैगरी बृहस्पति ग्रहको चतुर्थ गोचर र शनि ग्रहको द्वितीय गोचरको फल प्रतिकूल रहेकाले अनावश्यक विवादमा पर्न सक्ने, धनको हानी हुने, शत्रु बढ्ने, मानसिक तनाव बढ्ने, स्वास्थ्यमा बाधा हुने समय छ ।

कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा शुभ फलदायी रहनाले शरीर स्वस्थ रहने र सोचे अनुरूप नै धनलाभ हुनेछ । नोकरी मध्यम फलदायी रहेको छ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आर्थिक लाभसमेत हुनेछ । पठनपाठनमा रुचि बढ्नेछ ।

स्वास्थ्यः बृहस्पति ग्रहको चतुर्थ गोचर तथा शनि ग्रहको द्वितीय गोचरको प्रभावले यो वर्षको पूर्वार्धमा स्वास्थ्य सामान्य रहन सक्छ । छातीमा समस्या आउने, टाउको दुख्ने वा टाउकोमा चोटपटक लाग्न सक्ने, मुखमा विकार आउने आदि हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने समय छ । यो वर्ष आमाको स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा शुभ फलदायी रहनाले शारीरिक समस्या कम हुन सक्छ ।

व्यापार, व्यवसाय, आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष सामान्य नै देखिन्छ । बृहस्पति तथा शनिको गोचरको प्रभावले हरेक क्षेत्रका व्यवसाय यो वर्ष सामान्य नै रहन सक्ने रहेपनि कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा परिवर्तन हुने भएकाले त्यसपछिको समयमा जग्गाजमिन सम्बन्धी कारोबार गर्ने, कृषि तथा पशुपालन गर्नेहरुले नाफा कमाउने समय छ । वैदेशिक क्षेत्रका कामहरु पनि यो समयमा बन्न सक्छन् । यो वर्ष खर्च बढ्न सक्छ भने उचित प्रतिफल नमिल्ने स्थानमा लगानी हुन सक्ने रहेकाले सतर्क रहनुपर्ने देखिन्छ । आर्थिक दृष्टिले असार, कात्तिक, मङ्सिर र चैत महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः यो वर्ष सबै क्षेत्रमा काम गर्ने व्यक्तिहरुको लागि समय सामान्य नै देखिन्छ । वर्षको उत्तरार्धबाट काममा केहि प्रगतिको योग रहेको छ । विद्यार्थीहरुले पढाईमा सामान्य प्रगति गर्न सक्ने समय रहेको छ ।

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य रहन सक्छ । विवाह गर्ने व्यक्तिहरुको केही ढिलासुस्तीको बावजुत विवाह हुन सक्छ । प्रेम जीवनमा रहेकाहरुले आफ्नो प्रेमीप्रेमीकाको खुसीका लागि धेरै प्रयत्न गर्नुपर्ने हुन सक्छ । पारिवारिक जीवनमा सामान्य मतभेद देखिए पनि समझ्दारीमा समस्या समाधान गर्न सक्ने समय रहेको छ ।

शुभ रंग र अङ्कः मकर राशिका लागि यो वर्ष हरियो, खरानी तथा सेतो रङ्ग शुभ रहेका छन् भने शुभ अङ्कहरु १, २, ६, ८ रहेका छन् । उपायः मकर राशि भएका व्यक्तिहरुले बृहस्पति तथा शनिको ग्रह शान्ति पूजा गर्दा राम्रो हुन्छ । बिहीबारको दिन पहेंलो कपडा दान गर्दा, विष्णु भगवानको दर्शन तथा पूजा गर्दा र शनिबार शनिदेवको दर्शन गर्दा पनि कल्याण हुन सक्छ ।

कुम्भ : यो वर्ष तपाईका ग्रहगोचर अनिष्टप्रद छन् । संघर्षको स्थिति हुनेछ । शनिको मध्य साढ़ेसाती दशा हुनाले त्यत्ति राम्रो समय देखिँदैन । पुत्र कलत्रादिबाट असन्तोष चौपायबाट हानि, नोक्सानी, मिथ्यापवाद, अनावश्यक व्यय, शत्रु सामना गर्नुपर्ने अनावश्यक डर त्रासले मनमा भयको प्रकोप हुनेछ ।

अवाञ्छित पारिवारिक झमेला र तनावको सामना गर्नुपर्नेछ । तेस्रो गुरु पनि त्यत्ति अनुकुल छैन । जसका कारण स्वास्थ्य बाधा, व्यर्थ विवाद र पारिवारिक झमेला आइपर्ला । धार्मिक क्षेत्रमा पनि त्यत्ति मन जानेछैन । गरिरहेको व्यवसाय वा कार्यमा दत्तचित्त भई लाग्ने हो भने त्यसैमा केही सफलता मिल्न सक्नेछ । त्यसैले आत्मसन्तोष दिने छ ।

वैतनिक र व्यापारिक कार्य मध्यम, न्याय र वैदेशिक मामला आंशिक रहनेछ । सहकर्मीबाट तनाव हुन सक्नेछ । त्यसैले सामञ्जस्य मिलाउनु राम्रो हुनेछ । यसैगरी बृहस्पति तथा शनिको गोचरका साथै मध्यसाढेसातीको प्रभाव यो वर्ष खर्चको मात्रा बढ्ने, मानसिक तनाव तथा स्वास्थ्यसम्बन्धी समस्या हुने, डर त्रासले चिन्ता, आर्थिक अवस्था कमजोर हुन सक्ने र पढाईमा मन नलाग्ने समय देखिन्छ ।

स्वास्थ्यः बृहस्पतिको तेश्रो राशिको गोचर र शनि ग्रहको प्रथम गोचरको प्रभावले यो वर्ष तपाईको शरीरमा आलस्यता आउने, नसा सुन्निने, पेट दुख्ने, चिसोबाट समस्या हुन सक्ने सम्भावना रहेकाले सतर्क रहनुपर्ने समय छ । यो समयमा दाजुभाइ तथा पत्नीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय देखिन्छ ।

व्यापार, व्यवसाय र आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष सामान्य देखिन्छ । बृहस्पति तथा शनिको गोचरको प्रभावले हरेक क्षेत्रका व्यवसाय यो वर्ष सामान्य नै रहन सक्नेछन् । सामाजिक तथा परोपकारका काममा धेरै समय बित्नेछ ।

नोकरी र वैदेशिक क्षेत्रको काममा लागेका व्यक्तिहरुले केहि ढिलासुस्ती र समस्याका बाबजुद प्रशस्तै लाभ लिन सक्नेछन् । पशुपालन र जग्गाजमीन सम्बन्धी कारोबारबाट मध्यम लाभ मिल्नेछ । आयआर्जन तथा नयाँ लगानीको क्षेत्र यो वर्ष सामान्य देखिन्छ ।

पेशा, रोजगार र शिक्षाः प्राविधिक तथा वैदेशिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले लाभ लिन सक्ने समय छ । पर्यटन तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले पनि सफलता प्राप्त गर्ने समय छ । प्राविधिक विषय पढ्ने विद्यार्थीले थोरै मेहनतमा राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने शिक्षा क्षेत्रका विद्यार्थीको लागि समय सामान्य देखिन्छ ।

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य रहन सक्छ । शनिको गोचरका कारण एकापसमा अविश्वास हुन सक्ने रहेकाले प्रेममा रहेका व्यक्तिहरुले ध्यान दिनुपर्ने देखिन्छ । वैवाहिक जीवनमा केहि समस्याका बाबजुत सम्बन्ध राम्रो रहन सक्छ भने अन्य पारिवारिक सम्बन्धको लागि पनि समय मध्यम देखिन्छ ।

शुभ रंग र अङ्कः कुम्भ राशिका लागि यो वर्ष खैरो, सेतो तथा रातो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु १, ३, ७, ८ रहेका छन् ।

उपायः कुम्भ राशिका व्यक्तिहरुले बृहस्पति तथा शनिको ग्रह शान्ति पूजा गर्दा राम्रो हुन्छ । बिहीबारको दिन पहेंलो कपडा दान गर्दा, विष्णु भगवानको दर्शन तथा पूजा गर्दा र शनिबार शनिदेवको दर्शन गर्दा पनि कल्याण हुन सक्छ ।

मीन : यो वर्ष तपाईका ग्रहगोचर सामान्य जस्ता छन् । शनिको आद्य साढेसाती दशा हुनाले त्यत्ति राम्रो समय देखिँदैन । मानसिक अशान्ति, कामकार्यमा अरुषि, कृषि तथा पशुचौपायाबाट हानि हुनेछ । बाहन दुर्घटना, यश–आत्मबल–इच्छाशक्ति–मानप्रतिष्ठा आदिमा ह्रास, अनावश्यक व्यय, स्वजनको सहयोग र सद्भावमा पनि कमी होला ।

भित्र कतै अनिष्टको भयले मनमा विचलन र उद्विग्नता रहनेछ । गुप्त शत्रु क्रियाशील हुनाले सदैव अवाञ्छित स्थितिको अवस्था रहनेछ । स्वास्थ्यको क्षेत्रमा पनि कुनै नवीन रोगव्याधको संकेत मिल्न जानेछ । दोस्रो गुरुले जागिर र स्वव्यवसायमा केही सफलता दिलाउने छ । वर्षारम्भबाट आश्विन मासान्तसम्मका राहु केतुले मानसिक क्लेश दिने देखिन्छन् ।

श्रमिक, वैतनिक तथा व्यावसायिक मार्ग केही सफल, न्याय तथा वैदेशिक क्षेत्रमा आशिक फल दिने रहनेछ । यसैगरी बृहस्पतिको गोचर अनुकूल रहनाले यो वर्ष मानसम्मान तथा पदप्रतिष्ठा बढ्ने, सामाजिक तथा परोपकारका काममा सहभागी हुन सक्ने, आयआर्जन बढ्ने, पढाईमा सफलता मिल्ने समय छ । राहु, केतु तथा शनिको गोचरका कारण कानूनी झमेलामा पर्न सक्ने, आफन्तसँग मनमुटाव हुन सक्ने, स्वास्थ्यमा समस्या आउन सक्ने रहेकाले सतर्क रहनुपर्ने देखिन्छ ।

स्वास्थ्यः बृहस्पतिको दोश्रो गोचरका कारण स्वास्थ्य राम्रो रहन सक्ने, पहिले रहेका स्वास्थ्य सम्बन्धित समस्या हट्ने वा कम हुन सक्ने रहेपनि शनि ग्रहका कारण सामान्य स्वास्थ्य सम्बन्धित समस्या बेलाबेलामा देखा पर्न सक्छन् ।

व्यापार, व्यवसाय र आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष मध्यम देखिन्छ । बृहस्पतिको शुभ प्रभावले यो वर्ष शैक्षिक, कृषि तथा पशुपालन, आयात तथा निर्यात, तरल पदार्थको व्यवसाय, वित्तिय क्षेत्र आदि राम्रो रहन सक्ने समय छ । कलकारखाना, जग्गाजमिन, वैदेशिक क्षेत्र, निर्माण क्षेत्र आदि भने यो वर्ष सामान्य रहन सक्ने समय छ ।

आयआर्जन पनि यो वर्ष मध्यम रहन सक्छ । आर्थिक दृष्टिले जेठ, भदौ, पुस र माघ महिना शुभ रहेका छन् ।

पेशा, रोजगार र शिक्षाः सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रका व्यक्तिहरुले यो वर्ष राम्रो सफलता प्राप्त गर्न सक्ने समय छ । यस्तै, बैङ्क तथा वित्तीय क्षेत्र तथा प्रशासनिक कर्मचारीहरुको पनि यो वर्ष पदप्रतिष्ठा तथा मानसम्मान बढ्ने समय रहेको छ । प्राविधिक तथा वैदेशिक क्षेत्रमा रहेका व्यक्तिहरुको लागि यो वर्ष सामान्य रहन सक्छ । पठनपाठनका दृष्टिले यो वर्ष राम्रो देखिन्छ ।

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध राम्रो रहन सक्छ । प्रेम जीवनमा रहेका व्यक्तिहरुको प्रेम सम्बन्ध अझ बलियो हुन सक्छ । वैवाहिक जीवनमा पतिपत्नीको सहयोग प्राप्त हुन सक्छ। रमाइलो पारिवारिक यात्रा हुन सक्छ भने आफन्तसँगको सम्बन्ध पनि सुमधुर हुन सक्छ ।

शुभ रंग र अङ्कः मीन राशिका लागि यो वर्ष पहेंलो, सेतो तथा रातो रङ्ग शुभ रहन सक्छ भने शुभ अङ्कहरु १, ५, ७, ८ रहेका छन् । उपायः मीन राशि भएका व्यक्तिहरुले शनि तथा राहुकेतुको ग्रह शान्ति पूजा गर्दा राम्रो हुन्छ । शनिबार शनिदेव भैरवको दर्शन गर्दा, कुकुरलाई खान दिंदा पनि ग्रहको अशुभफल कम हुन सक्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ