arrow

मकर राशि भएकाहरुले यो वर्ष बृहस्पति र शनिको ग्रह शान्ति पूजा गर्दा राम्रो 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० वैशाख १ शुक्रबार
horoscope-makar-cappricorn.jpg

काठमाडौं । यो वर्ष तपाईका ग्रहस्थिति अनिष्टप्रद छन् । शनिको अन्त्य साढ़ेसाती दशा हुनाले त्यत्ति राम्रो समय देखिँदैन । पुत्र कलत्रादिबाट असन्तोष, चौपायवाट हानि नोक्सानी, मिथ्यापवाद, व्यर्थगमन, अनावश्यक व्यय, शत्रु सामना गर्नुपर्नेछ । यस्तै, यान दुर्घटना, स्वव्यवसायबाट पनि नोक्सानी, अनावश्यक डर त्रासले मनमा भयको प्रकोप हुनेछ । 

आर्थिक अभावले केही नयाँ कार्य गर्न असमर्थ हुनेछ । आफ्ना नजिकका व्यक्तिले नै धोका दिने आदि अवाञ्छित कार्यको सामना गर्नपर्नेछ । न्यायिक क्षेत्रमा पनि सफलता मिल्ने देखिँदैन । विपत्तिमा कसैको पनि सहयोग पाइँदैन । अनुकूल समयको प्रतीक्षा गरी शनिको जप पूजा आदि गर्नु नै उत्तम हुनेछ । 

आश्विनसम्म चौथो राहु माता वा मातृपक्षमा रोग कारक हुनेछ । कार्तिकबाट राहु तेस्रो हुनाले केही आत्मविश्वास प्राप्त हुनेछ । तर कुनै नवीन योजनामा हात नराख्नु नै जाति हुनेछ । नवौं केतु धार्मिक क्षेत्रमा बाधक रहनेछ । 

यसैगरी बृहस्पति ग्रहको चतुर्थ गोचर र शनि ग्रहको द्वितीय गोचरको फल प्रतिकूल रहेकाले अनावश्यक विवादमा पर्न सक्ने, धनको हानी हुने, शत्रु बढ्ने, मानसिक तनाव बढ्ने, स्वास्थ्यमा बाधा हुने समय छ । कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा शुभ फलदायी रहनाले शरीर स्वस्थ रहने र सोचे अनुरूप नै धनलाभ हुनेछ । नोकरी मध्यम फलदायी रहेको छ । वैदेशिक क्षेत्रका काम बन्नुका साथै आर्थिक लाभसमेत हुनेछ । पठनपाठनमा रुचि बढ्नेछ ।

स्वास्थ्यः बृहस्पति ग्रहको चतुर्थ गोचर तथा शनि ग्रहको द्वितीय गोचरको प्रभावले यो वर्षको पूर्वार्धमा स्वास्थ्य सामान्य रहन सक्छ । छातीमा समस्या आउने, टाउको दुख्ने वा टाउकोमा चोटपटक लाग्न सक्ने, मुखमा विकार आउने आदि हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्ने समय छ । यो वर्ष आमाको स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा शुभ फलदायी रहनाले शारीरिक समस्या कम हुन सक्छ । 

व्यापार, व्यवसाय, आर्थिकः व्यापार व्यवसायका दृष्टिले यो वर्ष सामान्य नै देखिन्छ । बृहस्पति तथा शनिको गोचरको प्रभावले हरेक क्षेत्रका व्यवसाय यो वर्ष सामान्य नै रहन सक्ने रहेपनि कार्तिकबाट राहुको गोचर तृतीय स्थानमा परिवर्तन हुने भएकाले त्यसपछिको समयमा जग्गाजमिन सम्बन्धी कारोबार गर्ने, कृषि तथा पशुपालन गर्नेहरुले नाफा कमाउने समय छ । वैदेशिक क्षेत्रका कामहरु पनि यो समयमा बन्न सक्छन् । यो वर्ष खर्च बढ्न सक्छ भने उचित प्रतिफल नमिल्ने स्थानमा लगानी हुन सक्ने रहेकाले सतर्क रहनुपर्ने देखिन्छ । आर्थिक दृष्टिले असार, कात्तिक, मङ्सिर र चैत महिना शुभ रहेका छन् ।

पेशा र रोजगारः यो वर्ष सबै क्षेत्रमा काम गर्ने व्यक्तिहरुको लागि समय सामान्य नै देखिन्छ । वर्षको उत्तरार्धबाट काममा केहि प्रगतिको योग रहेको छ । विद्यार्थीहरुले पढाईमा सामान्य प्रगति गर्न सक्ने समय रहेको छ । 

प्रेम र पारिवारिक सम्बन्धः यो वर्ष प्रेम तथा पारिवारिक सम्बन्ध सामान्य रहन सक्छ । विवाह गर्ने व्यक्तिहरुको केही ढिलासुस्तीको बावजुत विवाह हुन सक्छ । प्रेम जीवनमा रहेकाहरुले आफ्नो प्रेमीप्रेमीकाको खुसीका लागि धेरै प्रयत्न गर्नुपर्ने हुन सक्छ । पारिवारिक जीवनमा सामान्य मतभेद देखिए पनि समझ्दारीमा समस्या समाधान गर्न सक्ने समय रहेको छ । 

शुभ रंग र अङ्कः मकर राशिका लागि यो वर्ष हरियो, खरानी तथा सेतो रङ्ग शुभ रहेका छन् भने शुभ अङ्कहरु १, २, ६, ८ रहेका छन् । 

उपायः मकर राशि भएका व्यक्तिहरुले बृहस्पति तथा शनिको ग्रह शान्ति पूजा गर्दा राम्रो हुन्छ । बिहीबारको दिन पहेंलो कपडा दान गर्दा, विष्णु भगवानको दर्शन तथा पूजा गर्दा र शनिबार शनिदेवको दर्शन गर्दा पनि कल्याण हुन सक्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ